बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत् युवा वैज्ञानिक प्रोत्साहन कोषमार्फत् ५ परियोजनाहरु सञ्चालनमा छन् । विगत ३ आर्थिक बर्षमा युवा वैज्ञानिक प्रोत्साहनका लागि पर्याप्त बजेट विनियोजन भए पनि कार्यक्रम भने सञ्चालन हुन सकिरहेको थिएन । तीन बर्षमा २५ करोड रकम विनियोजन भएकोमा जम्मा २ करोड १० लाखमात्र खर्च भएको छ । गत बर्षको मात्र पाँच वटा परियोजना सञ्चालन भएका छन् । बजेट बनाउने तर कार्यक्रम सञ्चालन नगर्दा बजेट खर्च हुन नसकेको हो । यस्ता कार्यक्रमले सरकारको बार्षिक लक्ष्य पूरा हुँदैन भने खर्चको प्रतिशत पनि न्यून हुनेछ । युवा वैज्ञानिक प्रोत्साहन शीर्षकको तीन आर्थिक बर्षमा विनियोजित बजेटको जम्मा ८.४ प्रतिशतमात्र बजेट खर्च भएको छ ।

गत बर्षबाट सञ्चालन भएका कार्यक्रमका लागि बजेट निकासा भइसकेको छ । सञ्चालनमा रहेका ५ परियोजनाका लागि पेश भएको प्रस्तावका आधारमा कुल २ करोड १० लाख २८ हजार बजेट विनियोजन भएको छ । माछापालन, जडीबुटीसम्बन्धी परियोजना, रातो च्याउ खेती, विद्युतीय सवारी निर्माण तथा नक्कली दाँत निर्माण परियोजनाहरुका लागि युवा वैज्ञानिक कोषले सम्झौता गरेको छ । यी परियोजनाले नयाँ प्रविधिको विकास, अध्ययन, अनुसन्धान गर्ने तथा त्यसबाट आम नागरिकमा पार्ने प्रभावसमेतलाई उल्लेख गर्नेछन् । सुन्दा सामान्यजस्ता लाग्ने परियोजना वैज्ञानिक विषयबस्तु कसरी बन्न सक्छन् भन्ने लाग्दछ । तर मानिसले अपनाइरहेको पद्दतिमा नयाँ अनुसन्धान गरी व्यवहारमा सहज प्रयोग गर्नसक्ने अवस्थाको जानकारी गराउन सक्नुपर्दछ ।

बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत् सञ्चालन गरेको कार्यक्रममा ३ बर्षमा ५ वटा विषयमा खोज तथा अनुसन्धान प्रारम्भ गरेको छ । मन्त्रालयले सुरुकै बर्षदेखि कार्यक्रम राखी बजेट विनियोजन गरेको भए पनि गत बर्षबाट मात्र कार्यक्रम छनौट गरी अनुसन्धानका लागि स्वीकृति प्रदान गरिएको हो । कार्यक्रम सुरु गर्नकै लागि चौथो बर्ष कुर्नुपर्ने अवस्थाले कार्यान्वयन पक्षमा प्रश्न गर्न सकिन्छ । बजेट विनियोजन गर्ने तर कार्यक्रम किन अघि बढ्न सकेनन् भन्ने पक्षबाट पनि अनुसन्धान गरिनुपर्ने भएको छ । युवा वैज्ञानिक प्रोत्साहन त एउटा उदाहारणमात्र हो । लामो समयदेखि बजेट विनियोजन भएर कार्यान्वयन हुन नसकेको प्रत्येक मन्त्रालयहरुमा धेरै कार्यक्रम अलपत्र नै छन् । यस सम्बन्धमा कहाँ कमजोरी भयो भन्ने तथ्यको खोजी गरेर आगामी बर्षदेखि सुधार गर्न आवश्यक छ ।

कार्यक्रम सञ्चालन गर्न कार्यविधि बनाउनै एक बर्ष बढी लागेको छ । कार्यविधि नै नबनाई हचुवाका भरमा योजना बनाउने र बजेट छुट्याउने परम्परा नै हो । नीति तथा कार्यक्रम र बजेट घोषणामा मात्र रमाउने, तर त्यसका लागि आवश्यक पूर्वाधार तयार नै नगर्ने पद्दतिले कहिलेसम्म कार्यान्वयन पक्ष प्रभावित भइरहने ? युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम पनि औपचारिकताका लागि मात्र सुरुवात भएको हो । कार्यविधि स्वीकृत भएपछि पहिलो पटक खोज तथा अनुसन्धान कार्य गर्न इच्छुकहरुबाट आवेदन माग गर्दै आह्वान गरेको सूचना अनुसार पेश भएका प्रस्ताव छनौट गरी कार्यान्वयन सुरु भएको छ । यसरी पाँच वटा क्षेत्रमा खोज तथा अनुसन्धान सुरु गरेको योजनाबाट आउने परिणामले कार्यक्रमको प्रभावकारिताको मापन हुनेछ ।