वरिष्ठ गायक तथा सङ्गीतकार फत्तेमान राजभण्डारीको जन्म वि.सं. १९९३ साल मंसिर महिनाको १३ गते बाजाटोल काठमाडौंमा भएको हो । बुवा जीतमान राजभण्डारी र आमा पूर्णमाया राजभण्डारीको तेस्रो सन्तानका रुपमा जन्मिएका फत्तेमान सानैदेखि बुवाको तबलाको तालमा रमाउँदै हुर्किए । बुवा तबलावादक भएकै कारण घरमा हुने साङ्गीतिक जमघटले फत्तेमानलाई साङ्गीतिक क्षेत्रमा लाग्ने प्रेरणा प्रदान गर्यो । भजनबाट सुरु भएको फत्तेमानको साङ्गीतिक यात्रा अन्तत नेपाली आधुनिक गीत सङ्गीत क्षेत्रमा ओजपूर्ण कला भएका गायकका रुपमा स्थापित हुनपुगे ।
वि.सं. २०१८ सालदेखि रेडियो नेपालको स्टेशनबाट उदाएका गायक फत्तेमान त्यसपछिका दिनहरुमा कहिल्यै विचलित हुनुपरेन । यादब खरेलको शब्द रचनामा नातिकाजीले सङ्गीत दिनुभएको ‘यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले कहिले’ बोलको गीतले नै फत्तेमानलाई सर्वाधिक चर्चाको शिखरमा पु¥यायो । २०२२ सालतिर नातिकाजीले यो गीत फत्तेमानलाई गाउन प्रस्ताव गरेका थिए । रेडियो नेपालमा कहिल्यै नदेखिएका फत्तेमानलाई गीत गाउन दिँदा गीत बिगारिदिने पो हो कि भन्ने शङ्का खरेलमा हुँदाहुँदै पनि नातिकाजीको आग्रहमा सो गीत फत्तेमानलाई नै गाउन दिएका थिए । धेरै दिनसम्मको लामो अभ्यासपछि रेडियो नेपालले आयोजना गर्ने गरेको राष्ट्रिय गायन प्रतियोगिता २०२५ मा फत्तेमान उत्कृष्ट गायकका रुपमा छानिए । यहि गीतले नै यादब खरेल गीतकारका रुपमा स्थापित हुनपुगे भने नातिकाजी उत्कृष्ट सङ्गीतकार बनेर देखापरे ।
फत्तेमानले वि.सं.२०१८ सालतिर काठमाडौं भाटभटेनीस्थित मोर्डन इङ्लिश स्कूलमा सङ्गीतको प्रशिक्षक भएर काम गरे । वि.सं. २०२२ देखि २०३२ सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको सङ्गीत शाखामा रहेर पनि काम गरे । त्यस्तै वि.सं. २०३४ देखि २०३६ सम्म रेडियो नेपालको सङ्गीत शाखामा अस्थायीरुपमा रहेरसमेत काम गरेका थिए । अधिकांश समय गीत सङ्गीतमै रमाउने फत्तेमानले ४ सयभन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङ्गीत दिएका छन् । उनका केहि लोकप्रिय गीतहरुमा तिमीलाई कहिल्यै थाहा छैन, यस्तो पनि हुँदो रै’छ जिन्दगीमा कहिले कहिले, सान्नानीको गालैमा कालो कोठी रै¥छ, बनै खायो डढेलोले, रातो र चन्द्र सूर्य आदि हुन् । वि.सं. २०१३ सालमा कवि बासु शशीको नाटकमा गीत रचना गर्नुभएका फत्तेमानले रेडियो नेपालमा आधुनिक, लोकगीत, भजन, राष्ट्रिय गीतलगायत केहि फिल्मी गीतमा समेत आफ्नो आवाज दिएका थिए ।
सुखद् बाल्यकाल बिताएका फत्तेमानले दरबार हाइस्कूलमा केहि समय अध्ययन गरिसकेपछि पद्मोदय हाइस्कूलमा भर्ना भए । विविध कारणले उच्चशिक्षाको पढाइलाई अधुरो छोड्दै उनी सङ्गीत सिर्जनामै लागिरहे । भारतीय सङ्गीतकार गुरुदासको सम्पर्कमा पुगेका फत्तेमानले गुरुदासबाट सङ्गीतको प्रशिक्षण लिएपश्चात् सङ्गीत नाटक एकेडेमीमा सामेल भएर ४ वर्षसम्म सङ्गीत सिर्जना गर्ने कार्यमा लागे । फत्तेमान शब्दमा डुबेर गीत गाउने हुनाले उनको आवाजमा सजिएका जुनसुकै गीत पनि जीवन्त बनेर चर्चाको शिखरमा पुग्थ्यो । यसकै परिणामस्वरुप वि.सं. २०३५/३६ सालतिर नेपाली साङ्गीतिक फा“टमा फत्तेमानको आवाजले एकछत्र राज गरेको पाइन्छ । शिवशंकर, नातिकाजी र नारायण गोपालको संगीतमा फत्तेमानले थुप्रै गीतहरु रेकर्ड गराएका छन् ।
वि.सं. २०१६ सालमा जमुना राजभण्डारीस“ग विवाह गरी पा“च सन्तानका पिता बनेका राजभण्डारीले २० ओटा साङ्गीतिक धुनको समेत रचना गरेका थिए । राजदरबारमा हुने साङ्गीतिक समारोहमा सहभागी भएर गीत गाउने राजभण्डारीले राजा महेन्द्रको हातबाट गोल्डेन तक्मासमेत पाएका थिए । बुढ्यौली उमेरमा समेत स्वरको ओजलाई कायमै राखेका फत्तेमानले वि.सं. २०५९ साउन २५ गते नेपाल टेलिभिजनमार्फत् एकल सा“झ कार्यक्रममार्फत् प्रत्यक्ष प्रसारणमा रहेर थुप्रै गीतहरु गाएका थिए । नेपाली साङ्गीतिक क्षेत्रमा सिङ्गो जीवन खर्चेका फत्तेमान राजभण्डारीको योगदानको कदरस्वरुप उनलाई २०५२ को छिन्नलता पुरस्कार, शुभराज्याभिषेक २०३९, प्रबल गोर्खा दक्षिण बाहु २०५५, वीरेन्द्र ऐश्वर्य सेवापदक २०५८, शम्भुप्रसाद मिश्र स्मृति पुरस्कार २०५९, भूपालसिंह सङ्गीत पुरस्कार २०६१ लगायत अन्य थुप्रै सम्मान र पुरस्कारद्वारा पुरस्कृतसमेत गरिएको थियो ।
सक्रिय जीवनको लामो समय सङ्गीत क्षेत्रमा बिताएका फत्तेमान जीवनको उत्तराद्र्धमा आइपुग्दै गर्दा फोक्सोको क्यान्सरजस्तो जटिल रोगले च्याप्दै लगेपछि अन्ततः २०७० को भदौ २५ गते भौतिक संसारबाट बिदा भए ।