बालकृष्ण दाहाल
केन्द्रीय सदस्य
नेपाल विद्यालय कर्मचारी परिषद्

विद्यालय शिक्षाको मन्दिर हो । विद्यालयमा शिक्षक मात्र होइन कार्यालय सहयोगीदेखि लेखापाल, कार्यालय व्यवस्थापन लगायतका कर्मचारीहरु हुन्छन् । उनीहरुको भूमिका गौण जस्तो देखिएपनि कर्मचारी बिना विद्यालय संचालनमा समस्या आउँछ । कुनै पनि संघ संस्था कर्मचारी बिना संचालन हुन सक्दैन । शिक्षकको काम विद्यार्थीहरुलाई पढाउने हो भने व्यवस्थापनको काम कर्मचारीबाट भएको हुन्छ । विद्यालयमा कर्मचारीको भूमिका महत्वपूर्ण रहेपनि विद्यालयले प्रदान गर्ने सेवा सुविधाबाट भने कर्मचारी वञ्चित छन् । विद्यालय संचालनमा कर्मचारीको भूमिका, कर्तव्य र जिम्मेवारी कस्तो रहेको छ ? भन्ने सन्दर्भमा समृद्ध समाज दैनिकका डीबी बर्तौलाले नेपाल विद्यालय कर्मचारी परिषद्को केन्द्रीय सदस्यमा हालै निर्वाचित हुनुभएका भुटनदेवी माविका कर्मचारी बालकृष्ण दाहालसँग गर्नुभएको कुराकानीः

समाजः विद्यालयमा कर्मचारीको भूमिका के कस्तो रहन्छ ?
दाहालः कर्मचारी बिना कुनै प्रशासन चल्नेवाला छैन झन् त्यसमाथि लेखा प्रशासनको कुरा छ । शिक्षकको पाटो भनेको अध्यापन गराउने हो । उहाँहरुलाई प्रशासनिक काममा लगाउँदा वा अरु काममा लगाउँदा शिक्षण कार्यमा समस्या आउन सक्छ । अझै पनि शिक्षकहरु संख्या न्युन अवस्थामा छ । राज्यले आवश्यकता अनुसार शिक्षकको दरबन्दी पुरा गर्न सकेको अवस्था छैन । लेखा प्रशासन कुनै पनि सेक्टर नछोडिकन एउटा विद्यालयमा एउटा कर्मचारीले सम्पूर्ण काम थामेर बस्नु परेको हुन्छ ।

समाजः नेपाल भित्र रहेका शिक्षक संगठन, संघ र विभिन्न पेशागत संस्थाहरुले यहाँहरुको मागलाई नउठाई दिएको हो भन्ने महशुस भएको हो रु
दाहालः त्यो त निश्चय पनि हो । शिक्षक संगठन तथा शिक्षकको साझा संगठन शिक्षक महासंघले बिगत केहि समय अगाडिसम्म पनि बोलेको थिएन । अहिले केहि समय भयो कर्मचारीलाई पनि शिक्षक सरह लैजानु पर्‍यो भनेर बोल्न थालेको छ ।

समाजः तपाईहरुको आगामी आन्दोलनको एजेन्डा के रहन्छ ?
दाहालः हाम्रो अहिलेको आन्दोलनको एजेन्डा भनेको दरबन्दीको सृजना र त्यसमा स्थायित्व हो । स्थायित्वको कुरा आइसकेपछि उपदानका कुरा सेवा सुबिधाका कुरा जोडिएर जान्छन् । हामी सेवामा रहेर न्युन पारिश्रमिकमा कार्य गर्नुपर्छ । जागिर अवधि सकिएपछि कर्मचारीका लागि कुनै विधि विधान, कुनै सिस्टम छैन, कुनै नियम छैन यो चै मुख्य आवश्यकताको कुरा हो । हामीलाई सेवा सुविधाभन्दा पनि कानुन चाहियो । कानुन अनुसार व्यवस्थापन हुनु पर्‍यो भन्ने हाम्रो माग हो ।