हेटौंडाः किसानले उब्जनी गरेको तरकारी बिचौलिया हुँदै उपभोक्तासम्म आइपुग्दा ग्राहकले करिब दोब्बरसम्म मूल्य तिर्नुपर्ने हुन्छ । तरकारीको व्यापारमा धेरै बिचौलियाहरु संलग्न हुँदा उपभोक्ताले महंगो मूल्य तिर्न बाध्य हुनुपरेको हो ।

किसान वा थोक व्यापारीबाट तरकारी किनेर अन्य व्यापारीलाई बिक्री गर्ने एक तहको मध्यस्थकर्ता (बिचौलिया)ले मात्रै ३० प्रतिशतसम्म नाफा लिई तरकारी बिक्री गने गरेको पाइन्छ । बागमती प्रदेशको राजधानी हेटौंडाको बसपार्कस्थित तरकारी तथा फलफूल थोक बजारमा मंगलबारको तरकारीको मूल्यलाई हेर्दा ३० प्रतिशतभन्दा बढी नाफा लिई बिक्री गरिएको पाइएको हो ।

तरकारी बजारमा थोक व्यापारीले होलसेल मूल्य ९० रुपैयाँमा किनेको गोलभेँडा एक सय ररुपैयाँमा बिक्री गरेका छन् । ५५ ररुपैयाँमा किनेको काउली ७० ररुपैयाँ एवम् ४० रुपैयाँमा किनेको मुला ५० रुपैया“मा बिक्री भइरहेको थोक व्यापारी माया लामाले जानकारी दिनुभयो । लामाका अनुसार १ सय ३० रुपैयाँमा किनेको भेँडे खुर्सानी १ सय ५० रुपैयाँ, ९० रुपैयाँमा किनेको ब्रोकाउली एक सय रुपैयाँ, ४० रुपैयाँमा किनेको बोडी ५० रुपैयाँमा बिक्री गरिएको छ । यसैगरी ३० रुपैयाँमा किनेको फर्सी ४० रुपैयाँ १ सय ६० रुपैयाँमा किनेको च्याउ १ सय ८० रुपैयाँ तथा १ सय २० रुपैयाँमा किनेको गाँजर १ सय ४० रुपैयाँमा बिक्री भएको लामाले बताउनुभयो । ६० रुपैयाँमा किनेको हरियो खुर्सानी ८० रुपैयाँ तथा ४० रुपैयाँमा किनेको घिउसिमी ५० रुपैयाँ मूल्य रहेको लामाले जानकारी दिनुभयो ।

यस्तै ५० रुपैयाँमा किनेको अदुवा ६० रुपैयाँ, ४० रुपैयाँमा किनेको भन्टा ५० रुपैयाँ, ३५ रुपैयाँमा किनेको बन्दा ४५ रुपैयाँ, २ सय १० रुपैयाँमा किनेको लसुन २ सय ३०रुपैयाँ, ४० रुपैयाँमा किनेको बरेला ५० रुपैयाँमा बिक्री गरिएको छ । लामो समयदेखि थोक व्यापार गर्दै आउनुभएका लामा भन्नुहुन्छ— ‘केही वर्षअघिको तरकारी मूल्यलाई हेर्दा ५० प्रतिशतभन्दा बढी तरकारीको मूल्य बढेको छ ।’ किसानले १ सय ५० रुपैयाँमा बिक्री गरेको च्याउ बिचौलिया हुँदै तरकारीको थोक बजारबाट १ सय ८० रुपैयाँमा बिक्री हुने गरेको लामाले जानकारी दिनुभयो ।

तरकारीको मूल्य दैनिकजसो घटबढ भएपनि केही दिनदेखि भने मूल्य उस्तै रहेको लामाले बताउनुभयो । किसानले राम्रो तरकारी उब्जनी गर्न सकेमात्र राम्रो मूल्य पाउने नभए किसानले घाटा व्यहोर्नुपर्ने लामाको भनाइ छ । अहिले पनि किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । हेटौंडाको बसपार्कमा रहेको तरकारी तथा फलफूल थोक बजार अन्यत्र सारिने भएको छ । अहिले तरकारी बजार रहेको ठाउँमा हेटौंडा उपमहानगरपालिकाले बसपार्क निर्माण गरिरहेका कारण तरकारी तथा फलफूलको थोक बजार अन्यत्र सार्न लागिएको हो ।