बिमल केशरी पौड्याल
स्थानीय तह सदस्यको निर्वाचन–२०७९ को परिणामले केहि प्रस्ट संकेतहरु दिएको छ । व्यक्तिको अहंकार, घमण्ड र अधिनायकवादी प्रवृत्तिलाई जनताले अस्विकार गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको व्यक्तिवादी प्रवृत्ति नै एमालेको पराजयको कारण हो । राजनीतिक दलहरुको टिके प्रथा अनुसार जनताले मन नपराएका र राम्रो काम नगरेका, गर्न नसक्ने मानिसहरुलाई उम्मेदवार बनाउँदा ति उम्मेद्वारहरुले पराजय भोगेका छन् ।

राम्रो काम गरेकाहरुलाई जनताले विजयी बनाएका पनि छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल राम्रा कामकै कारण जीत हासिल गर्न सफल भए । यस पटकको स्थानीय तह निर्वाचनमा स्वतन्त्र युवाको उम्मेदारीसँगै निर्वाचित भएर जिम्मेवारी पाउने काम पनि बढेको छ । काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह, धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ, धनगढीका गोपाल हमालजस्ता स्वतन्त्र उम्मेदवारहरुले निर्वाचनको महत्व बढाउने गरी जीत हासिल गरेका छन् ।

बिमल केशरी पौड्याल

साझा उद्देश्यका लागि हातेमालो गर्दै जाँदा सकारात्मक परिणाम ल्याउँछ भन्ने सन्देस सत्ता गठबन्धनले प्राप्त गरेको परिणामले पनि प्रस्ट पार्छ । यो निर्वाचनले जनता सचेत रहेको र आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दलहरुले उम्मेद्वार छान्दा राम्ररी ध्यान पु¥याएनन् भने अझै बढी स्वतन्त्र, बागी तथा युवाहरुको उम्मेदवारी रहने र चुनिएर आउने सम्भावना देखिन्छ । स्थानीयस्तरका जनताले भोगिरहेका समस्यामा केन्द्रित भएर उम्मेदवारी दिँदा जनताले स्वतन्त्र उम्मेदवारलाई पनि अत्यधिक मतले बिजयी पार्छन् भन्ने उदाहरण काठमाडौं र धरानका उम्मेदवारले पुष्टि गरेका छन् ।

धरानका उम्मेदवार हर्क साम्पाङले धरानको पानीको समस्यालाई मुख्य एजेण्डा बनाए भने काठमाडौंका उम्मेदवार बालेन्द्र साहले काठमाडौंको फोहर व्यवस्थापनको विषयलाई मुख्य एजेण्डा बनाए । यी प्रतिनिधि पात्रहरु हुन् । राजनीतिक दलको गैरजिम्मेवारीपन, अकर्मण्यता र जनताले हामीलाई नै भोट दिन्छन् भन्ने मानिसकता बिरुद्धको जनताको अभिमत अहिले देखिएको छ । तर, स्वतन्त्र उम्मेद्वारको विजयलाई राजनीतिक दलहरुप्रति विरोध र विकल्पको रुपमा हेर्नु उचित हुँदैन । यसलाई दलहरुको कार्यशैली र उम्मेदवार चयनप्रति असन्तुष्टी र विरोधको रुपमा लिनु पर्ने हुन्छ ।

चुनाव पैसाको बलले मात्रै जितिन्छ भन्ने मानिसकतालाई पनि धक्का भने वीरगंज महानगरपालिकामा देखिएको छ । मधेशी बाहुल्य क्षेत्रमा पहाडे उम्मेदवारलाई र नेवार बाहुल्य काठमाडौं महानगरमा मधेशी मूलका उम्मेदवारलाई विजयी गराएर जनताले जातीयता, क्षेत्रीयता भन्दा काम गर्न सक्ने मानिसलाई प्राथमिकता दिएको प्रष्ट देखिन्छ । बालेन, हर्क साम्पाङ जस्ता स्वतन्त्र मानिसहरु सत्ता राजनीतिमा नै रमाउने, ठुला दलहरुका माखेसाङ्लोमा अल्झिने, दक्षिणपन्थी रुझान र कार्यशैली प्रकट गर्ने अथवा साँच्चिकै जनप्रतिनिधिको रुपमा आफूलाई खरो सावित गर्ने कुराको छिनोफानो आउँदा दिनहरुले गर्नेछ ।