हेटौँडा ः बागमती प्रदेशसभाको हिउँदे अधिवशेन माघ १८ गतेका लागि आव्हान गरिएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले माघ १८ गते शुक्रबार बिहान ११ः०० बजेका लागि अधिवेशन बैठक आव्हान गर्नुभएको छ ।
बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले मंगलबार प्रदेशसभाको पन्ध्रौं अधिवेशन आव्हान गर्नुभएको हो । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो । सदनका लागि पर्याप्त ‘बिजनेस’ नभएपछि विपक्षी दलले माग गरे पनि सरकारले बैठक राख्न सकेको थिएन ।
यसैबीच बागमती प्रदेशसभामा ४ विधेयकहरु दर्ता भएका छन् । प्रदेश सरकारले हाल ४ वटा विभिन्न संशोधन विधेयक दर्ता गराएको हो । प्रदेशसभा सचिवालयका अनुसार आगामी अधिवेशन बैठकबाट पारित गर्नेगरी ४ वटा संशोधन विधेयक दर्ता गरिएको हो । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताका अनुसार प्रदेशसभाको आगामी अधिवेशनमा पेश हुनेगरी प्रदेश खेलकुद ऐन संशोधन विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएको हो ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक यसअघि नै प्रदेशसभामा दर्ताका लागि पेश भएको थियो । तर, सभामुख भुवन कुमार पाठकले उक्त विधेयक दर्ता गर्नुभएको थिएन । प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा समस्या देखिएपछि प्रदेश सरकारले तत्कालको समस्या हल गर्न ऐन संशोधनको प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । उक्त विधेयकका प्रावधान सच्याउन सभामुख पाठकले फिर्ता गर्नुभएको थियो । गत असोज १६ मा मन्त्रिपरिषद्बाट निर्णय गर्दै दर्ताका लागि सचिवालयमा पेश भएको उक्त ४ महिनापछि दर्ता भएको हो ।