रोजगारीका लागि विदेश जाने युवाको संख्या उल्लेख्य छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पनि बढ्दै गएको पाइन्छ । वैदेशिक रोजगारीको मोहकै कारण कयौं गाउँ युवाविहीन बनेका छन् । देशमा रोजगारीको उचित व्यवस्था नहुनुको पिरलोले धेरैजसो युवायुवतीलाई विदेश जानुपर्ने बाध्यता बनेको छ । विदेशको रोजगार भनेपछि मरिहत्ते गर्ने युवायुवती र तिनलाई विदेश पठाउन तारतम्य मिलाउने सबै पक्षको मिलोमतोबाट वैदेशिक रोजगार फस्टाएको छ । तर, वर्सेनि ठूलो संख्यामा युवा जनशक्ति विदेश पलायन हुनुले चिन्तालाई बढाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भीक प्रतिवेदनले विदेशमा रहेका नेपालीको संख्या २१ लाख ६९ हजार ४ सय ७८ देखाएको छ । तर, करिब ४० लाख नेपालीहरु वैदेशिक रोजगारीमा रहेको अनुमान गरिएको छ । पछिल्लो समय कोभिड महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै गए पनि वैदेशिक रोजगारीमा जान चाहने युवायुवतीको संख्या उल्लेख्य छ । मकवानपुर जिल्ला पनि वैदेशिक रोजगारीमा जाने संख्याको आधारमा अग्रस्थानमा देखिएको छ । वैदेशिक रोजगारीमा गएका महिलाको तथ्यांकको आधारमा मकवानपुर जिल्ला देशमै तेस्रो स्थानमा रहेको छ । ३ वर्षअघि मकवानपुरका १ हजार ७ सय ७९ जना महिला विदेशिएका थिए । उक्त वर्ष मकवानपुर जिल्लाबाट ९ हजार ६ सय ६१ जना वैदेशिक रोजगारमा गएकामा १८ प्रतिशतभन्दा बढी महिलाको संख्या पाइएको छ ।

सुरक्षित अप्रवासन परियोजनाले गरेको रिटर्नी आप्रवासी कामदारहरुको जिल्ला भेलामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । विश्वमा नेपाल श्रम निर्यात गर्ने मुलुकको रुपमा परिचित भइरहँदा वैदेशिक रोजगारमा गएका महिलाको संख्याको आधारमा मकवानपुर तेस्रो स्थानमा रहेको हो । आफ्ना विभिन्न आवश्यकता परिपूर्तिका लागि देशका धेरै महिला विदेशी भूमिमा श्रम गर्न बाध्य बनेका छन् । कोरोना महामारीका कारण विदेशिने भन्दा स्वदेश फर्कने मानिसको संख्या बढेको भए पनि आर्थिक वर्ष २०७५/०७६ सम्म जिल्लाका ७७ हजार ७ सय ४ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको पाइएको छ । वैदेशिक रोजगार नेपालीका लागि जोखिमयुक्त बनिरहेको छ । दैनिक ५ जना नेपालीको शव विदेशबाट आउने तथ्यांकले पनि वैदेशिक रोजगारी असुरक्षित रहेको पुष्टि गर्दछ ।

अवैधानिक तरिकाबाट विदेशिने महिलाहरु बढी असुरक्षित हुने गर्दछन् । पर्याप्त जानकारीबिना गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीका लागि बाहिरिने महिलाहरु श्रमशोषण, यौनशोषण तथा बेचबिखनमा समेत पर्ने गरेका छन् । कमजोर आर्थिक अवस्था, शिक्षा तथा चेतनाको कमी, बेरोजगारी, खुला सिमाना, छोटो समयमा धेरै पैसा कमाउने लालसाजस्ता कारणले विशेषगरी महिलाहरुका लागि असुरक्षित वैदेशिक रोजगारीको क्रम बढिरहेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन नसक्दा नेपाली युवायुवती ठगिने, दुःख पाउने र अकालमा ज्यान गुमाउने अवस्थामा छन् । यसले वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सावधानी, सिक्नुपर्ने आधारभूत सीप र हासिल गर्नुपर्ने ज्ञानका विषयमा सचेत र दक्ष हुनुपर्ने आवश्यकता छ । वैदेशिक रोजगारका नाममा हुने सबैखाले गैरकानुनी कार्यको अन्त्यसँगै स्वदेशमै उपयुक्त रोजगारका अवसर सिर्जना गर्नु सरकारको प्रमुख दायित्व बन्दछ ।