हेटौंडाः कोरोना भाइरसको संक्रमणको जोखिमका कारण देशव्यापी लक डाउन जारी छ । कोरोना भाइरस संक्रमणको जोखिमकै कारण एसईई स्थगित भएपछि मकवानपुरका विभिन्न विद्यालयका शिक्षकहरूले अहिले अनलाइन, ग्रुप मेसेन्जर तथा फोनका माध्यमबाट विद्यार्थीको पढाइमा सहयोग पुर्याइरहेका छन् । चैत ६ गतेदेखि सुरु हुन लागेको परीक्षा कोरोना भाइरसको सङ्क्रमण हुने भयले सरकारले ५ गते बेलुका अचानक स्थगित गरेको थियो । परीक्षा स्थगित भएपछि विद्यार्थीहरूमा अहिले अन्योलता छाएको छ । परीक्षा कहिले हुने भन्ने कुनै निश्चित नभएको भन्दै एसईईको तयारी गरेका विद्यार्थी अहिले अध्ययनमा समेत रुचि देखाउन छाडेका छन् । एसईई दिनुपर्ने आफ्ना छोराछोरी दिनभर चलचित्र हेर्ने र मोबाइल खेलेर दिन बिताउने गरेको भन्ने गुनासो अभिभावकहरुबाट आएपछि अहिले शिक्षकहरूले घरबाट अनलाइनतथा फोनका माध्यमबाट विद्यार्थीको पढाइमा सहयोग पुयाउन थालेका हुन् ।
हेटौंडा–९ स्थित प्रगति माविले अहिले आफ्ना विद्यार्थीका लागि अनलाइनबाट विद्यार्थीको समस्या समाधान गर्ने अभियान सुरु गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीको पहलमा जुम एप्सका माध्यमबाट एकै पटक २०/२५ जना विद्यार्थीलाई पढाउन सुरु गरिएको छ । यसका लागि इन्टरनेटको पहुँच भएका विद्यार्थीलाई जुम एप्समा आफ्नो एकाउन्ट खोल्न लगाएर सहभागी गराइएको पराजुलीले जानकारी दिनुभयो । विद्यार्थीहरूको मागका आधारमा सकेसम्म सबै विषयको शिक्षण गर्ने उहाँले बताउनुभयो । यसैगरी कक्षा १० का विद्यार्थीहरूको ग्रुप मेसेन्जरका माध्यमबाट पनि विभिन्न विषयमा विद्यार्थीका समस्याहरू शिक्षकले समाधान गर्न सुरु गरिएको छ ।
यसैगरी हेटौंडा–६, चौघडास्थित वंशगोपाल माविका अङ्ग्रेजी विषयका शिक्षक सरोज लामिछानेले पनि अनलाइनका माध्यमबाट विद्यार्थीलाई पढाई रहनुभएको छ । एसईई तयारीमा रहेका विद्यार्थीलाई उहाँले पनि जुम एप्सका माध्यमबाट आफ्नो अनलाइन कक्षामा सहभागी गराइरहनुभएको छ । हेटौंडा–२, बासुदेवमार्गस्थित बालजागृति बोर्डिङ स्कुलका शिक्षकहरूले पनि अनलाइनबाट पढाइरहेका छन् । शिक्षकहरु अमुल श्रेष्ठ, निर्मला अर्याललगायतले अनलाइनबाट शिक्षण गरिरहनुभएको छ । यता हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माविका शिक्षकहरुले भने विद्यार्थीलाई सबै विषयका शिक्षकहरुको मोबाइल नम्बर उपलब्ध गराएको छ । साथै म्यासेन्जरका माध्यमबाट पनि विद्यार्थीको पढाइमा सहयोेग गरिरहेको सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाइँले बताउनुभयो । विद्यार्थीलाई आवश्यक परेको विषयमा सोझै शिक्षकलाई फोन गरेर आफ्ना समस्या समाधान गर्न सक्ने उहाँले बताउनुभयो ।
हेटौंडा–१४, मयुरधापस्थित जनज्योति माविले पनि शिक्षकहरूको मोबाइल नम्बर विद्यार्थीलाई उपलब्ध गराएको सहायक प्रधानाध्यापक हरि पौडेलले जानकारी दिनुभयो । यस्तै हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन मावि, हेटौंडा–५ स्थित जीएस निकेतन मावि, हेटौंडा–१३ पदमपाखेरीस्थित महेन्द्र माविले पनि विद्यार्थीलाई शिक्षकको मोबाइल नम्बर उपलब्ध गराएका छन् । सूचना प्रविधिको माध्यमबाट कसरी पढाउने भन्ने विषयमा हेटौंडा क्याम्पसका शिक्षक विवशजंग थापाले इच्छुक शिक्षकहरुलाई अनलाइनकै माध्यमबाट तालिम पनि सुरु गर्नु भएको छ ।