फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण अन्तर्गत् आज बुधबार मकवानपुरको एफसी विजय युथ र बारा जिल्लाको नव जनजागृति युवा क्लबबीच खेल हुनेछ । आजको विजेता टिम सेमीफाइनल प्रवेश गर्नेछ । पिप्ले क्याम्पा रंगशालामा हुने खेलको विजेताले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नुपर्नेछ ।

यसअघि हिजो मंगलबार भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–० गोलअन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । निक्कै प्रतिस्पर्धात्मक खेलमा पुलिसले पहिलो हाफमै अग्रता लिएको हो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख पुरस्कार पाउनेछ । प्रतियोगिताको उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।