हेटौंडाः सर्लाही जिल्लाको बागमती नगरपालिकामा जारी छैठौं संस्करणको राजर्षी जनक गोल्डकप प्रतियोगितामा मकवानपुरको पिप्ले युवा क्लब फाइनल प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा आयोजक बागमती युवा क्लबलाई पेनाल्टीमा ४–२ गोलअन्तरले पराजित गर्दै पिप्ले युवा क्लब फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पिप्लेका ४ जना खेलाडीले गोल गर्दा बागमती युवा क्बलका २ खेलाडीले मात्रै गोल गर्न सफल भए । बागमतीका एक खेलाडीले पोष्ट भन्दा बाहिर पेनाल्टी प्रहार गर्नुका साथै पिप्लेका गोलरक्षक अनिष देउलाले एक बल उत्कृष्ट बचाउ गरेसँगै पिप्लेले फाइनल यात्रा तय गरेको हो । पिप्लेका गोलकिपर अनिष देउला म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।
खेलाडीको मिहिनेतका कारण फाइनल यात्रा तय गर्न सफल भएको पिप्ले युवा क्लबका प्रशिक्षक सुविन घिमिरेको भनाइ छ । प्रशिक्षक घिमिरेले लगातार दोस्रो पटक उपाधि उचाल्ने लक्ष्य नजिक पुगेको बताउनुभयो । खेलाडीको उत्कृष्ट प्रदर्शन फाइनलमा पनि कायमै रहनेमा विश्वास व्यक्त गर्नुहुँदै समर्थक र सहयोगीको साथ पनि विजयी हुन प्रेरित गर्ने प्रमुख कारण भएको प्रशिक्षक घिमिरेको भनाइ छ ।
प्रतियोेगिताको फाइनल खेल आइतबार हुनेछ । यसअघि पिप्ले युवा क्लब ‘ए’ डिभिजन हिमालय शेर्पालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन् ।