दुर्गा भट्टराई हेटौंँडा

विज्ञान प्रविधिको यस युगमा इन्टरनेट र सामाजिक सञ्जालले हाम्रो जीवनमा विशेष प्रभाव पारेको छ । अहिलेको महामारी तथा विश्वव्यापि सङ्कटका बेलामा पनि यी कुरा प्रयोग गर्दै शिक्षा, रोजगार आदिलाई निरन्तरता दिने अवस्थामा हामी पुगेका छौंँ । यद्दपि यो माध्यमको सकारात्मक तथा नकारात्मक असरको बारेमा अझै अनविज्ञ छौंँ । हामी मानव सामाजिक प्राणी हौँ तर सामाजिक हुने नाममा नकरात्मक सोचतर्फ धकेलिँदै छाँै कि ? फेसबुक, च्याट तथा अन्य कुराको गलत प्रयोगले सकरात्मक सोचको सट्टा आवेग, रिस, हिंसा, डाहाको स्थान बढी हुँदै गएका छन् कि ? किशोर किशोरीहरुमा यसको प्रयोग सिर्जनशील कुराभन्दा नकारात्मक कुराका लागि भएको छ कि ? बालबालिकाहरुमा स्वच्छ प्रतिस्पर्धाभन्दा पनि आवेग, निराशा, जस्ता कुराहरुले प्रश्रय पाएको छ कि ? हामीले यी सबै प्रश्नमा मनन गर्नु अहिलेको टड्कारो आवश्यक देखिन्छ ।

सर्वप्रथमतः हामीले हाम्रा बालबालिकाहरुलाई सामाजिक सञ्जालको जिम्मेवार रुपमा प्रयोग गर्न सिकाउन जरुरी हुन्छ । यसका लागि अभिभावकहरुले घरमा बालबालिकाहरुसँग पढाइका कुरा गर्ने, उनीहरुको विचार तथा भावनाको विषयमा छलफल गर्दै सम्बन्ध स्थापना गर्नु अत्यन्त जरुरी देखिन्छ । यसैगरी विद्यालयले पनि सानो कक्षाबाट नै सामाजिक सञ्जालको सदुपयोग गर्न, यसका राम्रा तथा नराम्रा पक्ष केलाउन सक्ने क्षमता विकास गर्न विशेष भूमिका खेल्नुपर्ने हुन्छ । यसका लागि हाम्रो विद्यालयले विद्यार्थी तथा अभिभावक केन्द्रित विभिन्न कार्यक्रमको आयोजन गर्दै आएको र भविष्यमा पनि अझ प्रभावकारी कार्यक्रम लिएर आउने जानकारी गराउन चहान्छौंँ ।

सामाजिक सञ्जालले हाम्रा बालबालिकामा गरेका प्रभावको विषयमा कुरा गर्दा पहिले विद्यालयमा आउँदा सामाजिक सिपको विकास हुने वातावरण रहन्थ्यो भने अनलाइनमा यस्तो वातावरण टड्कारोको रुपमा देखिन्छ । तरपनि विभिन्न मिटिङ तथा क्रियाकलापमा संलग्न गराएर हामीले यो प्रभावलाई कम गर्ने प्रयास गरिरहेका छौं । अर्को समस्याका रुपमा सामाजिक सञ्जालमा लाइक, कमेन्ट, भ्यूजलाई तुलना गरेर आफूसँग भएको क्षमतालाई निस्क्रिय बनाई आफ्नो आत्म सम्मान गुमाउने, मानसिक रोगको सिकार हुने सम्भावना रहने हुनाले यो सम्बन्धी सचेतना जगाउने कार्यक्रम तथा शिक्षक र अभिभावकहरुलाई पनि मनोपरामर्श दिन सक्षम बनाउनु जरुरी देखिन्छ ।

हुन त अनलाइन कक्षा र सामाजिक सञ्जालको अहिलेको प्रयोगले गर्दा हाम्रा बालबालिका भविष्यका लागि पनि तयार हुँदै छन् । हामीले साक्षत्कार गरेको प्रविधिको विकासबाट यो सजिलै अनुमान लगाउन सकिन्छ कि भविष्यलाई सूचना प्रविधिले डोर्‍याउने छ । सूचना प्रविधिको प्रयोग गरेर आफ्नो कार्य सम्पादनलाई चुस्तदुरुस्त बनाउनेले नै सफलता पाउने छन् र परिस्थितिले आफैँ हाम्रा बालबलिकालाई यो अवसर प्रदान गरेको छ । यसैगरी बालबालिकाहरुमा हामीले कल्पना नै गर्न नसक्ने नयाँ तरिकाको सिर्जनशीलताको विकास हुँदै गएको हामी देख्न सक्छौंँ ।

अन्त्यमा बालबालिकाहरुमा हुने यस्ता समस्याहरुलाई समाधान गर्न असल शिक्षक, विद्यालय, अभिभावक, समाजको महत्वपूर्ण हात हुने कुरालाई हामी नकार्न सक्दैनौँ । जसले असामाजिक बन्दै गइरहेका हाम्रा बालबालिकाहरुलाई सही समयमा सही ढङ्गले उनीहरुको मनोभावनालाई बुझेर उनीहरुलाई राम्रो बाटोतर्फ डोर्‍याउनु पर्दछ । साहित्यमा रुचि जगाउन सक्नुपर्छ, पठन संस्कृतिमा ध्यान दिनुपर्छ, घरायासी काममा सघाउन लगाउनु पर्छ, उनीहरुसँग खुलेर आफ्नो बारेमा गफ गर्नुपर्छ, खेतबारी वा बाहिरी काम सिकाउनु पर्छ अनि मात्र समाधानका बाटाहरु बिस्तारै खुल्दै जान्छन् । विद्यालयले दिने ज्ञान प्रविधिमैत्री व्यावहारिक, समय सापेक्ष बनाउँदै लाने र अभिभावकहरुले पनि मनोभावना बुझेर दण्डरहित तरिकाले आफ्ना छोराछोरीहरुलाई समय दिँदै अगडि बढ्नु नै अहिलेको हाम्रो साझा दायित्व देखिन्छ ।