सेनेटरी प्याड वितरणपछि महिला पत्रकारहरुको सामूहिक तस्बिर ।

हेटौंडाः सञ्चारिका समूह मकवानपुरले मंगलबार पत्रकार महिलाबीच मैत्रीपूर्ण फुटसल तथा सेनेटरी प्याड वितरण शुभारम्भ कार्यक्रम गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

सञ्चारिकाले शुभारम्भ गरेको सेनेटरी प्याड वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरले समन्वय गर्ने अध्यक्ष मणिराज गौतमले बताउनुभयो । सेनेटरी प्याड मासिक रुपमा मकवानपुरका महिला पत्रकारलाई वितरण गरिनेछ ।

सञ्चारिका समूह मकवानपुर अध्यक्ष सम्झना रिजालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारी लामाका प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । उपमेयर लामाले महिला पत्रकारले सुरु गरेको सेनेटरी प्याड वितरण कार्यमा सहयोग गर्ने बताउनुभयो ।

सञ्चारिका समूह मकवानपुरका संस्थापक अध्यक्ष सरिता दाहालले महिला पत्रकारले किन्न नसकेर प्याड वितरण कार्यक्रम सुरुवात नगरेको भन्दै समावेशी महिला सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरेको दावी गर्नुभयो । कार्यक्रममा पत्रकारहरु सम्झना कार्की, एमपी शर्मा र धु्रव अधिकारीलगायतले महिला दिवसको शुभकामना दिनुभएको थियो ।