हेटौंडाः हेटौंडाका होटल व्यवसायीले आफ्नो शौचालय सार्वजनिक गर्ने क्रम बढेको छ । बुधबार हेटौंडा–४, पारिजातपथको एउटा होटलले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने घोषणा गरेसँगै अन्य होटल व्यवसायीले पनि शौचालयलाई सार्वजनिक बनाउने क्रम बढेको हो ।
शुक्रबार हेटौंडा–१ स्थित जंगे सेकुवा हाउसले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्ने घोषणा गरेको हो । काठमाडौंका मेयर बालेन्द्र साहले होटलका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेर सर्वसाधारणलाई सहजता प्रदान गर्न र आआफ्नो व्यवसाय प्रवद्र्धनको अवसर पनि आत्मसात गर्न भनी गर्नुभएको आव्हान सकारात्मक लागिरहेकै बेला हेटौंडाका अन्य होटलले पनि सुरुवात गरेपछि आफू पनि शौचालय सार्वजनिक बनाउन प्रेरित भएको जंगे सेकुवा हाउसका सञ्चालक जंग बस्नेतले बताउनुभयो ।
आफ्नो होटल आसपास सुमो काउण्टर, अस्पताल हुनुले सर्वसाधारणको भीड लाग्ने गरेकोले सार्वजनिक शौचालयको आवश्यक भएको बेला राम्रो अवधारणा सुरु भएको बस्नेतको भनाइ छ । शौचालय प्रयोगलाई सहज र सरल बनाएर सरसफाईमा समेत विशेष ध्यान दिने उहाँको भनाइ छ ।