सरकार विरुद्व प्रर्दशन गर्दै युवाहरु ।

हेटौंडाः मकवानपुरमा साउन २४ गतेसम्म निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञा नाममात्रको छ । निषेधाज्ञामा निषेध गरिएको पसल व्यवसायहरु अधिकांश सञ्चालनमा छन् । बजारमा भिडभाड रोकिएको छैन । सोमबार निषेधाज्ञाकै बीचमा सरकारविरुद्ध हेटौंडाको मुख्य बजार क्षेत्र र बुद्धचोकमा बृहत् प्रदर्शन भयो ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बागमती प्रदेशको राजधानी हेटौंडामा मोटरसाइकल र्‍यालीसहित सरकारविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी अधिकांशले जनस्वास्थ्यको मापदण्ड पालना गरेका थिएनन् । धेरैले मास्कसमेत लगाएका थिएनन् । केहीले भने चिउँडोमा मास्क भिरेका थिए । भौतिक दुरी कायम गर्न सरकारले सूचना जारी गरेकोमा त्यसको धज्जी उडाउँदै सँगै टाँसिएर नाराबाजी गरेका थिए ।

निषेधाज्ञामा यति ठूलो जमघट हुँदा र मुख्य बजार क्षेत्र र चोकमा घण्टौं प्रदर्शन हुँदा स्थानीय प्रशासन भने मौन बसेको छ । सवारी साधनलाई मुख्य बजार क्षेत्रमा प्रवेश गर्न नदिएर बाइपास गरेको मात्र नभई स्वास्थ्य मापदण्ड पालना नगर्ने प्रदर्शनकारीलाई प्रशासनले उल्टै सुरक्षा दिएको थियो । भौतिक दुरी कायम नगर्दा, मास्कबिना होहल्ला र भिडभाड गर्दा पनि बागमती प्रदेशको राजधानी हेटौंडामा प्रहरी प्रशासन टुलुटुल हेरेरमात्र बसेकोमा आम नागरिक आश्चर्य भएका छन् ।

प्रशासन उनीहरुको अघि निरीहजस्तै बनेर हेरेरमात्रै बसेकोमा भन्दै सर्वसाधारणले निषेधाज्ञाको समयमा पार्टीको कार्यकर्तासामु प्रशासन निरीह बनेकोमा चिन्ता व्यक्त गरेका छन् । मास्क नलगाएको भन्दै सर्वसाधारणसँग एक सय रुपैयाँ जरिवानासमेत लिएको स्थानीय प्रशासनले कुनै पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी सयौं मानिस भेला भएर कार्यक्रम गर्दा प्रशासनले केही गर्न नसकेकोमा स्थानीयले आलोचना गरेका हुन् ।

जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा कति संक्रमण फैलियो यसको कुनै लेखाजोखा नै भएन । यसअघि प्रशासनले कोरोना नियन्त्रण गर्न विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै आएको थियो । तर प्रशासनले लगाएको नाममात्रैको निषेधाज्ञाले झनै कोरोना संक्रमण बढाउँदै लगेको छ । जिल्लामा संक्रमितको संख्या दिनहुँ उकालो लाग्दै गर्दा पनि प्रहरी, प्रशासनले प्रदर्शनकारीलाई सुरक्षा दिएर कोरोनाको संक्रमण फैलाउँदै गएका छन् ।

दार्चुलाको जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काट्दा ज्यान गुमाउन परेको र सरकार मौन रहेको भन्दै सोमबार हेटौंडामा ब्यापक विरोध प्रदर्शन भएको हो । उनीहरुले ‘जयसिंह धामीलाई न्याय दे, जयसिंह धामीलाई शहीद घोषणा गर, भारतीय सीमा सुरक्षा बल मुर्दावाद, भारतीय साम्राज्वाद मुर्दावाद, भारतीय राज्य मुर्दावाद, जनताको सुरक्षाको ग्यारेन्टी गर’ लगायतका प्लेकार्डसमेत बोकेका थिए । तर उनीहरुको प्रदर्शन न त सरकारले सुन्यो, न त सरकारका मान्छेलाई सुन्ने जाँगर नै थियो ।

सरकारले घटनाको छानबिन गर्न समिति निर्माण गरेर काम सुरु गरिसकेको छ । तर विभिन्न पार्टीको नाममा जनस्वास्थ्यको मापदण्डको धज्जी उडाएर निषेधाज्ञाको समयमा प्रदेश राजधानी हेटौंडामा प्रदर्शन गर्नुले कोरोना संक्रमण ब्यापक फैलिएको अनुमान सर्वसाधारणहरुले गरेका छन् । बुद्धचोकमा प्रदर्शन गर्दा सर्वसाधारणहरु भने रमाइलो मानेर हेरेर बसेका थिए ।

हेटौंडाको फरेष्ट्री क्याम्पसको गेटबाट प्रदर्शनकारीले सुरु गरेको सरकारविरुद्धको प्रदर्शनमा सयौं कार्याकर्ताहरुको उपस्थिति रहेको थियो । बुद्धचोकममा प्रदर्शनलाई सम्बोधन गर्दै विप्लव मकवानपुरका सेक्रेटरी वाटरले भारतीय हस्तक्षेप नरोकिएको बताउनुभयो । भारतीय हस्तक्षेप नरोकिँदा जयसिंह धामीले अकालमै ज्यान गुमाउनु परेको तथा शेरबहादुर देउवाको सरकारका गृहमन्त्री बालकृष्ण खाँणले बनाएको छानबिन समितिले धामीलाई न्याय दिन नसक्ने टिप्पणी गर्नुभयो ।

वाटरले भारतले देशको सीमा मिच्दै गरेको बताउँदै देशको सीमा सुरक्षा युवाहरुले गर्नुपर्ने बताउनुभएको थियो । उहाँले भारतले नेपालविरुद्ध हस्तक्षेप गरिरहेको बेला अमेरिकाले पनि नेपालमा आँखा लगाएको भन्दै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् नेपाल कब्जा गर्न खोजेको दाबी गर्नुभयो । सरकारले एमसीसी प्रक्रिया अघि बढाए विप्लब सडकमा उत्रने उहाँले चेतावनी दिनुभएको छ । यसैगरी विरोध प्रदर्शनलाई विप्लवका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज नयनले जयसिंह धामीलाई शहीद घोषणा गर्न माग गर्नुभएको थियो ।