संकेतिक तस्बिर ।

हेटौंडाः जिल्ला कानुनी सहायता समिति मकवानपुरमा पछिल्लो तीन वर्षको अवधिमा २ सय ४९ वटा मुद्धा दर्ता भएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ को अवधिमा समितिमा २ सय ४९ वटा मुद्धा दर्ता भएको हो । गरिब, असहाय, घरेलु हिंसा तथा लैंगिक हिंसामा परेका आदिवासी जनजाति, दलित, ज्येष्ठ नागरिकका लागि निःशुल्क कानुनी सहायत प्रदान गर्दै आएको समितिमा सम्बन्धविच्छेदका मुद्धा बढी दर्ता भइरहेको छ ।

आर्थिक वर्ष २०७५/०७६ सालमा अंश दर्ता चलनमा २२ थान, सम्बन्धविच्छेदमा ४३ थान, अंशसहितको सम्बन्धविच्छेदमा ७ थान, मानाचामल तथा खानलाउन खर्चमा ८ थान, नाबालक छोरीको जिम्मा लिन पाउँमा १ थान, लिखत बदर (अंश, बकस, फैसला, जेथा, जमानी)मा ९ थान, जालसाजीमा ८ थान, रिट (परमादेश तथा उत्प्रेषण)मा ४ थान, यौन दुव्र्यवहारमा १ थान, चोरी उद्योगमा १ थान र जग्गा किचलो मेटाई चलानमा १ थान मुद्धा दर्ता भएको थियो । उक्त वर्ष जम्मा एक सय ५ थान मुद्धा दर्ता भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा दर्ता भएका मुद्धामध्ये ४६ थान र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएकामध्ये ४८ थान मुद्धा गरी जम्मा ९४ थान मुद्धा सोही वर्ष फछ्र्यौट भएको थियो ।

यस्तैगरी आर्थिक वर्ष २०७६/०७७ सालमा अघिल्लो वर्षको जिम्मेवारी सरी आएको मुद्धा संख्या ५९ वटा रहेको थियो । उक्त आर्थिक वर्षमा नयाँ ६५ वटा मुद्धा दर्ता भएको थियो । अंश दर्ता चलानमा ८ वटा, अंशसहितको सम्बन्धविच्छेदमा १० वटा, मानाचामल तथा खानलाउन खर्च भराई पाउँमा २ वटा, सम्बन्धविच्छेदमा ३२ वटा, लिखत बदरमा ७ वटा, जालसाजीमा ३ वटा, नाता कायममा १ वटा, ज्यान मार्ने उद्योगममा १ वटा र विवाह बदरमा १ वटा मुद्धा दर्ता भएको थियो । २०७६/०७७ सालमा जम्मा २५ वटा र अघिल्लो वर्षबाट जिम्मेवारी सरिएकामध्ये ४५ वटा मुद्धा गरी ७० वटा मुद्धा फछ्र्यौट भएका छन् ।

आर्थिक वर्ष २०७७/०७८ सालमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएको मुद्धा संख्या ५० वटा रहेका थिए भने ७९ वटा नयाँ मुद्धा दर्ता भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा अंश दर्ता चलानमा ११ वटा, अंश सहितको सम्बन्धविच्छेदमा ९ वटा, सम्बन्धविच्छेदमा ४२ वटा, लिखत बदरमा २ वटा, जालसाजीमा ४ वटा, नता कायममा १ वटा, ज्यानसम्बन्धी कसुरमा १ वटा, जग्गा लेखाई पाउँमा १ वटा, अंश तथा मानाचामलमा ४ वटा, संरक्षक बदरमा १ वटा र अंश दर्पिठमा २ वटा मुद्धा दर्ता भएका थिए । उक्त वर्ष उच्च अदालतमा दर्ता भएका पुनरावेदनपत्र ९ वटा, जिल्ला अदालतमा दर्ता भएका फिरादपत्र ६९ वटा र न्यायिक समितिमा दर्ता भएका निवेदनपत्र १ वटा गरी जम्मा ७९ वटा नयाँ मुद्धा दर्ता भएका हुन् । आर्थिक वर्ष २०७७/०७८ सालमा फैसलामार्फत् १७ वटा, मिलापत्रमार्फत् २० वटा, फिर्ता ३ वटा, डिसमिस ५ वटा र तामेली तथा मुल्तबीमा १ वटा गरी जम्मा ४६ वटा मुद्धा फछ्र्यौट भएका छन् ।

तीनवटै आर्थिक वर्षका मुद्धामध्ये सबैभन्दा बढि मुद्धा सम्बन्धविच्छेदमा दर्ता भएका छन् भने सबैभन्दा कम नाता कायम, विवाह बदरजस्तामा मुद्धा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ सालमा सबैभन्दा बढि मिलापत्रमार्फत् मुद्धा फछ्र्यौट भएका छन् भने सबैभन्दा कम मुल्तबीमा मुद्धा फछ्र्यौट भएको छ । अधिवक्ता अप्सरा बस्नेतका अनुसार सम्बन्धविच्छेद बढ्दो रहेको छ । बैदेशिक रोजगारका साथै मादकपदार्थ सेवनका कारण बढी सम्बन्धविच्छेद हुने गरेको उहाँले बताउनुभयो । ‘श्रीमान र श्रीमती एकअर्काका विचार मिल्दैन अनि महिला घरमा कामधन्दा तथा बच्चा स्याहार र पुरुष रोजगारको शिलशिलमा बाहिर हुन्छन् । जसले एकअर्काका बीचमा मनमुटाव भई शंका पैदा गर्दछ ।’ अधिवक्ता बस्नेतले भन्नुभयो– ‘कसैको रोजगारको शिलशिलमा विदेशमा श्रीमान हुन्छ । यस्तै, स्वदेशमा रहेका श्रीमती भने अर्कैसँग घर बिगारेर दोस्रो पुरुषसँग विवाह गरिसकेका हुन्छन् । यस्ता थुप्रै कारणले सम्बन्धविच्छेद हुने गरेको छ ।’

अहिलेको युगमा जब महिला शिक्षित तथा आफ्ना अधिकारबारे बुझ्ने भए, तब सम्बन्धविच्छेदका घटना बढेको अधिवक्ता बस्नेतले बताउनुभयो । शहरी क्षेत्रकै विवाहित महिला तथा पुरुषको सम्बन्धविच्छदे बढि रहेको उहाँले जानकारी दिनुभयो । कानुनीरुपमा हेर्दा महिला तथा पुरुष दुबैका कारण सम्बन्धबिच्छेद भएको उहाँले बताउनुभयो । ग्रामीण तथा विकट क्षेत्रका महिला नै शिक्षित छैन, जुन क्षेत्रमा यस्ता सेवाको नै पहुरुच नभएका कारण भने मुद्धा दर्ता कम भएको बस्नेतले जानकारी दिनुभयो ।

सम्बन्धविच्छेदको मुद्धामा प्रतिउत्तर दिन आएका वडा नम्बर १८ का ३१ वर्षीय अजय (नाम परिवर्तन) भन्नुभयो— ‘मलाई मेरो श्रीमतीले सम्बन्धविच्छेदका लागि मुद्धा दर्ता गरेकाले अदालतमा प्रतिउत्तर दिन आएको छु ।’ मागी विवाह भए पनि रोजगारका शिलशिलामा बाहिर हुँदा मुद्धा दर्ता गरेको उहाँले बताउनुभयो । अब कुनै पनि हालतमा मेलमिलाप पनि नहुने उहाँले जानकारी दिनुभयो । आफ्नो इच्छा, चाहनाअनुसार जिउने पाइने भएकाले सम्बन्धविच्छेदले दुबैलाई फाइदा हुने उहाँले बताउनुभयो । अनेकौं तनाव लिनुभन्दा सम्बन्धविच्छेदको मुद्धामा सहमति दिएर हस्ताक्षर गर्ने तयारीमा अदालत आएको उहाँले बताउनुभयो । श्रीमती माइतीमै रहेको पनि उहाँले जानकारी दिनुभयो ।

कानुन मानब, समाज, राष्ट्र र विश्वलाई शान्त, व्यवस्थित एवम् गतिशील बनाउने संहिता रहेकाले मानिसहरु कानुनी उपचारका लागि अदालत धाउने गर्दछन् । तर पछिल्लो समयमा भने कानुनी उपचार खोज्ने क्रममा सम्बन्धविच्छेदका विकृति फैलिएका छन् । यसले दुबै दम्पत्तीका परिवारमा हानि तथा शारीरिकसाथै मानसिकरुपमा समेत असर पर्दछ । भनिन्छ– पुरुष र महिला एक रथका दुई पाङ्ग्रा हुन् । जनचेतनाको कमी वा आफूखुसी जिउने शैलीले सम्बन्धविच्छेद हुने परिपाटी बढ्नु दुःखद् कुरा हो । लैंगिक हिंसा बढ्नु पनि सम्बन्धविच्छेदको प्रमुख कारण हुन् । जसले पितृसत्तात्मक शैली तथा सोचलाई अवलम्बन गरिएको पाइन्छ । एक रथका दुई पाङ्ग्रा भएपछि एकअर्काका भावना र विचारलाई आत्मसम्मान तथा बुझ्नुपर्दछ । सम्बन्धविच्छेदका घटना बढ्नुमा सम्बन्धित निकाय तथा सरोकारवालाहरुले कारणसहित यसको समाधान खोजी गर्नु आवश्यक देखिन्छ ।