सुत्केरी पत्रकार सुनिता विष्टलाई भेट्दै पत्रकार संघ, संगठनका पदाधिकारीहरु ।

हेटौंडाः सुत्केरी पत्रकारलाई पोषण, न्यानो कपडा र भत्ता दिइएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर, प्रेस सेन्टर मकवानपुर, सञ्चारिका समूह मकवानपुरले एकसाथ मकवानपुरकी एक महिला पत्रकारलाई सुत्केरी भएको बेला भेटेर पोषिलो खानेकुरा, न्यानो कपडा र नगद सहयोग गरेको हो ।

सुत्केरी भएर आराम गरिरहेकी मकवानपुरकी पत्रकार सुनिता विष्टलाई मंगलबार भेटेर नगद ५ हजार रुपैयाँसहित पोषिलो खाद्यवस्तु र न्यानो कपडा हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर मकवानपुरले महिला पत्रकार सुत्केरी हुँदा सहयोगस्वरुप नगद तथा पोषिलो खानेकुरा कोसेली दिने कार्य सुरु गरेको हो । यस्तै पत्रकार महासंघ मकवानपुरले पनि सुत्केरी विष्टलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराएको छ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, मकवानपुर जिल्लाका अध्यक्ष मणिराज गौतम, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापा, संचारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजालसहित पत्रकारको एक टोलीले मंगलबार सुनिता विष्टलाई भेटेर नगदसहित सहयोग सामग्री हस्तान्तरण गरेको हो ।