हेटौंडाः मकवानपुरमा पछिल्लो समयमा पनि घरेलु हिंसाका घटनाहरु उत्तिकै हुने गरेको छ । लैंगिक हिंसाअन्तर्गत् नै पर्ने घरेलु हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरी जनचेतना फैलाउने कार्य भएपनि जिल्लामा घरेलु हिंसासँगै जबरजस्ती करणी, जबरजस्ती करणी प्रयास, बहुबिवाह, बाल यौन दुव्र्यवहार तथा आत्महत्याका घटनाहरु उत्तिकै भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार चालु आर्थिक वर्ष (आव) २०७८/०७९ को पहिलो चौमासिकमा १ सय ५२ वटा घरेलु हिंसासम्बन्धी मुद्धा कार्यालयमा दर्ता भएका छन् । जुन गत आवको तुलनामा झनै बढेको देखिएको छ । गत आव २०७७/०७८ मा कुल २ सय ७६ वटा मुद्धा दर्ता भएका थिए भने २ सय ३६ मु्द्धाको फछ्र्यौट भएको पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जसका आधारमा चालु आवमा घरेलु हिंसाको घटना लगभग २ गुणाले बढ्न आएको देखिन्छ ।
गत आवको तुलनामा मात्र नभएर यसअघिका अरु दुई आवहरुमा भन्दा पनि चालु आवमा घरेलु हिंसाको घटना झनै बढेको छ । आव २०७६/०७७ मा पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा घरेलु हिंसाको २ सय ७६ वटा मुद्धा दर्ता भएको तथ्यांक छ भने आव २०७५/०७६ मा घरेलु हिंसाका घटनामा ४ सय १७ वटा मुद्धा दर्ता भएका छन्, जसमा क्रमशः २ सय ५० र ३ सय ५१ वटा मुद्धाको फछ्र्यौट भएका छन् । उक्त तथ्यांकले पनि जिल्लामा झन्झन् घरेलु हिंसाका घटनाहरु बढ्दै गएको पाउन सकिन्छ । चालु आवमा दर्ता भएका १ सय ५२ मुद्धामध्ये १ सय ६ वटा मुद्धाको फछ्र्यौट पनि भएको छ ।
घरेलु हिंसाका घटनामा वृद्धि भएपनि मानव बेचबिखनका घटनाका मुद्धा भने गत आवदेखि नै शून्यमा झरेको तथ्यांकले देखाएको छ । यसअघिका २ आवमा कुल ६ वटा मानव बेचबिखनका घटनामा मुद्धा दर्ता भएको थियो । यस्तै जबरजस्ती करणीका घटना पनि घट्दो क्रममा रहेको छ । यद्यपि चालु आवको पहिलो चौमासिकसम्ममा १५ वटा जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । गत आवमा मात्र ५८ वटा मुद्धा दर्ता भएका थिए भने त्यसअघिका २ आवमा क्रमशः ३२ र ३६ गरी कुल ६८ मुद्धा दर्ता भएको थियो ।
लैंगिक हिंसाअन्तर्गत् नै जबरजस्ती करणीको प्रयासका घटनाहरु चालु आवमा पनि गत आवकै तुलनामा बराबरजस्तै रहेको छ । गत ३ आवमा क्रमशः ८, ८ र ५ गरी २१ वटा मुद्धा दर्ता भएका थिए भने चालु आवको पहिलो चौमासिकसम्ममा ३ वटा घटनाका मुद्धा दर्ता भएका छन् । बहुविवाहका मुद्धाहरु आव २०७५/०७६ मा २७ वटा दर्ता भएकोमा त्यसपछिको २ आवमा घटेर ८/८ वटा मुद्धा दर्ता भएका थिए । यस्तै चालु आवमा ३ वटा बहुबिवाहका मुद्धा दर्ता भइसकेका छन् । जसलाई प्रतिशतका हिसाबले तुलना नै गर्ने हो भने केही बढेको देखिएपनि संख्यात्मक हिसाबले त्यति धेरै देखिँदैन ।
बाल यौन दुव्र्यवहारका घटनाहरु जिल्लामा अझै पनि एकाध संख्यामा देखिने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक (असई) अन्जनाकुमारी उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार आलु आवमा हहालसम्म ३ वटा बाल यौन दुव्र्यवहार घटनाका मुद्धा नै दर्ता भएका छन् । गत ३ आवमा पनि उक्त घटनाका मुद्धा संख्या क्रमशः ७, ८ र ६ रहेका छन् । बोक्सीको आरोपसम्बन्धी घटनाका मुद्धा भने गत आवमा एउटामात्र दर्ता भएको थियो भने त्यसअघिका दुई आवमा तथा चालु आवमा पनि उक्त घटनाका विषयमा मुद्धा नपरेको असई उप्रेतीले बताउनुभयो ।
यसैगरी आत्महत्या पनि लैंगिक हिंसाकै कारण हुने यससम्बन्धी काम गर्ने विभिन्न संस्थाहरुले बताउ“दै आएका छन् । चालु आवमा हालसम्म आत्महत्याका १९ वटा घटनाहरु जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएका छन् । जुन तुलनात्मकरुपमा गत आवहरुमा भन्दा घटेको देखिन्छ । चालु आवमा १३ वटा आत्महत्याका घटना झुन्डिएर भएका छन् भने ५ वटा विष सेवन र एउटा खोलामा हाम फालेर भएको पाइएको छ । गत आवहरुमा खोलामा हाम फालेर आत्महत्या गर्नेको संख्या शून्य नै रहेको छ भने आव २०७५/०७६ मा ४३ जना झुन्डिएर तथा ३८ जनाले विष सेवन गरी आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी आव २०७६/०७७ र २०७७/०७८ मा क्रमशः २९ र ३८ जना झुन्डिएर तथा ३८ र ३५ जनाले विष सेवन गरी आत्महत्या गरेको पाइएको छ ।
यी घटनाहरुमा अधिकतम महिलाहरु पीडित भएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । यस्ता विभिन्न किसिमका लैगिक हिंसाका घटनाहरुमा धेरै संख्यामा महिलाहरुका साथै केही पुरुष तथा अल्पसंख्यकहरु पनि रहेको उहाँको भनाई छ । आत्महत्याका घटनामा अधिकतम महिलाहरु नै रहेको पनि उहाँले बताउनुभयो ।
साथै घरेलु हिंसाका घटनाहरु ग्रामीण क्षेत्रमा अत्यधिक हुने गरेपनि जनचेतनाको अभाव तथा प्रहरी कार्यालयसम्म पुग्ने सहजता प्राप्त नहुँदा केही कम संख्यामा मात्र मुद्धा दर्ता हुने भए पनि शहरी क्षेत्रमा भने हिंसा हुनेबित्तिकै मुद्धा दर्ता भइहाल्ने गरेको उहाँले बताउनुभएको छ । बहुबिवाहका घटनामा पुरुषहरु पनि पीडित भएपनि उनीहरुले आवश्यक प्रक्रिया पुर्याएर सम्बन्धविच्छेद गर्ने गरेको तर महिलाहरु भने त्यो अवस्थासम्म गइहाल्न पनि धेरैले नसक्ने भएकाले पीडित भएर मुद्धा दर्ता गर्ने गरेको पनि प्रवक्ता रिमालले जानकारी दिनुभयो ।
घरेलु हिंसा न्यूनीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु निर्माण गर्दा ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउँदा राम्रो हुने देखिन्छ । ग्रामीण क्षेत्रका पीडितहरुलाई आवश्यक समन्वय गर्न तथा जनचेतना फैलाउनका लागि पनि उक्त स्थानहरुमा नै कार्यालय स्थापना गरी दैनिकजसो ग्रामीण भेगका नागरिकहरुको समस्याहरुलाई सुनेर आवश्यक सल्लाह र समन्वय गर्नु उचित हुनसक्दछ ।