हेटौंडाः बागमती प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा नेत्र स्वास्थ्य विशेषज्ञ डा. सन्दुक रुईत र राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनसहित विभिन्न क्षेत्रका ३७ जना व्यक्तित्व तथा ७ वटा संस्थालाई विभिन्न सम्मान प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गरेको निर्णयसम्बन्धी जानकारी सोमबार सार्वजनिक भएको हो ।
प्रदेश सरकारले २२ वटा खण्डमा विभिन्न पदकसहित सम्मान गरिने जनाएको छ । डा. रुइतलाई प्रदेश परोपकार सम्मानबाट सम्मान गर्न लागिएको छ भने डा. महावीर पुनलाई नवप्रवर्तन सम्मान प्रदान गरिने भएको छ । प्रदेश सरकारले प्रहरी सेवामा रहेका मकवानपुरका रोशन थापालाई शान्तिमाला, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा, माधव गौतम, बद्रिप्रसाद खतिवडालाई प्रदेश दीप सम्मान प्रदान गरिने भएको छ ।
पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे, मकवानपुरकै ईन्दिरा न्यौपानेलाई प्रदेश परोपकार सम्मान प्रदान गरिने भएको छ । मकवानपुरका सञ्चारकर्मी प्रताप विष्ट, कौशलराज पाण्डे र कृष्ण सारु मगरलाई प्रदेशदूत सम्मान प्रदान गरिने भएको छ । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यलाई विकास सेवी सम्मान, मूर्तिकार लक्ष्मण भुजेललाई कलाकीर्ति सम्मान प्रदान गरिने भएको छ ।
यस्तै संस्थागतरुपमा ललितपुर महानगरपालिकालाई संस्कृतिदीप, भक्तपुर नगरपालिका, मेलम्ची नगरपालिकालाई विपद्सेवी सम्मान, चितवनको चितवन अर्गानिक मत्स्य फार्म प्रालि र मकवानपुरको सिमलथली एग्रो फार्म/बाख्रा फर्मलाई कृषि किरण सम्मान, मकवानपुरको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सहकारी प्रवद्र्धन सम्मान प्रदान गरिने निर्णय भएको छ ।