बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ।

हेटौंडाः बागमती प्रदेशसभा सचिवालयमा नेकपा एमाले विभाजनको पत्र आइनसकेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । संघमा नेकपा एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी दल दर्ता भइसक्दा बागमती प्रदेशसभामा आधिकारिकरुपमा दल विभाजनसम्बन्धी पत्र आइनसकेको उहाँले जानकारी दिनुभयो ।

बागमती प्रदेशसभामा नेकपा एकीकृत समाजवादीमा हालसम्म १२ जना सांसदहरु खुल्ने बुझिएको छ । प्रदेशसभा सचिवालयमा दल विभाजनसम्बन्धी पत्र आएसँगै बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन नसकेमा उहाँ पदमुक्त हुनुहुनेछ ।

प्रदेश व्यवस्थापिका अनुसार, ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ ।’ प्रस्ताव बहुमतले पारित नभएमा मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ । यही भाद्र २ गते मुख्यमन्त्रीमा नियुक्त भई जिम्मेवारी सम्हाल्नुभएका शाक्यलाई हटाउन विपक्षी गठबन्धनहरुले तयारीसमेत गरिरहेका छन् । योसँगै बागमती प्रदेशमा तेस्रो मुख्यमन्त्रीको चर्चा सुरु भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेका हुन् । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बन्नुभएको थियो । एमालेको एकल बहुमत रहेको बागमती प्रदेशसभामा लामो समय नेपालको साथमा रहनुभएका शाक्यले मुख्यमन्त्री पदका लागि ओली पक्षमा लागेको भन्दै अहिले आलोचना भइरहेको छ ।

बागमती प्रदेशसभामा १ सय ९ जना सांसदमध्ये एमालेको ५६ जना सांसद छन् । प्रदेशसभामा नेपाली कांग्रेसको २२ जना, माओवादी केन्द्रको २३ र नेकपा एकीकृत समाजवादीका १२ जना सांसदले बहुमत पुग्ने भएकाले समाजवादीका पाण्डेलाई मुख्यमन्त्री बनाउने भित्रभित्रै छलफल भएको माधव नेपाल निकट एक सांसदले बताउनुभएको छ ।

सांसदहरु पार्टी दर्ता भएको मितिले २१ दिनभित्र समाजवादीमा खुलेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्ने र उहाँले विश्वासको मत लिनुपर्ने अवस्थामा विश्वासको मत नपाई सरकार ढल्ने देखिन्छ । सांसद राजेन्द्र पाण्डेबाहेक प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण खनाल पनि एकीकृत समाजवादीमा खुलिसक्नुभएको छ । प्रदेशसभा सांसद मुनु सिग्देल, बसुन्धरा हुमागाईं, बसन्त मानन्धर, कुसुम कार्की, रमा आलेमगर, माधव पौडेल, लक्ष्मण लम्साललगायतले समाजवादी रोज्ने बुझिएको छ ।

हाल तीन सदस्यीयमात्रै मन्त्रिमण्डल रहेको शाक्य नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा ओली पक्षका केशवराज पाण्डे रहनुभएको छ । उहाँ यसअघिको डोरमणि पौडेललको सरकारमा समेत मन्त्री हुनुहुन्थ्यो । उहाँलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सरकारको प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ । अचानक मुख्यमन्त्री शाक्यले हेटौंडामा मन्त्रिपरिषद्को बैठक बसेर प्रदेशसभाको अन्त्य गरेसँगै विपक्षी दलका सांसदहरुले समेत त्यसको विरोध जनाएका छन् ।