हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्की बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । डीएसपी कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
कार्कीले आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै बैशाख ५ गते हेटौंडा–११ स्थित सडकखण्डबाट घरेलु हतियारसहित हेटौंडा–११, थानाभर्याङ बस्ने रविन तामाङ, हेटौंडा–१२ सिग्रेनी बस्ने गौतम घिसिङ र पदमपोखरी बस्ने सरोज थिङसहित ३ जनालाई नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । यस्तै, बागमती गाउँपालिका वडा नम्बर ८, साततले स्थित ८ वर्षीया आफ्नै नातिनीलाई पटक–पटक करणी गर्ने हजुरबुबा गोपे भन्ने सन्तबहादुर विश्वकर्मालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
गत बैशाख ११ गते भारत घर भई हाल मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५, तीनतलेमा डेरा गरी बस्ने गगनकुमार सोनीले आफ्नै श्रीमती जिया उदासीलाई कर्तव्य गरेको घटनामा संलग्न भएको आरोपमा निजलाई डीएसपी कार्कीले पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरीको भनाई छ । यस्तै, बैशाख १७ गते हेटौंडा–१३, बनस्पती नमुनाटोलस्थित सडक छेउमा सोही ठाउँ बस्ने राजकुमार पाख्रिनलाई उनकै दाजु राजु पाख्रिन र भाइ बिर्ज पाख्रिनसमेतले कुटपिट गरी घाइते बनाई उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न दुबै जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन डीएसपी कार्कीको महत्वपूर्ण भूमिका रहेको प्रहरीले जनाएको छ ।
बैशाख महिनामै मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई चोरीका ४ वटा मोटरसाइकलसहित नियन्त्रणमा लिई कानुनी दायरामा ल्याएको र बैशाख महिनादेखि जेठसम्म विभिन्न मितिमा कार्कीको कमाण्डमा खटिएको टोलीले लागूऔषध गाँजा ४ सय ५७ केजी, खैरो हेरोइन १५ ग्राम ९ सय मिलिग्राम, डाईजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुन, नुफिन १ सय एम्पुल, नाईट्राभेट १ सय ५ ट्याब्लेट बरामद गरी १३ वटा मुद्दामा संलग्न २३ जना व्यक्तिहरुलाई नियन्त्रण लिई कानुनी दायरामा ल्याउन सफल भएको जनाइएको छ ।
यस्तै, बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भरपर्दो शान्ति सुरक्षा प्रबन्ध गर्न सुरक्षा निकायहरुलगायत विभिन्न सरोकारवालासँग आवश्यक समन्वय एवम् प्रभावकारी ढंगबाट प्रहरी जनशक्ति परिचालन गरी निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्णरुपले सम्पन्न गराउन उत्कृष्ट भूमिका निर्वाह गरेको हुँदा डीएसपी कार्कीबाट सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै उहाँलाई बैशाख महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।