हेटौंडा ः मकवानपुरका क्रियाशील गैससकर्मीले विवाहको उमेर २० वर्ष नै कायम राख्न सरकारलाई ध्यानाकर्षण गराएको छ । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत संघीय सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संसदको कानुन न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले गत माघ २ गते बिबाहको उमेर १८ वर्षमा झार्न सुझाव दिएपछि मकवानपुरका गैससकर्मीले संघीय सरकारलाई ध्यानाकर्षण गराएको हो । विवाहको उमेर २० वर्षबाट नघटाउन उनीहरुले ध्यानाकर्षण गराएका हुन् । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई पत्र बुझाइएको बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले जानकारी दिनुभयो । विभिन्न अध्ययन, अनुसन्धानबाट बालबालिकाको शिक्षा, स्वास्थ्य, शारीरिक अवस्था, मानसिक परिपक्वतालगायत दृष्टिले विवाहको उमेर २० वर्ष कायम गरी नीति, नियम र ऐन कानुनहरु तय गरिएको उहाँको भनाइ छ । कम उमेरमा बिबाह हुँदा छिटो गर्भवती हुने र आमा र शिशु दुबैको स्वास्थ्यमा गम्भीर जोखिम पुग्नसक्ने उहाँले जानकारी दिनुभयो ।
बालबिबाहका कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्क नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरु देखिने, लैङ्गिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप जोखिमहरुले बालबालिका र महिलाहरु थप प्रभावित हुन पुग्ने उहाँले बताउनुभयो । ध्यानाकर्षणपत्र बुझाउन गैससकर्मीहरु आरती पाठक, शर्मिला श्रेष्ठ, सुनिरा लामा, प्रकाश खतिवडा, कुमारी वाईवा, माया लामा, सीता गुरुङ, डिकम्बर रुपाचा, दीपा गुरुङ, सुमित्रा घलान, थापाबहादुर दोङ र मुकेश कुशवाह सहभागी हुनुहुन्थ्यो ।