दीपक गौतम (संरक्षक/परिकल्पनाकार, नवसर्जक साहित्य चौतारी नेपाल)

–दीपक गौतम

विश्वभर फैलिएको कोभिड–१९ को बढ्दो प्रभावसँगै २०७६ साल चैत ११ गतेदेखि नेपालमा पनि निषेधाज्ञा जारी भयो । फलस्वरूप विद्यालयहरू अकस्मात् बन्द भए । मानिसहरू घरभित्रै बन्दी जीवन बाँच्न बाध्य भए । यस्तैमा मेरो समय पनि अध्ययन र लेखनमा नै बढी केन्द्रित रहिरहेको थियो । बिहान, दिउँसो, बेलुका तीनै समय अध्यापन कार्यमा व्यस्त रहने मलाई यत्तिकै घरमा बसिरहनुपर्दा नमज्जा लागिरहेको थियो । बन्दाबन्दीको समयलाई कसरी सदुपयोग गर्न सकिन्छ भनेर सोचिरहेको ममा अचानक एउटा नयाँ सोच आयो ।

आफू नेपाली साहित्यको विद्यार्थी भएका नाताले आफूले जानेका केही कुरा नयाँ पुस्ताका विद्यार्थी भाइबहिनीसँग बाँड्न पाए हुन्थ्यो भन्ने मनमा लाग्यो । विगत १० वर्षदेखि झरना साहित्यिक परिवार मकवानपुरको नेतृत्व गरिरहँदा प्राप्त गरेको छन्द अभियन्ता डा. देवी नेपालको सान्निध्य एवम् मकवानपुर तथा बाहिरी जिल्लाका समेत गरी करिब ६० वढी विद्यालय र क्याम्पसमा भौतिक रूपमा आफैं उपस्थित भई साहित्यिक विधाको प्रशिक्षण गराएको अनुभवले पनि यो कार्य मेरा लागि सहजसमेत थियो ।

यसै क्रममा मैले २०७७ जेठ १ गतेदेखि आफ्नो विद्यालय (जी.एस. निकेतन मावि) का साहित्यमा रुचि राख्ने विद्यार्थीलाई साहित्यिक विधाहरूको जानकारी र अभ्यास गराउने उद्देश्यले २०७७ वैशाख २९ गते फेसबुकमा एउटा स्टाटस राखेँ । पछिमित्र डिबी बर्तौलाले जी.एस. बाहिरकालाई पनि समेटौं न दीपकजी… भनेर आग्रह गर्नुभएपछि मलाई उहाँको प्रस्ताव उचित लाग्यो र मैले सबै विद्यार्थीका लागि विकल्प खुला गरी फेसबुक स्टाटस संशोधन गरेँ । नभन्दै बालबालिकाहरू जुट्ने क्रम सुरु भयो ।

सुरुवाती दिनहरूमा अधिकांश हेटौंडा आसपासका र हेटौंडाबाहिरका पनि केही विद्यार्थी र शिक्षकहरू गरी करिब २५ जना नियमित रूपमा प्रशिक्षणमा जोडिनुभयो । सुरुवातका पाँच महिना जुम एपको लिमिट भर्सनबाट प्रत्येक दिन ८० मिनेटका दरले साहित्यिक प्रशिक्षण अभियानको थालनी गरियो र यसको नाम जुराइयोः नवसर्जक केन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियान । सुरुवातका दिनबाटं मलाई मित्रहरू डिबी बर्तौला, अर्चना दाहाल, जयन्ती आचार्य, रुबिना शर्मा, ओमकुमारी बन्जारा (रानाभाट) हरूको साथ छँदै थियो । केही समयपछि मेरो जीवनको नेपाली भाषा साहित्यका प्रथम गुरु रमेशमोहन अधिकारीको नियमित उपस्थितिका साथ आशीर्वाद थपिने भयो ।

त्यसपछिका दिनहरूमा २०७७ जेठ १ गतेदेखि दैनिक ८० मिनेट नियमित रूपमा (शनिबारसमेत) पाँच महिनासम्म साहित्यिक प्रशिक्षण अभियान सञ्चालन भयो । यसैको फलस्वरुप धनगढी, कैलालीका १४ वर्षे विद्यार्थी विभूति अधिकारीले अद्भुत इन्द्रेनी नामक खण्डकाव्य नै लेखेर प्रकाशन गरे । २०७७ पुस ११ गते यो अभियानले नवसर्जक साहित्य चौतारी नेपाल नामको संस्थागत रूप लियो । अहिले यसको ५१ सदस्यीय केन्द्रीय कार्यसमिति छ भने सातै प्रदेशमा प्रादेशिक समिति छ भने काठमाडौं उपत्यका र विदेश विभागसमेत पूर्णताको क्रममा छ ।

यस संस्थाबाट अहिले हरेक शुक्रबार र शनिबार साँझ ६.०० बजेदेखि ७.३० बजेसम्म साहित्यिक शिक्षण, समय–समयमा रचना वाचन एवम् कृति परिचर्चा कार्यक्रम, रेडियो कार्यक्रम नवसिर्जना सञ्चालन आदिका माध्यमबाट अघि बढिरेहेको छ । स्थानीय, प्रदेश तथा सङ्घीय तहका कार्यक्रममा सहभागी भएर हिजोआज नवसर्जकका भाइबहिनीले पुरस्कार र सम्मान प्राप्त नगरेको प्रायः कार्यक्रम नै छैन । हाल यसमार्फत् ७ प्रदेशका ७ बालबालिकालाई सात वटा पुरस्कार र एक जना अग्रज बालसाहित्यकारलाई प्रदान गर्नेे गरी जम्मा ८ वटा पुरस्कार तथा सम्मानहरू स्थापना भइसकेका छन् । हरेक वर्ष फरक–फरक प्रदेशमा बालसाहित्य उत्सव आयोजना गर्ने योजना बनाएको यो संस्थाको पहिलो बालसाहित्य उत्सव हेटौंडामा हुँदै छ । देशविदेशका नवसर्जकको आकर्षणको केन्द्र बन्न सफल भएको यस संस्थाको भविष्य अत्यन्त उज्ज्वल छ ।

(संरक्षक/परिकल्पनाकार, नवसर्जक साहित्य चौतारी नेपाल ।)