मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः मकवानपुरमा पछिल्लो एक वर्षमा २१ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । तीनै तहको चुनावमा मतदान गर्नका लागि मकवानपुर जिल्लाका स्थायी बासिन्दासहित हाल मकवानपुरमा बसोबास गरिरहेका बाहिरी जिल्लाका मतदाताहरुले पनि मकवानपुरबाट मतदाता नामावलीमा फोटोसहित नाम दर्ता गराएका छन् ।

गतवर्ष २०७७ को पुस ५ गतेपछि २०७८ पुस मसान्तसम्ममा कुल २१ हजार ३ सय ४८ जनाले हेटौंडा–५ स्थित प्रदेश निर्वाचन कार्यालयबाट नाम दर्ता गराएका कार्यालयले जनाएको छ । जसमा कार्यालयले यही मंसिर १७ गतेदेखि पुस १९ गतेसम्म जिल्लाका ९ पालिकामा आयोजना गरेको मतदाता नामावली संकलन अभियानमा मात्र ४ हजार १ सय ८१ जना महिला र ४ हजार २ सय ६३ जना पुरुष गरी कुल ८ हजार ४ सय ४४ जनाले नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो । मंसिर १७ देखि पुस २ गतेसम्म पहिलो चरणमा ५ पालिका र पुस ५ गतेदेखि १९ गतेसम्म दोस्रो चरणमा ४ पालिकामा अभियान सञ्चालन भएको थियो ।

उक्त अवधिमा सबैभन्दा धेरै बागमती गाउँपालिकामा नाम दर्ता भएका छन् । बागमतीका ७ सय ४२ जना महिला र ६ सय ६८ जना पुरुष गरी १ हजार ४ सय १० जनाले नाम दर्ता गराएका छन् । अभियानअन्तर्गत् नै बकैयाका ६ सय ६६ जना महिला र ६ सय ५५ जना पुरुष गरी १ हजार ३ सय २१ जना, मनहरीका ६ सय १४ जना महिला र ६ सय ३० जना पुरुष गरी १ हजार २ सय ४४ जना, मकवानपुरगढीका ५ सय ६५ जना महिला र ५ सय ३४ जना पुरुष गरी १ हजार ९९ जना, राक्सिराङका ४ सय ९३ जना महिला र ५ सय ३० जना पुरुष गरी १ हजार २३ जनाले नाम दर्ता गराएका छन् ।

यसैगरी थाहा नगरपालिकाका ४ सय ४२ जना महिला र ५ सय ३२ जना पुरुष गरी ९ सय ७४ जना, ईन्द्रसरोबरमा ३ सय ६ जना महिला र ३ सय ३२ जना पुरुष गरी ६ सय ३८ जना, भीमफेदीमा १ सय ९५ जना महिला र २ सय १० जना पुरुष गरी ४ सय ५ जना तथा कैलाश गाउँपालिकामा १ सय ५८ जना महिला र १ सय ७२ जना पुरुष गरी ३ सय ३० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएकोे प्रदेश निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

२०७७ पुष ५ गते निर्वाचन आयोगले मतदाता नामावली जारी गरेपश्चात् गएको पुस मसान्तसम्ममा प्रदेश निर्वाचन कार्यालय हेटौंडामा मात्र अभियानबाहेकको समयमा मकवानपुर जिल्लाका ५ हजार ४ सय १७ जना महिला र ६ हजार ६ सय ७७ जना पुरुष गरी १२ हजार ९४ जनाले कार्यालयमै आएर मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । नाम दर्ता गराएकामध्ये हालसम्म २२ जनाको नाम रुजु गर्ने क्रममा दोहारो देखिएको कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन अधिकारी पोखरेलका अनुसार उक्त २२ जनाको नाम एकै स्थानीय तहको एकै मतदान केन्द्रमा दोहारिन पुगेको हो । उक्त व्यक्तिहरुले पहिले पनि मतदाता नामावलीमा नाम दर्ता गराइसकेको अवस्थामा पुनः दर्ता गराएकाले यस्तो देखिन पुगेको उहाँले बताउनुभयो ।

यस्तै नाम दर्ता गराएकामध्ये १ हजार १ सय जनाको नाम भने डुब्लिकेशनमा परेको पनि उहाँले बताउनुभएको छ । उक्त व्यक्तिहरुको भने अन्य जिल्लामा अथवा जिल्लाकै अन्य स्थानीय तहमा अथवा अन्य मतदान केन्द्रमा तथा आमाबुवाको नाम फरक पर्न गएको अवस्थामा डुब्लिकेशन देखिएको जनाइएको छ । यसैगरी नामदर्ताकै क्रममा देशका ४१ जिल्लाका ४ सय ७६ जनाले मकवानपुरबाट मतदान गर्नका लागि नामसारी गरेका छन् । जसमा बारा जिल्लाका सबैभन्दा बढी १ सय ६ जनाले बारा जिल्लाबाट मकवानपुरमा आफ्नो नाम सारेका हुन् । उक्त जिल्लाहरुबाट बिहेगरी आएका अथवा बसाइँ सरी आएकाहरुले नाम सार्न निवेदन दिएको पनि प्रदेश निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नामसारी गर्न दिएकाहरुका नाम सम्बन्धित जिल्लामा कट्टा गर्न पठाइनेछ भने उक्त जिल्लाहरुले नाम कट्टा गरेको जानकारी दिएपछि मकवानपुरबाट मतदान गर्न पाउनेछन् ।

मकवानपुर जिल्लाका मात्र नभएर अन्य जिल्लाका स्थायी बासिन्दा भएर हाल मकवानपुरमा बसोबास गरिरहेका नागरिकहरुले पनि आफ्नै जिल्लालाई मतदान केन्द्र बनाएर मकवानपुरबाट नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउने अन्य जिल्लाका ३ सय ३४ जना रहेका छन् । निर्वाचन आयोगले मतदाता नामावली दर्ता गराउन आफ्नो जिल्ला पुग्न नसक्नेहरुका लागि जहाँ छ त्यहीँबाट नाम दर्ता गराउन सकिने व्यवस्था गरेकाले पनि अन्य जिल्लामा अस्थायीरुपमा बसोबास गर्नेहरुलाई सहजता प्रदान भएको प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले बताउनुभयो ।

निर्वाचन आयोगले गत वर्षको पुसमा जारी गरेको मतदाता नामावलीमा मकवानपुर जिल्लामा २०७४ सालमा भएको संघीय र प्रदेशसभाको चुनावमा भन्दा १६ हजार ८ सय ३२ जना मतदाता वृद्धि भएका छन् । उक्त तथ्याङ्कका आधारमा मकवानपुरमा १ लाख ३७ हजार ९ सय ८ जना महिला, १ लाख ३४ हजार ५ सय ५९ जना पुरुष र ६ जना तेस्रो लिङ्गीसहित कुल २ लाख ७२ हजार ४ सय ७३ जना मतदाता रहेका छन् । २०७४ सालमा १ लाख २९ हजार ६ सय २८ जना महिला, १ लाख २५ हजार ९ सय ७० जना पुरुष र ६ जना तेस्रो लिङ्गीसहित कुल २ लाख ५५ हजार ६ सय ४१ जना मतदाता रहेका थिए ।

यद्यपि पछिल्लो एक वर्षमा थप दर्ता भएका तथा हाल भइरहेकाहरुको नामावली निर्वाचन आयोगबाट प्रमाणीकरण भएर आउन बाँकी रहेको छ । सरकारले आगामी चुनावको मिति घोषणा गरेपछि मतदाता नामावली संकलन रोकिने र त्यस अवधिमा नाम दर्ता गराएकामध्ये १८ वर्ष पूरा भएकाहरुको तथा अन्य पक्रिया पुगेकाहरुको प्रमाणीकरण भएर आएपछि मात्र आगामी चुनावमा कुल मतदाता संख्या यकिन हुने जनाइएको छ । सरकारले चुनावको मिति घोषणा नगरेसम्म मतदाता नामावली दर्ता कार्य जारी रहने पनि प्रदेश निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।

मतदाता नामावली दर्ता गराउन पछिल्लो समय कार्यालयमै नागरिकहरुको उत्साहजनकरुपमा सहभागिता रहेको उहाँले बताउनुभएको छ । नाम दर्ता गराउन आएकाहरुको कार्यालय समय सकिएपनि अबेरसम्म बसेर कार्यालयमा आएका सबैको नाम दर्ता गर्ने गरेको उहाँको भनाई छ । तर पालिका तहमा आयोजना गरिएको अभियानमा भने सोचेअनुरुप उपस्थिति नरहेको पनि पोखरेलले बताउनुभयो । छोटो समयका लागि मात्र अभियान सञ्चालन भएकाले पनि सबैले नाम दर्ता गराउन नसकेको हुनसक्ने पनि उहाँले आँकलन गर्नुभएको छ । पालिकागत अभियान सकिएपनि विभिन्न पालिकाहरुबाट गाडी रिजर्भ नै गरेर मतदाता नामावली संकलन गराउन कार्यालयमै जिल्लाबासी नागरिकहरु आउँदा सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुले पनि आवश्यक समन्वय गरेको उहाँले बताउनुभएको छ ।