स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम पनि अन्तिममा पुगेको छ । धेरै मतदाता रहेको महानगरपालिकाहरुबाहेक अन्यको परिणाम सार्वजनिक भइसकेको छ । यस पटकको मतपरिणाम दलहरुले सोचेभन्दा भिन्न देखिएको छ । दलहरुले यसलाई अन्तरपार्टी घातदेखि दलहरुबीचको अविश्वासका रुपमा लिएका छन् । तर मतदातालाई दलभित्रको घात प्रतिघात वा गठबन्धन वा दाउपेचसँग सरोकार हुँदैन । दल र नेताहरुले मतदातालाई आफ्नो अधिनको वस्तुजस्तै ठान्ने प्रवृत्तिविरुद्धको सचेतना वा अभिव्यक्ति यस पटकको मतदानमा देखिएको छ । आम नागरिकलाई पार्टी सदस्य वा कार्याकर्ताकै हैसियतमा सम्झने र निर्देशन पालकका रुपमा व्यवहार गर्ने परम्परा अब सकिएको सन्देशका रुपमा यस पटकको मतपरिणामले देखाएको छ ।
अन्य दलहरुलाई खिसिट्यूरी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलीकै कारण पार्टी विभाजनदेखि अहिलेको गठबन्धनका लागि मार्ग निर्माण भएको देखिन्छ । अन्य दलहरु एक किलो र एमाले एक्लै क्वीन्टल भएको दावीविरुद्ध अन्य दलहरुले गठबन्धनको प्रयास गरेका थिए । तर कुल स्थानीय तहमध्ये एक तिहाईमा पनि गठबन्धन गर्न सकेनन् । तर जतिमा गरे, त्यसमा पनि पूर्ण विश्वास देखिएन । दलहरुले केन्द्रमा निर्णय गर्ने र त्यसलाई कार्यकर्तादेखि मतदाताले हुबहु पालना गर्नुपर्ने उर्दीका विरुद्धमा यस पटक मतदाता उत्रिएको देखिन्छ । उम्मेद्वार छनौटमा पार्टी कार्यकर्ताको मनोभावना नबुझ्दा पनि केन्द्रबाट लादिएका उम्मेद्वारहरुको पराजय भएको देखिन्छ । मतदाताले स्वविवेकमा गरेको निर्णयलाई यतिबेला दलहरु अन्तरघात वा सहमतिप्रतिको बेइमानीको उपमा दिँदै आएका छन् ।
आम नागरिकले नरुचाएको उम्मेद्वार मत माग्न पुग्दा त्यसलाई गरेका अस्वीकार कसरी अन्तरघात हुन्छ ? उम्मेद्वार नेताको चाहनाको हुने कि मतदाताको चाहनाको ? संगठनका नाममा जोसुकै पनि उम्मेद्वार बनाउँदा विजय हुन सक्दैन भन्ने पाठ सिक्ने कि नसिक्ने ? उदाहरणका रुपमा हेटौंडा उपमहानगरपालिको मतपरिणामलाई लिन सकिन्छ । केन्द्रीय गठबन्धनको नाममा उम्मेद्वार तोक्दा मीना लामालाई सुरुका दिनमा निकै अप्ठेरो पर्ने आशंका थियो । त्यसमाथि पार्टी अध्यक्षकै दल परिवर्तनले थप संकट देखियो । यस्तै एमालेले पनि संविधानसभा सदस्यलाई नै उम्मेद्वार बनाएपछि असन्तुष्टि कार्यकर्तादेखि मतदातासम्म भएको प्रमाणका रुपमा मतपत्रबाट देखिन्छ । कांग्रेसको मेयरमा चुनाव चिन्ह नभएको र एमालेले पनि सही उम्मेद्वार नदिएको आशंकामा राप्रपाका दीपक सिंहको उम्मेद्वारी परेको देखिन्छ ।
दुबै ठूला दलभित्रको असन्तुष्टिबाट फाइदा उठाउने उद्देश्यले राप्रपाको उम्मेद्वारी राष्ट्रिय चर्चाको विषय बन्यो । उनले पाएको मत अनपेक्षित नै देखियो । अघिल्लो निर्वाचनमा सात हजार रहेको मत यस पटक विजयको निकट पुग्नु सामान्य विषय हैन । यसमा दलका नेताहरु भन्दा मतदाताको ठूलो हात छ । नयाँ पुस्ताले नयाँ खोज्ने क्रममा निकै पुरानो व्यक्तिलाई नयाँका रुपमा फेला पारे । राप्रपाका उम्मेद्वारले विपक्षीका मात्रै मत काट्नेछन भन्ने बुझाई र गठबन्धनलाई कमजोर देख्ने अहम् मनोवृत्तिले गर्दा एमालेले हेटौंडाको लामो विरासत थेग्न सकेन । यस्तै पछिल्लो सयम कांग्रेसभित्रको विवाद मत्थर हुनु र माओवादी केन्द्र निकै इमान्दार हुँदा हेटौंडाले पहिलो महिला मेयर पाएको छ । यो मतदाताकै विवेकले भएको हो ।