हेटौंडाः हेटौंडामा दुग्ध उत्पादक किसानलाई पुरस्कृत गरिएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको सातौं स्थापना दिवसमा हेटौंडा उपमहानगरपालिका–७ का किसानलाई पुरस्कृत गरिएको हो । हेटौंडा–७ स्थित वनदेवी दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य किसानलाई संघले वर्गीकरण गरेर पुरस्कृत गरेको हो । सहकारीको सदस्य रहेका धेरै, गुणस्तरीय, सफा दुध सहकारीमा बिक्री गर्ने किसानलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक रेशम बस्नेतले जानकारी दिनुभयो ।
सहकारीले धेरै दुध बिक्री गर्ने किसान नैनाकला सिलवाल, बिजयबहादुर बस्नेत, उमा रेग्मी पोखरेल र दीपककुमार खड्कालाई पुरस्कृत गरेको हो । सहकारीकाअनुसार बढि दुध बिक्री गर्ने सिलवाल प्रथम, बस्नेत द्वितीय, रेग्मी तृतीय र खड्कालाई सान्त्वना भएका हुन् । पुरस्कारस्वरुप पशुका लागि आवश्यक औषधी हस्तान्तरण गरिएको थियो । उनीहरुलाई हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले पुरस्कृत गर्नुभएको हो । पुरस्कृत भएका सिलवालले दैनिक ७५, बस्नेतले ४५, रेग्मीले ३५ र खड्काले ३० लिटर दुध सहकारीमा बिक्री गर्ने गरेको सहकारीका व्यवस्थापक बस्नेतले जानकारी दिनुभयो । संघले वडामा सहकारीमा आवद्ध किसानका लागि घरदैलो अभियान गरी ७० जना किसानलाई औषधी वितरण गरेको थियो ।
कार्यक्रममा नगर प्रमुख लामाले दिगो आर्यआर्जनको बाटो पहिल्याएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले कृषि क्षेत्रको विकासबाटै समाज अघि बढ्ने भन्दै पशु बीमाको क्षेत्रमा उपमहानगरले सहयोग गर्ने बताउनुभयो । नगरप्रमुख लामाले पशु बीमाका लागि सरकारले दिने ८० प्रतिशत सहुलियतमा बाँकी २० प्रतिशत उपमहानगरले व्यहोर्ने तयारी गरेको जानकारी दिनुभयो । प्राविधिक संघ मकवानपुरका अध्यक्ष पुरुषोतम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ७ का वडा अध्यक्ष दामोदर गौतम, संघका केन्द्रीय सदस्य कृष्णप्रसाद भट्टराई, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. बब्लु ठाकुर, जनप्रिय प्राविधिक शिक्षालयका मोतीउर रहमानको आतिथ्य रहेको थियो ।