फाइल तस्विर ।

हेटौंडाः आसन्न स्थानीय तह सदस्य निर्वाचनपछि मात्र विद्यालयहरुमा नयाँ पाठ्यपुस्तक पुग्ने भएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन भएकाले विद्यालयहरुमा ढिला पाठ्यपुस्तक पुग्ने भएको हो ।

अहिले मकवानपुरका नगर, वडा, गाउँ, टोल सबैतिर निर्वाचनको चहलपहल भइरहेको अवस्थामा विद्यालयहरुमा नयाँ पाठ्यपुस्तक पु¥याउन नसक्ने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । केही दिन अघिसम्म एसईईको व्यवस्थापनमा व्यस्त भएका कारण मकवानपुरमा कति नयाँ पाठ्यपुस्तक आए भन्ने विषय यकिन नभएको उहाँले बताउनुभयो । पुस्तक पसलहरुमा नयाँ पाठ्यपुस्तक आए/नाआएको अनुगमन गरेपछि कुन तहको पुस्तक कति आए भन्ने विषयको विवरण संकलन गरिने उहाँले जानकारी दिनुभयो । जनक शिक्षा सामग्री केन्द्रले नै चुनावका लागि मतपत्र छपाइ कार्य गरिरहेकाले नयाँ पाठ्यपुस्तक छपाईमा केही ढिलाई हुने पौडेलले दावी गर्नुभयो ।

छपाई भइसकेका पाठ्यपुस्तक पसलहरुमा बिक्रीका लागि आएको उहाँले बताउनुभयो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क वितरण गर्न पाठ्यपुस्तक ल्याउने तयारीमा रहेको उहाँले बताउनुभयो । अपुग पाठ्यपुस्तक निर्वाचनपछि फेरि ल्याइने उहाँले जानकारी दिनुभयो ।
चालु शैक्षिक सत्रको परीक्षाफल प्रकाशनको काम विद्यालयहरुले गरिरहेका र विद्यार्थी भर्ना भइनसकेका कारण तत्काल कति पुस्तक आवश्यक छ भन्ने विषय यकिन गर्न नसकिएको उहाँको भनाइ छ । वि.सं २०८० सालभित्र कक्षा १ देखि १२ सम्म परिवर्तित पाठ्यक्रम संरचनाअनुसार विषय मिलान गरी केही विषय हटाउने तयारीका साथ नेपाल सरकारको शिक्षा मन्त्रालय लागेको उहाँले बताउनुभयो ।

शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक लागू भएको छ । शैक्षिक सत्र २०७७ बाट परिवर्तित पाठ्यक्रमअनुसार नयाँ पाठ्यपुस्तक लागू भएको थियो । २०७७ सालमा कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गरिएको थियो । शैक्षिक सत्र २०७८ मा कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू भएको थियो । वि.सं २०८० को शैक्षिक सत्रमा कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू हुनेछ ।परिवर्तित पाठ्यक्रमअनुसार कक्षा ९ र १० मा अनिवार्य स्वाथ्य, जनसंख्या तथा वातावरण विषय हटाइएको छ । विज्ञानसँग प्रविधि जोडेर पाठ्यक्रम निर्माण गरिएको छ । नयाँ पाठ्यक्रमअनुसार कक्षा ९ र १० मा कुल ७०० पूर्णाङ्कका ७ वटा विषय अध्यापन हुनेछ । सबै विषयमा आन्तरिक प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।

वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै कतिपय विद्यालयहरुले भर्ना अभियान सुरु गरेको भए पनि नयाँ पाठ्यपुस्तक नभएका कारण विद्यार्थी भर्ना गरेर पाठ्यपुस्तक वितरण गर्न सकेका छैनन् । कक्षा ४, ७ र ९ को परिवर्तित पाठ्यक्रमअनुसारका नयाँ पुस्तक छपाई पूर्ण नभएकाले निर्वाचनपछि मात्र पाठ्यपुस्तक ल्याउने बिक्रेताहरुको तयारी छ । सरकारले २०७९ वैशाखमा चालु शैक्षिक सत्र अन्त्य गरी नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिए पनि स्थानीय तह निर्वाचनका कारण जेठबाट मात्र नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुने भएको छ ।