ब्रिटिस काउन्सिलले आधुनिक राष्ट्रिय माविलाई अनलाइनमार्फत अन्तर्राष्ट्रिय विद्यालयको उपाधिको घोषणा गर्दै ।

हेटौंडाः ब्रिटिस काउन्सिल नेपालले हेटौंडाको आधुनिक राष्ट्रिय माविलाई अन्तर्राष्ट्रिय विद्यालयको उपाधि प्रदान गरेको छ । काउन्सिलले हरेक वर्ष नेपालका सरकारी तथा निजी विद्यालयको क्षमता अभिवृद्धि गर्ने गरी साझेदारी गर्दै विद्यालयलाई अन्तर्राष्ट्रिय उपाधि प्रदान गर्ने गरेको छ । सन् २०१९ देखि नै विद्यार्थी लक्षित विभिन्न परियोजना सञ्चालन गरेको आधुनिक राष्ट्रिय माविलाई मंगलबार अन्तर्राष्ट्रिय विद्यालयको उपाधि प्रदान गरेको हो ।

परियोजना कार्यअन्तर्गत विद्यार्थीले नाटक मञ्चन गर्दै ।

विद्यार्थीका लागि विभिन्न १० वटा परियोजना लक्षित क्रियाकलाप गराउन काउन्सिलले सहजीकरण गर्नुका साथै केही सहयोग समेत गरेको थियो । ब्रिटिस काउन्सिल नेपालले निर्धारण गरेको मापदण्डमा रहेर आधुनिक माविले ४ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई विभिन्न १० वटा परियोजना कार्य गराएको परियोजना संयोजक शिक्षक सुरज बुढाथोकीले जानकारी दिनुभएको छ । विद्यार्थीलाई परियोजना कार्यमा सहभागी गराउन परियोजना संयोजकको रुपमा शिक्षकहरुलाई नै जिम्मेवारी दिइएको संयोजक बुढाथोकीले बताउनुभएको छ ।

परियोजना कार्यअन्तर्गत विद्यार्थीले नेपालको बहुजातीय पहिचान झल्काउने पोशाकमा प्रस्तुत हुँदै ।

ब्रिटिस काउन्सिलसँगको साझेदारीमा सञ्चालित परियोजना कार्यका क्रममा बेलायत, जापान, भारत, पाकिस्तान, बंगलादेश, इजिप्टका विद्यालय तहका विद्यार्थीसँग अनलाइनमाध्यममार्फत आधुनिक राष्ट्रिय माविका विद्यार्थीहरुले अन्तरक्रिया गरेको विद्यालयका प्रधानाध्यापक वीरवंश बैठाले जानकारी दिनुभएको छ । काउन्सिलले विद्यार्थीलाई प्रभावकारी सहजीकरणका लागि प्रधानाध्यापक वीरवंश बैठा, परियोजना संयोजक सुरज बुढाथोकीलाई कार्यशालामा सहभागी गराएको थियो ।

परियोजना कार्यअन्तर्गत विद्यार्थीले नाटक मञ्चन, लागूऔषध दूव्र्यसनसम्बन्धी सचेतनाका लागि र्‍याली, बसाईसराईसम्बन्धी जानकारी, अभिव्यक्ति कला, चाडपर्व, जातीय समूहका विशेषताका बारेमा खोज, अध्ययन, अन्तरक्रिया गरेका थिए । निजी विद्यालयसँग पनि सहकार्य गर्नुपर्ने मापदण्डअनुसार हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलसँग आधुनिकले सहकार्य गरेको थियो ।

सहकार्य गरेका विद्यालयमध्ये ब्रिटिस काउन्सिलले निर्धारण गरेको मापदण्ड पालना गर्दै परियोजनाको उद्देश्य हासिल भएका विद्यालयहरुलाई अन्तर्राष्ट्रिय विद्यालयको उपाधि प्रदान गरेको हो । परियोजनामा सहभागी हुँदै गर्दा विद्यार्थीमा नेतृत्व क्षमता विकास भएको, शिक्षण–सिकाईको अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी प्राप्त गरेको, विद्यार्थीको प्रतिभा प्रष्फुटन भएको परियोजना संयोजक बुढाथोकीको भनाइ छ ।