हेटौँडा ः जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले हेटौँडाका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको हो ।
हेटौँडा–१८ स्थित इलाका प्रहरी कार्यालय ठूलोदमारबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ ५ बजेको समयमा लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । यस्तै, हेटौँडा–१७, हटियाबाट सोमबार दिउँसो २ बजेको समयमा १ जना र हेटौंडा–१५ बाट मंगलबार बिहान ६ बजेर १५ मिनेटको समयमा १ जना गरी ४ जनालाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभएको छ ।
सोमबार लागूऔषध ट्रामाडोल ३५० ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार हेटौँडा–१८ स्थित स्याउली बजारमा सवारी साधनहरु रोकेर सुरक्षाजाँच गर्ने क्रममा हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प १५८९ नम्बरको मोटरसाइकलका चालक बकैया गाउँपालिका–५, श्रीपुरका अमीर थिङ र मोटरसाइकलमा सवार २० वर्षीय सन्देश राईलाई शंका लागि तलासी गर्दा लागूऔषध ट्रामाडोल ३५० ट्याब्लेट फेला परेको प्रहरीले जानकारी दिएको छ ।
अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौंडा–१७, हटियामा शंकास्पदरुपमा हिँडिरहेको अवस्थामा हेटौँडा–१८, मानेडाँडाका १७ वर्षीय सुमन गोङ्बाको साथबाट २ किलो १०० ग्राम लागूऔषध गाँजा बरामद भएको छ । हेटौँडा–१५, रातोमाटेस्थित पूर्व–पश्चिम सडकखण्डमा सवारी साधनहरु रोकेर सुरक्षाजाँच गर्ने क्रममा हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा प्र ०३–००५ प ९४८४ नम्बरको स्कुटरबाट ५ किलो ३४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले गाँजासहित स्कुटर चालक मकवानपुरको कैलाश गाउँपालिका–९, नामटार घर भई हाल हेटौँडा–११, थानाभर्याङ बस्ने ४० वर्षीय कुमार सिं गोलेलाई पक्राउ गरेको छ । लागूऔषधसहित नियन्त्रणमा लिएको ४ जनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।