उज्ज्वल बराल

म हिजो बिहान सम्पूर्ण आमा बुबालाई भेट्न वृद्धाश्रम जान मन लाग्यो । मैले साथीहरूलाई जाऔँ भनी आग्रह गरेँ तर कोही मोबाइलमा व्यस्त थिए त कसैमा त्यस्तो जाबोमा नि जान्छन् भन्ने धारणा थियो । उनीहरूको धारणामा मैले भविष्यमा आमाबुबाप्रतिको मायाको चम्किलो संसार देख्न सकिनँ । त्यसपछि म एक्लै वृद्धाश्रम गएँ ।

जब मैले त्यहाँ पुगेर त्यहाँको गेट खोलेँ तब त्यहाँ धेरै आमाबुवालाई देखेँ । त्यहाँ कोही सुतिरहनुभएको थियो त कोही एकान्तमा गहिरो सोचमा डुबिरहनुभएको थियो । उहाँहरूलाई देख्नासाथ मेरा आँखाबाट आँसु आएको पत्तै भएन । मैले उहाँहरूसँग दिनभरि आफ्नो समय बिताएँ । प्रत्येक आमाबुवाको आफु त्यहाँ जानुको कहानी र कारण सोधेँ ।

हरेकको फरक फरक कहानी थियो तर कारण एउटै थियो आमाबुवा हरेकलाई बोझ लागेको थियो । बिहे भएर घरमा बुहारी आएपछि छोराले उसको कुरा मानेर घरबाट निकालिएको या कामको व्यस्तता वा विभिन्न कारणले आमाबुबाको हेरचाह नगरिएको जस्ता कुराहरू मैले पाएँ । मलाई यहाँ आउनुभन्दा अगाडि आमाबुवालाई वृद्धाश्रम पठाउनुको कारण गरिबी वा धनसम्पत्ति नभएर उद्धार गरेको होला जस्तो लाग्थ्यो, छोराछोरीहरू नभएर उहाँहरूको सहाराका लागि यो संस्था खोलिएको जस्तो लाग्थ्यो तर होइन रहेछ । म गलत रहेछु । यहाँ कुरा धनसम्पत्ति वा गरिबीको कारण होइन रहेछ, मन गरिब भएको रहेछ । पूरा संसार किन्ने धनसम्पत्ति नै किन नहोस् । यदि आमाबुबाको खुसीलाई किन्न सकिँदैन भने म धिक्कार्छु त्यो स्वार्थी पैसालाई, जसले छोराबाट आमाबुवालाई टाढा बनायो ।

आज विश्व परिवर्तन गर्न सक्ने प्रविधिको विकास भएको छ । तर त्यही प्रविधिले छोराछोरीलाई आमाबुवासँग बोल्ने समयसमेत नहुने व्यस्त गराउँछ भने धिक्कार छ त्यस्तो आधुनिक प्रविधिलाई, जसले घरमा एउटा बल्बबाट उज्यालो बनाउने त भयो तर संसारभरका आमाबुबाको मुहारबाट उज्यालो हाँसोलाई अन्धकारमय जीवनमा परिणत गर्‍यो । यहाँ बुवा खुवाउने औँसी र आमा खुवाउने औँसीको दिन आमा र बुबालाई धेरै माया गर्ने, मिठा मिठा खानेकुराहरू खान दिने, फेसबुकमा स्टाटसहरू हाल्ने तर अन्य दिनमा वास्तासमेत नगर्ने मानिसहरूको पनि कमी छैन । यस्ता यस्ता कुराले म अत्यन्तै भावुक भएँ ।

अहिले हाम्रो समाजमा आमाबुबालाई वृद्धाश्रमलाई लैजाने प्रवृत्ति फेसनको रूपमा चल्दै आइरहेको छ । यस्ता विकृतिहरू पूर्ण रूपले अन्त्य हुन जरुरी छ । आज हामीले आमाबुबालाई जुन व्यवहार गर्दैछौँ नि यस्ता व्यवहारहरू भोलि हाम्रा पुस्ता र भाइबहिनी, छोराछोरीले पनि सिकेर हामीलाई पनि त्यही व्यवहार गर्ने छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ । त्यसैले आजैदेखि हामीले आमाबुवाप्रति सभ्य र असल व्यवहार गरौँ । आउँदो नयाँ पुस्तालाई राम्रा शिक्षा दिई नयाँ र सभ्य समाजको निर्माण गरौँ ।