हेटौंडाः मानवको सेवा गर्न स्थापना भएको मानवसेवा आश्रम ९ वर्ष पूरा भई १० औं वर्षमा प्रवेश गरेको छ । सहयोेगापेक्षी सडकआश्रित मानव मुक्त गर्ने उद्देश्यले आजभन्दा १० वर्षअघि मानवसेवा आश्रमको हेटौंडाबाट सुरुवात भएकोे थियो ।
आश्रमले ९ वर्षको अवधिमा देशभर १६ जिल्लाका २२ वटा केन्द्रबाट सडक मानवको उद्दार गर्दै गएको छ । यो अवधिमा आश्रमले देशका विभिन्न भागबाट झन्डै ६ हजार सडक मानवको उद्दार गरेकोे छ । मानवसेवा आश्रमले सुरुवाती चरणबाट हालसम्म सडकमा आश्रित ५ हजार ८ सय ५२ जनाको उद्दार गरेको हो । २ हजार २ सय ३१ जनाको सुखद् पारिवारिक पुनर्मिलन गराउन आश्रम सफल भएको छ । मानवसेवा आश्रममा उद्दार गरेर ल्याएका मध्ये ५ सय ५४ जनाको मृत्यु भएको आाश्रमकोे केन्द्रीय कार्यालयले जानकारी दिएको थियो ।
१० औं वर्षमा आश्रम प्रवेश गर्दा कर्णाली प्रदेश सडक मानवमुक्त घोषणा भइसकेको मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीले बताउनुभयो । यसैबीच लुम्बिनी प्रदेश सडक मानवमुक्त घोषणा गर्न प्रदेश सरकार र आश्रमबीच सम्झौता हुनमात्र बाँकी भएको उहाँले बताउनुभयो ।
बागमती प्रदेशमा सरकार परिवर्तन र कोभिडका कारण दशैंपछि मात्र सडक मानवमुक्त घोषणा हुने उहाँले बताउनुभयो । हालसम्म मकवानपुर, झापा, मोरङ, सुनसरी जिल्ला सडक मानवमुक्त घोषणा भइसकेका छन् । यसैगरी विभिन्न स्थानीय तहहरुमा बुटवल उपमहागनर, भरतपुर महानगर, गोरखा नगरपालिकालगायत सडक मानवमुक्त घोषणा भएका छन् ।
प्रमुख अधिकारीले मानवसेवा आश्रमले विदेशी दाताको शर्तसहितको सहयोग हालसम्म नलिएको भन्दै नेपालीहरुकै सहयोगमा सञ्चालन भइरहेको बताउनुभयो । नेपाली समाजमा सामाजिक संस्थालाई डलरको खेती गरिन्छ भनेर हेरिने हुँदा यसलाई चिर्नु नै प्रमुख चुनौती भएको उहाँले बताउनुभयो । उहाँले मानवसेवा आश्रमले १० औं वर्षमा प्रवेश गर्दा नेपालमा मात्र नभएर विदेशमा अलपत्र परेकाहरुलाई समेत सहयोग गर्ने उद्देश्यले अघि बढेको बताउनुभयो । उहाँले मानवसेवा आश्रमको कतार तथा युरोप समिति रहेको बताउनुभयो । नेपालबाट सुरु भएको मानवसेवा आश्रमलाई विदेशी संस्थाजस्तै सदस्य बन्न गर्व गर्ने अवस्थासम्म पुर्याउने लक्ष्यका साथ अघि बढेको प्रमुख अधिकारीले बताउनुभयो ।
मानवको सेवामा अरबको खुशी पाएँ
मानवसेवा आश्रमका युुवा अभियन्ता होमनाथ पौडेलले अर्बौं तिरेर नपाउने खुशी आश्रममा आश्रित आमाबुुवाको सेवा गर्दा पाएको बताउनुभएको छ । विदेशी लाहुरेमा जान तयार भएका पौडेल लाहुुरेमा जान नपाएपछि युरोप जाने तयारीमा रहेका थिए । युरोप जान छाडेर मानवको सेवामा होमिएका पौडेलले मानवको सेवामा लागेपछि जीवनमा धेरै कुरा सिक्न पाएको बताउनुभयो । जीवनमा सबैथोक पैसामात्र नभएको भन्दै युवा अवस्थामा सिक्ने, टिक्ने अनि मात्र बिक्नुपर्ने बताउनुभयो ।
अहिले धेरैे युवाहरु सुरुवाती चरणमा पैसा कमाउन बिक्न तयार हुँदा सामाजमा विकृति बढेको पौडेलले बताउनुुभयो । समाजमा परिवारप्रतिको छोराछोरीको दायित्व के हो, सामाज र राष्ट्रका लागि युवाको भूमिकाबारे बुझ्ने मौका पाएको उहाँले बताउनुभयो । उहाँले मानवको सेवा गर्न सुरु गरेबाट नै वास्तविक जीवन बुझेको बताउनुभयो ।
सडक मानवहरु उद्दार गरेर उनीहरुको पारिवारिक मिलन गराउन सफल हुँदा धेरै खुशी हुने गरेको मानवसेवा आश्रमका अभियन्ता पौडेलको अनुभव छ । नेपाली तथा विदेशीहरुको आश्रमले उद्दार गरेर पारिवारिक पुनर्मिलन गराउँदै आएको उहाँले बताउनुभयो ।