कोभिडविरुद्धको खोप अभियान जारी रहेकै अवस्थामा बालबालिकाहरुलाई टाईफाईडविरुद्ध खोप सुरु भएको छ । सरकारले देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई खोप दिन थालेको हो । देशभरमा ७५ लाखभन्दा बढी बालबालिका यो खोपबाट लाभान्वित हुने अनुमान छ । अभियानअन्तर्गत् मकवानपुरमा एक लाखभन्दा बढी बालबालिकालाई खोप लगाइँदैछ । १५ दिनभन्दा बढीको अभियानले नेपाली स्वास्थ्य क्षेत्रमा ठूलो प्रभाव पार्न सक्छ । बालबालिकाहरुलाई टाईफाईडजस्तो संक्रामक रोगबाट बचाउन खोप अभियान प्रभावकारी हुनेछ । डाईफाईडबाट बर्षेनी सयौंको संख्यामा हुने मृत्युदेखि शारीरिकरुपमा हुने दुष्प्रभावबाट रोक्न सक्नेछ । बालबालिकाका लागि विश्वमा उत्पादन भएका १६ वटा खोपमध्ये नेपालले १३ वटा खोप प्रयोग गरिसकेको छ ।

मकवानपुरमा खोप अभियानको सुरुवात मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित भोजसिद्ध माध्यमिक विद्यालयबाट भएको छ । खोप अभियानको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले शुभारम्भ गरेका हुन् । यता हेटौंडा उपमहानगरपालिकामा १ सय ३५ वटा खोप केन्द्र तोकिएको छ । ४ लाख ६ हजार १ सय ५३ जनसंख्या रहेको मकवानपुरका १ लाख ८ हजार ४ सय ८६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ । खोप लगाउन विद्यालय तथा स्वास्थ्य चौकी गरी ६ सय ८ वटा केन्द्रमा तालिम प्राप्त ८ सय ७० खोप कार्यकर्ता र स्वयम्सेवक खटेका छन् । अभियान सञ्चालन गर्न राज्यको ठूलो आर्थिक लगानी भएको छ । लगानीअनुसारको प्रतिफलका लागि अभिभावकहरु सचेत हुन आवश्यक छ ।

राज्यले अभियान सञ्चालन गरिरहँदा कतिपय मानिसहरु खोपको आवश्यकताबारे अनविज्ञ छन् । दूरदराजका बालबालिकाहरुसम्म खोप पुर्‍याउन चुनौती छ । भौगोलिक अवस्था, जनचेतना र आवश्यकता महशुसले मात्र खोप अभियान सफल हुनसक्छ । जति पनि कार्यक्रमहरु हुन्छन्, सहर केन्द्रित छन् । सदरमुकाम केन्द्रित अभियानलाई गाउँसम्म पुर्‍याउनुपर्दछ । दक्ष जनशक्ति गाउँमा हुन आवश्यक छ वा अभियानसँगै त्यहाँ पुग्ने व्यवस्था हुन जरुरी छ । सुगम गाउँठाउँमा कार्यक्रम सफल भए भन्दैमा समग्रमा परिणाम सुखद् नै आउँछ भन्न सकिँदैन । यसका लागि प्रचारप्रसार व्यापक हुनुपर्दछ । टाईफाईड किन र कसरी हुन्छ ? यसको असर के हो र खोपले पुर्‍याउने सकारात्मक प्रभावबारे सर्वसाधारणलाई पर्याप्त जानकारी दिनुपर्दछ ।

खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरमा उल्लेख्य कमी आउने विश्वास गर्न सकिन्छ । केही राम्रा काममध्येको यो अभियान आमनागरिकको स्वास्थ्य सुरक्षासँग जोडिएको छ । निःशुल्क स्वास्थ्यको अधिकारमध्ये राज्यले खोपलाई पूर्ण कार्यान्वयन गरेको छ । नेपालमा टाईफाईड रोगको संक्रमण र जोखिम उच्च रहेको अवस्थामा यसविरुद्धको खोप अभियान सफल हुनुको विकल्प छैन । राजनीतिक कार्यकर्ता, सामाजिक अभियन्तादेखि राज्यका सबै संयन्त्र परिचालन हुन जरुरी छ । मकवानपुरका प्रत्येक पालिकास्थित स्वास्थ्य संस्थामार्फत् केन्द्र तथा उपकेन्द्रमा पुगेर सेवा प्रदान गरिने भएकाले कोही पनि बालबालिका अभियानमा सहभागी हुनबाट नछुटुन् भन्नेतर्फ सचेत हुनुपर्दछ ।