हेटौंडाः बागमती प्रदेशले प्रदेशको सबै जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । यसका लागि गत जेठ महिनामा सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले छिटो खरिद प्रक्रियामार्फत् एक महिनाभित्र अक्सिजन प्लान्ट मेशिन र पीसीआर मेशिन खरिद गर्ने बताउनुभएको थियो ।
तर २ महिना बितिसक्दा समेत अक्सिजन प्लान्ट र पीसीआर मेशिन आइपुगेको छैन । कोभिड–१९ संक्रमणको तेस्रो लहरको सम्भावित जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने भएको हो ।
प्रदेश सरकारले काठमाडौंको टोखा, ललितपुरको बज्रबाराही, दोलखाको चरिकोट अस्पताल, रामेछाप जिल्ला अस्पताल, काभ्रेको मेथिनकोट, धादिङ जिल्ला अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, चितवनको बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न लागेको हो । यसको लागि खरिद प्रक्रिया अघि बढिसकेको र छिट्टै खरिद भएका सामग्री आइपुग्ने प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभयो । साढे ५ करोडमा बोलपत्र आह्वान भएको र मेशिनहरु केही दिनमा आइपुग्ने उहाँको भनाई छ ।
यसअघि मकवानपुरको हेटौंडा, नुवाकोटको त्रिशुली, भक्तपुरको अस्पताल र सिन्धुलीको सिन्धुलीमाढी अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ । प्रदेश आपूर्तिले मेशिन खरिद गरेर दिएसँगै बाँकी अस्पतालहरुमा अक्सिजन प्लान्ट र पीसीआर मेशिन राखिने तयारी भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तम सेढाईले बताउनुभयो ।
कोरोनाको दोस्रो लहरमा बागमती प्रदेशमा अक्सिजनको अभाव झेल्नुपरेको भन्दै उहाँले तेस्रो लहर आएमा अक्सिजनको अभाव न्यून हुने उहाँले बताउनुभयो । अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गरिएको छ भने केही अस्पतालबाट सिलिन्डरमा समेत अक्सिजन रिफिल गर्नसक्ने मन्त्रालयका प्रवक्ता सेढाईले बताउनुभयो ।
यस्तै, अस्पतालमा अहिले जनशक्तिहरु नपुगेको स्थानमा करारमा स्वास्थ्यकर्मीहरु भर्ति गरिएकोसमेत उहाँले जानकारी दिनुभयो । उहाँले कोभिड न्यूनीकरण गर्न अझै पनि सचेतनाका कार्यक्रमहरु नै सञ्चालन गर्नुपर्ने बताउनुभयो । सामाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र साबुनपानीले हात धुने गर्नुपर्ने बताउनुभयो । यस्तै मन्त्रालयले प्रदेशको अस्पतालहरुमा भेन्टिलेटर, एचडीयू बेड र आइसीयू बेडको संख्यामा समेत वृद्धि गरेको छ । कोभिड संक्रमितको संख्या बढेर अस्पतालमा बेड अभाव नहोस् भनेर उपचारको लागि बेडहरुको संख्या पहिलेको तुलनामा दोब्बर पारिएको उहाँको भनाई छ ।