हेटौंडाः मकवानपुरमा आज सोमबार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा कोरोना परिक्षण गराएका ४९२ जनामध्ये ३३ दशमलब ७४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालयका अनुसार पिसिआर विधिबाट १ सय ३५ जनाको परीक्षण गर्दा ९३ जनामा र एन्टिजेन विधिबाट ३ सय ५७ जनाको परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा १४० जना हेटौंडा उपमहानगरपालिका रहेका छन् । यसैगरी थाहा नगरपालिकाका १२ जना, मनहरी गाउँपालिकाका ११ जना, मकवानपुगढी गाउँपालिकाका २ जना र बकैया गाउँपालिकाका १ जना रहेका छन् । ंमकवानपुरमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५९ हजार १ सय ८७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नै होम आइसोलेसनमा उपचाररत हेटौंडाका १३ जना र मनहरीका ७ जना गरी २० जना कोरोनामुक्त भएका छन् । योसँगै जिल्लामा हाल १ हजार ७ सय १७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । जसमा १० जना संस्थागत आईसोलेसनमा र १ हजार ७ सय ७ जना होम आईसोलेसनमा नै रहेर उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संस्थागत आइसोलेसनमा रहेका १० जना हेटौंडाका हुन् भने होम आइसोलेसनमा हेटौंडाका १ हजार २ सय ३४ जना, मनहरीका २ सय ५ जना, मकवानपुरगढीका १ सय जना, थाहाका ९३ जना, बकैयाका ४० जना, भीमफेदीका २० जना, कैलाशका ६ जना, इन्द्रसरोबरका ५ जना तथा बागमती र राक्सिराङका २/२ जना रहेका छन् ।