माधब पोख्रेल, साहित्यकार

पछिल्लो समय मकवानपुरका साहित्यकारहरुको कृति प्रकाशन हुने लहर नै चलेको छ । कृति प्रकाशनको लहरमा मातृभूति साहित्य समाज मकवानपुरका अध्यक्ष माधब पोख्रेलले गत शनिबार ‘ऐनाभित्रको आकाश’ कृति सार्वजनिक गर्नुभएको छ । थोरै स्रष्टाको प्राथमिकतामा पर्ने नाटक कृति प्रकाशन गर्नुभएका पोख्रेलको यो तेस्रो कृति हो । एउटा कविता संग्रह र दुईवटा नाटक कृतिका कृतिकार माधब पोख्रेलसँग गरिएको कृति वार्ताः

‘ऐनाभित्रको आकाश’ कृति लोकार्पण गरिएको एक साता भयो । पाठकबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
पोख्रेलः कृति लोकार्पण गरेको अहिले हप्ता दिनपनि भएको छैन, त्यसैले अहिले नै प्रतिक्रिया आउनका लागि पर्याप्त समय भै नसकेको मैले महशुस गरेको छु । जहाँसम्म कृति लोकार्पण गर्नुभन्दा अघि जजस्ले पनि मेरो यो पुस्तक पढ्नु भएको छ, उहाँहरुबाट भने राम्रो प्रतिक्रिया पाएको छु ।

‘ऐनाभित्रको आकाश’ कृतिको सार के हो ?
पोख्रेलः कृतिको मूलसार भनेको अहिले शिक्षित पढे–लेखेका युवा पिढीमा विदेश पलायनको जुन मानसिकता र मोह बढ्दै गएको छ, त्यसलाई कसरी बदल्ने भन्ने नै हो । उनिहरुलाई आफ्नै देशको विकासको मूलप्रवाहमा कसरी जोड्ने भन्ने नै हो र त्यसको साथसाथै विद्यमान सामाजिक विसंगतिलाई चिर्दै आफ्ना संस्कार र संस्कृतिको जगेर्ना गर्ने भन्ने नै हो ।

कृति विमोचनकै अवसरमा समीक्षकका समीक्षाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? कृति प्रकाशन हुँदै गर्दा कस्ता कमजोरीलाई आत्मसात गर्नुभएको छ ?
पोख्रेलः हेर्नुस्, समीक्षक भनेको पनि तपाई–हामी जस्तै मान्छे नै हुन् । उनिहरुले पनि राख्ने भनेको आफ्नो धारण नै हो । एउटै मञ्चमा एउटै विषयमा एउटा समीक्षकले राखेको धारणा विपरित अर्कोले अर्कै किसिमले व्याख्या गरिरहेको घटना तपाईहामी सामु प्रसस्त छन् । तर पनि कृति विमोचनका क्रममा उपस्थित जनसमुदायमा कृति कस्तो छ त भन्ने कौतुहलता केहि हदसम्म मेटाउन सकिन्छ भन्ने लागेर नै समीक्षक राख्ने गरिन्छ भन्ने मलाई लागेको छ । जहाँसम्म मेरो कृति विमोचनकै अवसरमा समीक्षकका समीक्षाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्नमा भने म सन्तुष्ट नै छु भन्नु पर्छ । तपाईको अर्को प्रश्नमा कृति प्रकाशन हुँदै गर्दा कस्ता कमजोरीलाई आत्मसात गर्नुभएको छ भन्ने सन्दर्भमा भने राजधानी बाहिरको कृतिकारको मुख्य समस्या भनेको नै भरपर्दो पुस्तक प्रकाशन गृह नहुनु नै हो जस्तो मलाई लाग्दछ ।

तपाईका तीन कृतिमध्ये दुई वटा नाटक कृति छन् । नाटकप्रति तपाईको रुचि कसरी स्थापित भयो ?
पोख्रेलः यसको लामो कहानी छ, मैले विमोचनको क्रममा पनि यस बारे भनेको थिएँ । यसलाई सँपेक्षमा भन्नु पर्दा सानोमा ३, ४ कक्षा पढ्दा नै स्कुलमा सरहरुले नाटकमा खेलाउनु, कलेज जिवनमा बिराटनगरमा नाटक हेर्ने मौका पाउनु, त्यस लगत्तै नाटकमा सानो भूमिका पाउँदा अन्त्यमा मुख्य भूमिकामा नै अभिनय गर्ने अवसर पाउनु, त्यसपछि एक दशक नाटक, सडकनाटकमा अभिनय, लेखन तथा निर्देशन समेत गरेको अनुभव संगालेको व्यक्ति भएको नाताले स्वभाविक रुपमा नै मैले लेखेको तीन कृति मध्ये दुई वटा नाटकका कृति पर्न गएको हो ।

तीन वटा कृति प्रकाशित गर्नुभयो । तीन वटा कृति प्रकाशित हुँदा खास के उपलब्धी हासिल भयो भन्ने लागेको छ ?
पोख्रेलः कसैले पनि म केहि पाउँछु भनेर लेखन कार्यमा लागेको हुँदैन भन्ने मेरो बुझाई छ । बस् आफुलाई कुनै कुराले मन छुन्छ भने लेख्ने हो । यदि मलाई लागेको कुरा अरुले पनि बुझ्नु पर्छ, थाहा पाउनुपर्छ, जस्तो लाग्छ भने लेख्ने हो । आत्मसन्तुष्टिका लागि लेख्ने हो । म पनि आफु यसबाट अलग छैन भन्ने मेरो धारणा हो ।

साहित्य सिर्जनाका लागि आफूलाई तयार राख्न के–के तयारी गर्नुहुन्छ ?
पोख्रेलः लेख्नका लागि तयारी भनेर त्यस्तो खासै त केहि गर्ने गरेको छैन । फेरि मेरो पेशा पनि साहित्य भन्दा बाहिरको क्षेत्र परेको हुनाले फुर्सद पाउँदा यसो आफूलाई मनपर्ने लेख रचना पढ्छु । तर कुनै विषयले मलाई छोएको छ, यस विषयमा म लेख्छु भन्ने मनमा लाग्यो भने त्यसको विषय वस्तु त्यतिबेलै टिपोट गर्छु, अनि पछि फुर्सदको समयमा त्यसलाई थप्दै जान्छु । विषय–बस्तु सानो छ भने थोरै समयमा नै त्यो पूरा गर्छु, होईन विषय–बस्तु अलि लामो छ भने महिनौ दिन पनि लगाएको छु पूरा गर्न । आजभोलि विभिन्न साहित्यिक कार्यक्रममा सहभागिता जनाईरहनु पर्ने भएकाले पछिल्लो चरणमा आएर यसो गजल, मुक्तक लेख्न सिकिरहेको छु ।

पहिलो र दोस्रो कृति प्रकाशनको अनुभवका आधारमा तेस्रो कृतिमा तपाईको प्रमुख उद्देश्य के हो ? तेस्रो कृति पढ्ने पाठकले के कुरा बुझिदिनुपर्छ भन्ने लागेको छ ?
पोख्रेलः पहिलो, दोस्रो होस् वा तेस्रो, लेख्न मिहिनेत उत्तिनै लाग्ने हो । एउटा श्रष्टाले आफ्नो हरेक कृति प्रकाशन गर्दा उसले त्यसबेलाको समय अनुसार उत्तिकै परिश्रम गरेको हुन्छ । उसले जहिले पनि चाहन्छ कि पाठकले उसको कृति मनपराई दिउन् । फरक यतिमात्र हुन्छ कि पहिलो कृति प्रकाशन गर्दा श्रष्टा नयाँ हुन्छ, जति–जति समय बित्दै जान्छ, उसमा परिपक्वता आउँदै जान्छ र उसले प्रकाशन गर्ने हरेक पछिल्लो कृतिमा अघिल्लो पटक गरेका गल्ती, कमि–कमजोरी सच्याउँदै जान्छ र यो सधैं चलिरहने प्रक्रिया हो । किनकि सिक्ने र सिकाउने भन्नेकुरा सकिने विषय होईन । साहित्यमात्र होईन, यो हरेक क्षेत्रमा लागु हुन्छ । त्यसैले कृति पढ्ने पाठकले श्रष्टाको दुखलाई बुझेर पढिसकेपछि श्रष्टालाई त्यस कृतिको परिवेश भित्र रहेर सकारात्मक या नकारात्मक दुवै औँल्याईदिएर अगाडि बढ्न सधैं प्रेरणा प्रदान गर्नु पर्छ जस्तो लाग्छ ।