मेलवादेवीको चित्र ।

नेपाली आधुनिक संगीतको अभिलेखमा देखापर्ने अर्थात् गायनको डिस्क रेकर्ड गर्ने प्रथम गायिका हुन् मेलवादेवी गुरुङ । पिता ज्ञानबहादुर गुरुङ र माता सपना गुरुङकी छोरीको रुपमा वि.सं. १९५९ साल ओखलढुंगा जिल्लाको रुम्जाटारमा जन्मनु भएकी गुरुङ सानैदेखि गीत गाउन रुचाउँथिन् । त्यसैले उनलाई राणाका दरबारमा गायिकाका रुपमा भर्ना गर्न उनकी आमा र दिदी बलमाया गुरुङ १९६५ सालतिर काठमाण्डौं पसेका थिए । चन्द्र शमशेरको दरबारमा दाखिला भएपछि मेलवादेवीको औपचारिक सांगीतिक इतिहास आरम्भ भएको थियो ।

मेलवादेवीले श्री ३ चन्द्र शमशेरको दरबारमा गीत गाउन थालिन् । उनी दरबारको रंगमञ्च, समारोहका अतिरिक्त चन्द्र शमशेर सँग–सँगै जंगलमा पुगेर समेत गीत गाउँथिन् । मेलवादेवीको कोकिल स्वरलाई विराट स्वरुप प्रदान गर्न चन्द्र शमशेर मग्न थिए । त्यसैले मेलवादेवीलाई ख्यातिप्राप्त उस्ताद बालाप्रसाद शर्मा, गणपत डुण्डे खाँ, खेमचन्द्र आदिबाट शास्त्रीय संगीतको गायनमा तालिम दिन पनि थालियो । चन्द्र शमशेरका पाहुनापासा आउँदा पनि सिंहदरबार बेलायती बैठकमा झकिझकाउका साथ मेलवादेवीलाई उपस्थित गराइन्थ्यो । मेलवादेवी अतिथिको रुचीअनुसार शास्त्रीय, आधुनिक भजन, लोकगीत र नेवारी गीत समेत गाउने गर्थिन् ।

रजनी पौडेल

मेलवादेवीको स्वरको ईष्र्या गर्नेहरुको ताँती पनि थियो । चन्द्र शमशेरकी मनपर्ने गायिका भएका कारण सिंहदरबारमा मेलवादेवीको औपचारिक सुरक्षाचाहिँ देखिन्थ्यो । त्यसबेला उनलाई पुरुष वर्गले प्रत्यक्ष सम्पर्क गर्नु, प्रेम गर्नु र स्नेह देखाउनु भनेको बाघसँग कुस्ती खेल्नुसरह थियो । यसैक्रममा तबलावादक भक्तकृष्ण मानन्धर पनि मेलवादेवीको कला, रुप र धनसम्पत्तिप्रति त्यति नै आशक्त थिए । कोकिल स्वरकी धनी मेलवादेवीले पाली, हिन्दी, नेवारी, बंगाली, उर्दु भाषामा समेत गीत गाएकी थिइन् ।

औपचारिक रुपमा वि.सं. १९८५ को छेकातिर मेलवादेवीले गीत रचेको देखिन्छ । आउन बसौं पियारी मिरमिरे भ्mयालैमा, हाइ मेरो परदेशी पिरतम छोडेर जानु भो, यो जिन्दगीको के भरोसा, माया मारी निष्ठुरीले छानी छानी रस लिएर, न घरलाई घर कहिन्छ लगायतका गीत गाएर सबैको मनमस्तिष्कमा बस्न सफल भएकी मेलवादेवीको सवारी मेरो रेलैमा बोलको गीत भने आप्mनै जीवनमा घटेको घटनामा आधारित भएर गायिका स्वयम्कै शब्द रचना, संगीत र स्वरमा रेकर्डिङ भएको पहिलो नेपाली गीत रेकर्ड थियो ।

मेलवादेवीकी छोरी विमला दिक्षितका अनुसार “मेरी आमाको स्वरमा महाराज चन्द्र शमशेरका साइला छोरा हिज हाइनेस केशर शमशेर पनि भुतुक्कै हुन्थे । त्यसैले एकदिन टन्टलापुर घाम लागेकै बेला केशर शमशेरले आमालाई भने अब यस्तो बेलामा गीत गाएर पानी पार्न सक्छ्यौ ? त्यसबेला आमाको प्रतिउत्तर थियो, “पानी कति मात्रामा पर्छ त्यो म भन्न सक्दिन तर आकाशमा बादल आउँछ । लौ तिमीले भनेका कुरा पुग्यो भने म तिमीलाई ५ हजार रुपैयाँ दिन्छु । आमाले डेढ घण्टाजति गीत गाएपछि आकाशमा बादल लाग्न थाल्यो र पानी पर्न थाल्यो । अनि केशर शमशेरले स्याबास् भन्दै आमालाई बक्सिस दिए ।” यसरी प्रकृतिलाई समेत पगाल्न सक्ने जादुगरी उनको स्वरमा रहेको पाइन्छ ।

उनको जादुमय स्वरलाई देखेर आहारिस गर्नेहरु पनि उत्तिकै थिए । उनलाई पानमा सिन्दुर हालेर खान दिएकाले उनको स्वर भास्सिँदै गयो । बेलायतबाट डाक्टर झिकाएर उपचार गराएता पनि उनको स्वरमा कुनै सुधार हुन सकेन । यसरी दिक्क भएकी मेलवादेवी दरबार छोडी काठमाण्डौंको विजयस्वरीमा बस्न थालिन् । चन्द्र शमशेरबाट थुप्रै धन, जवाहरत पाएकी मेलवादेवीले उनै तबलावादक कृष्णभक्त मानन्धरसँग विवाह गरिन् । गुरुङसँग वैवाहिक सम्बन्ध गाँसेकै कारण मानन्धर समाजबाट वहिस्कृत भए । वैवाहिक सम्बन्ध बिग्रिन गएपछि शुक्रराज शास्त्रीको सल्लाहमा दुई छोरीलाई साथमा लिएर रेलमार्गद्वारा कलकत्ता पुगिन् । स्वतन्त्र जीवन बाँच्न पाउँदा उनी त्यहाँ हुने गरेका सांगीतिक सभा समारोहमा सहभागी हुन थालिन् । मारवाडी विद्यालयमा सांगीतिक गुरुमा भएर समेत काम गरिन् र उनलाई इलाहावाद संगीत सम्मेलनले ठुम्रिकी रानी दर्जा समेत दिएर सम्मानित गर्‍यो ।

जीवनको उत्तराद्र्धमा आफ्नो नाम सुलभा राखेकी मेलवादेवीले जीविकोपार्जनका लागि आप्mना कोठामा संगीतको कक्षा पनि सञ्चालन गरेकी थिइन् । यसरी उतारचढावका जीवन भोगाईलाई संगाल्दै संघर्ष गरिरहेकी गुरुङ खाना पकाउने समयमा स्टोभ पड्किएर वि.सं. २०१२ को मंसिरमा मृत्युवरण गर्न पुगिन् ।