प्रथम सहिद लखन थापाको शालिकमा माल्यार्पण गर्नुहुँदै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौँडा ः बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रथम सहिद लखन थापाको बलिदानीपूर्ण संघर्ष र योगदानलाई बिर्सन नहुने बताउनुभएको छ । सहिद सप्ताह–२०८१ का अवसरमा सोमबार हेटौँडा–१२ स्थित प्रथम सहिद लखन थापा मगर स्मृति वाटिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले लखन थापाले देश र जनताका लागि गरेको योगदानलाई अझ व्यापक बनाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले नेपाली जनता माथि जबर्जस्त थोपरिएको क्रुर एवम् निरंकुश जहाँनीया राणा शासनको अन्त्य गरी नेपाली जनताको मुक्तिका लागि र जनताको शासन व्यवस्था स्थापनाका लागि थापाको योगदान रहेको बताउनुभयो । उहाँले राणा विरुद्ध पहिलो बिगुल फुक्ने सहिद लखन थापाले विचार अहिले पनि सान्दर्भिक भएको उल्लेख गर्नुहुँदै यसलाई व्यापक बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले अहिले जहाँ जो मरे पनि सहिद घोषणा गरिनाले देश र जनताका लागि लड्ने वास्तविक सहिदको अवमूल्यन भएको बताउनुभयो ।

कार्यक्रममा प्रथम सहिद लखन थापाको प्रतिमामा माल्र्यापण गरिएको थियो । लखन वाटिकाकी सल्लाहकार बेली थापाले प्रथम सहिद लखन थापाको बारेमा चर्चा गर्नु भएको थियो । प्रथम सहिद लखन थापा मगर स्मृति वाटिकाका अध्यक्ष विश्वकुमार आलेको सभाध्यक्षतामा भएको कार्यक्रममा स्मारक विकास समितिका सचिव रघुनाथ खुलाल, हेटौंडा–८ का पूर्व अध्यक्ष गोपाल बहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । सहिद सप्ताह–२०८१ का अवसरमा सहिद स्मारक विकास समितिले हरेक वर्ष झै यो वर्ष पनि माघ १० गतेदेखि १६ गतेसम्म सहिदहरुको सम्झनामा विविध कार्यक्रम आयोजना गरेर छ ।