मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले गाउँपालिकाकै अध्यक्ष र कार्यपालिका सदस्यबाट असुरक्षित भएको भन्दै पत्रकार सम्मेलन गरेकी छन् । त्यसको खण्डन गर्दै अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्षलाई कुनै असुरक्षा नभएको दावी गरेका छन् । दुबै पक्षले पत्रकार सम्मेलनमार्फत् आरोप–प्रत्यारोप सार्वजनिक गरेका हुन् । लगाइएका आरोप सामान्य छैनन् । पत्रकार सम्मेलनमार्फत् लगाइएको यति गम्भीर विषयमा सम्बन्धित निकायबाट चासो लिई आवश्यक कारवाही प्रक्रियाको थालनी गर्नुपर्ने देखिन्छ । आरोप लगाउनेले पनि त्यस कुराको प्रमाणसहित प्रस्तुत हुन आवश्यक छ । नत्र भने कसैको चरित्र हत्या गर्ने गरी आरोप लगाउनु अर्को अपराध हो । यो आरोप प्रत्यारोपको निश्पक्ष छानविन हुन आवश्यक छ । यति गम्भीर विषयलाई राजनीतिक आवरणमा सामान्यीकरण गर्न हुँदैन ।
मकवानपुरका दश वटा पालिकामध्ये मनहरी गाउँपालिका साधन र श्रोतले सम्पन्न छ । जनशक्ति, शैक्षिक, स्वास्थ्यलगायत सम्पूर्ण क्षेत्रमा यो पालिका कमजोर छैन । जुन संस्थामा आम्दानीको श्रोत बढी हुन्छ, त्यहाँ झगडा र मनमुटाव हुँदै आएको छ । मनहरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवादको मुख्य जरो पनि यही देखिन्छ । जनताको सेवाका लागि आएका प्रतिनिधिहरुबीच धेरै पालिकाहरुमा विवाद हुने गरेको छ । तर मनहरीमा चाहिँ अति नै हुन थालेको छ । पालिका अध्यक्ष र उपाध्यक्षबीचको द्वन्द्वले वडा अध्यक्ष तथा कर्मचारीसमेत दुई ध्रुवमा बाँडिएका छन् । विवादकै कारण नागरिकले पाउनुपर्ने सेवासमेत प्रभावित भएको छ । एउटै दलका तर्फबाट निर्वाचित नेताहरुबीचको व्यवहारले आगामी निर्वाचनमा आम नागरिकले दलप्रतिको दृष्टिकोण के बनाउने ?
जनताको सेवा गर्ने दायित्व लिएर गएका प्रतिनिधिहरुले आफ्नो व्यक्तिगत फाइदाका लागि मात्र चिन्तन गर्दाको परिणाम मनहरीमा देखिएको छ । विवादका विषय अन्य देखाइए पनि आर्थिक पक्ष जोडदारसँग जोडिएको उनीहरुकै तर्क र आरोपले पनि पुष्टि गरेको छ । योजना बाँडफाँड, उपभोक्ता समिति निर्माण, अनुगमनजस्ता विषयमा आरोप–प्रत्यारोप छन् । तर अन्य कुनै घटनालाई देखाएर पत्रकार सम्मेलन गरिएको छ । सार्वजनिक खपतका लागि अन्य विषय उठान गरे पनि पत्रकार सम्मेलनमा भनिएका कुरा लेनदेनमै घुमेका छन् । जनताको सेवा गर्ने, नयाँ योजना ल्याउन नपाएको वा पास नभएको वा कुनै सैद्धान्तिक मतभिन्नता देखिँदैन । विवाद आर्थिक पक्षमै गएर अडिएको प्रष्ट हुन्छ ।
एउटै दलबाट निर्वाचित भएका अध्यक्ष र उपाध्यक्षबीच भएको असमझदारी सार्वजनिक हुनु सुखद् हैन । चित्त नबुझेका विषयमा छलफल गर्ने र समाधान खोज्नु बुद्धिमानी हो । तर यही कुरा मनहरीका नेतृत्वलाई थाहा नभएको पक्कै हैन । गाउँपालिका परिवारभित्रै समाधान गर्नुपर्ने विषयलाई सार्वजनिक गरेर आङको छारो टक्टक्याउने काम पालिका नेतृत्वले गरेको छ । पत्रकार सम्मेलन गरेरै एक अर्काप्रति दोषारोपण गर्नुले उनीहरुको राजनीतिक हैसियत र योग्यतामाथि प्रश्न उठेको छ । फरक दलबाट निर्वाचित भएका नेताहरुसमेत सहमतिमा काम गरेका जिल्लाभित्रै पनि उदाहरण छन् । तर एउटै दलका कार्यकर्ताबीचको झगडाले उनीहरुको दलप्रति समेत जनविश्वास कमजोर बनाउने काम भएको छ । जनताको काम गर्न पठाएको हो वा आपसमा झगडाका लागि ?