भैंसे–भीमफेदी सडक

हेटौंडाः बागमती प्रदेश सरकारले मकवानपुरको भैंसेदेखि भीमफेदीसम्मको सडकलाई चौडा पार्ने, टेवा पर्खाल, साइड ड्रेन, क्रसड्रेन, अस्फल्ट कंक्रिट पेभमेन्ट गर्ने कार्य सुरुवात गरेको भएपनि विवादका कारण अघि बढ्न सकेको छैन ।

भैंसेदेखि भीमफेदीसम्मको ११.५ किलोमिटर सडक चौडा गर्न सुरु भएपनि भीमफेदी–४ नम्बर वडामा विवाद भएको यातायात पूर्वाधार निर्देशनालय बामगती प्रदेशका सूचना अधिकारी हरि ओझाले बताउनुभयो । भैंसे–भीमफेदी सडकखण्डमा जंगल क्षेत्रमा भने सडक फराकिलो पार्ने काम अघि बढिसकेको छ । २०७७ असार २३ गते भैंसे भीमफेदी सडक स्तरोन्नति गर्न आशीष डीएस जेभीले ३८ करोड ७८ लाख ८ सय ९७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २ वर्षमा सडक स्तरोन्नति गर्ने गरी ठेक्का सम्झौता गरेको आशीष डीएस जेभीले आउँदो असार २३ गतेसम्म उक्त आयोजना सम्पन्न गरिसक्नुपर्ने छ । सम्झौता गरेको एक वर्ष बितिसक्दा ठेकेदार कम्पनीले १४ प्रतिशतभन्दा बढी काम गर्न सकेको छैन । ठेकेदार कम्पनीले ३८ करोडमध्ये ४ करोड रुपैयँँ भुक्तानी लिइसकेको छ ।

मुख्य समस्या मुआब्जा
मुख्य विवादित क्षेत्र भीमफेदी वडा नम्बर ४ मा झण्डै ५.७ किलोमिटर सडकखण्डमा पर्ने जग्गा तथा घरहरु हटाउन प्रदेश सरकारलाई हम्मे परेको छ । स्थानीयले मुआब्जा नदिएसम्म काम अघि बढ्न नदिएपछि प्रदेश सरकारले उनीहरुलाई क्षतिपूर्ति दिने तयारी अघि बढाएको छ ।

सो क्षेत्रमा पर्ने ४३ वटा ऐलानी घर, १०५ निजी घर, ९९ जनाको निजी जग्गामा क्षति हुने भएकाले यातायात पूर्वाधार निर्देशनालयले ठेकेदार कम्पनीलाई काम गर्ने वातावरण बनाउन सकेको छैन । स्थानीयले विरोध गरेसँगै काम गर्न समस्या भएको र विकासको कामलाई नरोक्न बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीयबासी र स्थानीय तहलाई आग्रह गर्नुभएको छ । उहाँले विकासको काम अहिले पनि नभए कहिल्यै नहुने भन्दै भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामालाई ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

यता यातायात पूर्वाधार निर्देशनालयका सूचना अधिकारी ओझाका अनुसार उनीहरुलाई घरको मात्रै क्षतिपूर्ति दिने व्यवस्था भएको र जग्गाको कुनै मुआब्जा नभएको हुँदा समस्या भएको छ । सरकारले घरटहराको क्षतिपूर्ति दिन तयारी गरिसकेको भन्दै उहाँले पछिल्लो एक वर्षमा सोचेजस्तो काम हुन नसकेको बताउनुभयो । अधिकांश ग्रामीण सडकमा स्थानीयको सहमतिमा विकासका कामहरु हुने गरेको भन्दै आवश्यक छलफल भइरहेको उहाँले बताउनुभयो ।

एक वर्षमा सम्पन्न गर्ने आयोजना २ वर्षसम्म आलटाल
बागमती प्रदेश सरकारले एक वर्षसम्म सडक चौडा गर्ने कार्य सम्पन्न गर्नेगरी मकवानपुरको भीमफेदीदेखि कुलेखानीसम्मको सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरेको थियो । तर, ठेक्का सम्झौता भएको एक वर्षको म्याद सकेर ६ महिनाको समय सकिँदासमेत आयोजना सम्पन्न हुन सकेको छैन् । प्रदेश सकारको बजेटमा भीमफेदीदेखि कुलेखानीसम्म सडक फराकिलो गर्न भीमफेदी–देउरालीसम्म ८ किलोमिटर र देउरालीदेखि कुलेखानी हेबीसम्म ७.३ किलोमिटर सडक २ वटा प्याकेजमा फराकिलो पार्ने सुरु भएको थियो ।

गत वर्षको माघमा १ वर्षको म्याद सकिएपछि ठेकेदार कम्पनीलाई ६ महिनाको म्याद थपिएको थियो । थपिएको ६ महिनाको म्याद साउनमा सकियो । तर सडक फराकिलो गरेर पिच गर्ने काम सम्पन्न हुन सकेन । अझै ठेकेदार कम्पनीले ६ महिनाको म्याद थप गर्न निवेदन दिएको यातयात पूर्वाधार निर्देशनालयका सूचना अधिकारी ओझाले बताउनुभयो ।

गत वर्षको असार मसान्तसम्म भीमफेदीदेखि कुलेखानी सडक खण्डामा ७५ प्रतिशत काम सकिएको छ । कुल ३४ करोड ७१ लाखमा दुई कम्पनीसँग ठेक्का सम्झौता भएकोमा २४ करोडभन्दा बढी भुक्तानी भइसकेको ओझाको भनाई छ ।

मकवानपुरको भीमफेदीदेखि देउरालीसम्मको ८ किलोमिटरमध्ये ७ किलोमिटर सडक कालोपत्रे नै भइसकेको छ । अन्य सडकखण्ड पनि दशै अघिसम्म ठेकेदार कम्पनीले सकाउने भनेता पनि आउँदो माघसम्म सम्पूर्ण सकिने अनुमान गरिएको छ । सो सडकको अनुगमन गर्न बामगती प्रदेशको तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल धेरैपटक अनुगमनमा पनि जानुभयो । उहाँले कहिले फागुन, कहिले चैतमा निर्माण सकिने भनेर भाषणबाजीसमेत गर्नुभयो । तर २ वर्षसम्म पनि उक्त सडकखण्डको काम पूरा हुने अवस्था देखिएको छैन ।

यसैगरी, मकावनपुरको हेबीदेखि ज्यामिरेसम्म साढे ५ किलोमिटर सडकमा गत वर्ष कालोपत्रे भइसक्नुपर्नेमा हुन सकेन । राजधानी पूर्वाधार विशेष आयोजनामा सो योजना ह्यान्डओभर भएकोले २ महिनाभित्र कालेपत्रे हुने ओझाको भनाई छ । ज्यामिरेदेखि रामचन्द्र भञ्जाङसम्मको १२ किलोमिटरका लागि खरिद प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ भने रामचन्द्र भञ्जाङदेखि दक्षिणकाली मन्दिरसम्मको ८ किलोमिटर सडकको लागि ललितपुर पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीसँग सम्झौता गरिसकेको यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले जनाएको छ । ३–४ खण्डमा भैंसेदेखि काठमाडौंसम्म जाने सडकखण्ड फराकिलो पार्ने कामहरु भइरहेको बताउनुभयो । हेटौंडा–काठमाडौं जाने छोटो मार्गअन्तर्गत् विगत १० वर्षदेखि सडक स्तरोन्नति हुने काम भइरहेको छ । तर पनि गुणस्तरको काम कहिल्यै हुन सकेको छैन । सो खण्डमा बजेट खर्च गर्नका लागि मात्रै सरकारले काम गर्दै आएको देखिएको छ ।