एफसी विजय युथको टिम ।

हेटौंडाः हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकपको प्रतियोगिता अन्तर्गत आज शुक्रबारबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने आजको पहिलो सेमिफाइनलको खेलमा घरेलु टोली विजय युथ क्लब र नेपाल पुलिस क्लब बीच भिडन्त हुँदैछ । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

बिहिबार भएको क्वाटरफाइनलको खेलमा बारा जिल्लाको नव जनजागृती युवा क्लबलाई ३–० गोलले पराजित गर्दै विजय युथ सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलको खेल अन्तर्गत भोलि शनिबार क्यामरुनको एमिनियर एफसी र नेपाल आर्मी क्लब भिड्नेछ । प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद १५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद १० लाख रुपैयाँ हात पार्नेछन् ।