नेपाल प्रथम र द्वितीय भई सम्मानित भएका विद्यार्थीहरु ।

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत बीबीएम विषयका उत्कृष्ट विद्यार्थीलाई शुक्रबार सम्मान गरिएको छ । बीबीएम कार्यक्रमअन्तर्गत पाँचौं सेमेस्टरमा नेपाल प्रथम हुन सफल मनिषा लुईंटेल र नेपाल द्वितीय हुन सफल प्रजिता सुवेदीलाई शुक्रबार क्याम्पस प्रशासनले सम्मान गरेको हो ।

नेपाल प्रथम र द्वितीय हुने विद्यार्थीलाई सम्मान गर्नुका साथै क्याम्पसले नेपाल प्रथमलाई छैठौं सेमेस्टर निशूल्क र द्वितीय हुने विद्यार्थीलाई ५० प्रतिशत छुट गर्ने भएको छ । पूर्ण छुट पाउने नेपाल प्रथम विद्यार्थीले करिब ५० हजार रुपैयाँ छुट पाउने छन् भने द्वितीय हुने विद्यार्थीले करिब २५ हजार रुपैयाँ छुट पाउने छन् । एक साताअघि प्रकाशित नतिजामा नेपाल प्रथम मनिषाले जीपीए ३ दशमलव ९ अंक हासिल गरेकी छिन् भने नेपाल द्वितीय हुने प्रजिताले जीपीए ३ दशमलव ८८ अंक प्राप्त गरेकी छिन् । बिबिएम पाँचौं सेमेस्टरमा मकवानपुर बहुमुखी क्याम्पसका सबै विद्यार्थीहरु प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।

विद्यार्थीसँगै क्याम्पस प्रशासनले बीबीएम कार्यक्रमका निर्देशन तथा सहायक निर्देशकसहित प्राध्यापकहरुलाई जनही ८ हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । यसैबीच पुरानो नारायणी यातायात व्यवसायी कम्पनि प्रालिले पनि नगदसहित विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । विद्यार्थी सम्मान कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष हीरालाल श्रेष्ठ, सदस्य बद्रिप्रसाद लम्साल, अशोक शाक्य, डा. कृष्ण धिताल, क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायको पनि उपस्थिति रहेको थियो ।