हाम्रो शरीरको आधार-मेरुदण्डः हाम्रो ढाडको हाड वा मेरुदण्ड नै शरीरको मुख्य आधार हो । मध्यमा स्थित ३२ वटा हाडहरुको बनेको र बीचमा नरम कलिलो हाडको डीस्कबाट अलग्याएको हुन्छ । यसले शरीरको भारलाई बहन गर्छ । उभिदा,बस्दा,झुल्दा,झुक्दा विभिन्न दिशाहरुमा शरीरलाई गतिशील र सन्तुलनमा राख्दछ । प्रत्येक हाडभित्र रहेको प्वालभित्र मस्तिष्कको पुच्छर जस्तो मज्जा रज्जु कम्मरको हाडसम्म हुन्छ । यसबाट निस्कने नशाहरुले भित्र र बाहिर दुखाई,तापमान(चिसो-तातो) र दबाव जस्ता संवेदन तथा आदेशको बहन गर्दछ । गतिलाई नियन्त्रित गर्दछ ।
शरीरको सन्तुलन र स्थितिको नियमनः मानव शरीरले विभिन्न अवस्थाहरुमा रहन सक्छ । यसमा बसेको उभेको र सुतेको मुख्य छन् । यिनमा समग्र शरीरको सन्तुलन बनाएर राख्नमा मेरुदण्डको भूमिका ठूलो हुन्छ । भौतिक विज्ञानले हामीलाई के सिकाउँछ भने शरीरको सन्तुलन बनाएर राख्नको लागी गुरुत्वाकर्षण रेखा दुई पैँतालाको बीचमा हुनुपर्दछ । यस अवस्थामा शरीरको स्वाभाविक स्थिति रहे भने ढाडका मांसपेशीहरुमा कम दबाव र तनाव पर्दछ र शरीरको भार समान रुपले सबै ३२ ओटा मेरुदण्डका भट्रेब्रा(हाड)हरुमा वित्तरीत हुन्छ । यसकारण कम्मर,पिठ्ँयु कम दुख्छ ।
पिठ्ँयु दुख्ने कारणः जब मान्छेले अगाडि पट्टि झुक्छ,शरीरको गुरुत्वाकर्षण केन्द्र दुई पैँतालाको ठिक्क मध्यमा नरहेर अगाडि सरेको हुन्छ । परिणामतःशरीरको सन्तुलन बिग्रिन्छ । यसलाई साम्यावस्थामा ल्याउनको लागि मेरुदण्डको वरिपरि भएका मांसपेशीहरु तालमेल मिलाउन प्रयास गर्छन । यसैकारण तनाव भएर पिठ्यूको दुखाई सुरु हुन्छ । कसैले भन्छन् आफ्ना पूर्वज बान्दर जस्तो चारखुट्टाबाट दुई खुट्टामा उभिने अवस्था प्राप्त गरेपछि यस्तो दुखावा स्वाभाविकै छ ।
शरीरको सहि स्थिति (पोस्चर) को आवश्यकताः प्राकृतिक विकासक्रममा उत्क्रान्तिवाद अनुसार दुई खुट्टामा उभिने र हिँड्ने मानव भइसकेपछि मनुष्यले सबै अवस्थामा (बस्दा,सुन्दा,वा हिँड्दा) ढाडलाई सधै सिधा राख्नु पर्छ । पिठ्युँ दुख्नु जस्ता ढाडका समस्याहरु हाम्रो बस्ने,सुत्ने वा हिँड्ने सटिक बानीको अभाव नै हो ।
सहि सुत्ने अभ्यासः अतिश्रम वा हिँडाइको कारणले भएको पिठ्युँको दुखाईमा ओछ्र्र्यानमा सुतेपछि अलिकति आराम पाइन्छ । तर धेरैजसो व्यक्तिहरुको आराम गर्ने वा सुत्ने बानी-पूरै ओछ्यान भरि या आमाको गर्भमा रहेको जस्तो खुम्चेको अवस्थापछि उठेर दुखाई पहिले जस्तै पाइन्छ । यसैले सुत्ने सहि पोजिसन हो उत्तानो वा दाहिने कोल्टेमा मेरुदण्ड सिधा राखेर सुत्ने । यसले शरीरका सबै मांसपेशीहरु र स्नायु नशाहरुलाई आराममा राख्छ,साथै देब्रे नासिका स्वर खुल्नाले शुक्ष्म शक्ति नाडी (इडा) सक्रिय हुन्छ ।यसकारण निन्द्रा सपना बिनाको र मनप्राण शान्त रहन्छ ।
मेरुदण्डका रोगबाट बच्ने योगिक शैलीः ऐतिहासिक राजाहरु वा धार्मिक देवी-देवताहरुको शरीर अवस्था चित्र वा मूर्तिहरुमा सधैँ ठाडो देखाइन्छ । यो नै उनीहरुको शरीर मानसिक फूर्ति र दीर्घजीवनको रहस्य हो । अहिलेका विद्यार्थी,कर्मचारी,व्यापारी,कारिगरहरु तीस उमेर पुगेपछि ढाड द
दुखाईको कुरा गर्छन् । सीधा उभेपछि घुडा नबंग्याइकन भूइलाई वा खुट्टाको औँलालाई धुनै सक्दैनन् । यसबाट त्राण पाउनको लागि नियमित यी तीनओटा योगासनहरुको अभ्यास गर्नुपर्दछ । भुजङगासन,मत्स्यासन र पश्चिमोत्तानासन । यसले ढाडलाई बच्चाजस्तो लचिलो बनाएर बुढेसकालको ढाड दुखाइबाट बचाउ गर्छ ।