हेटौंडा । कोरोना भाइरस संक्रमणको जोखिमका कारण मकवानपुर जिल्लामा जारी निषेधाज्ञा १० दिन थप भएको छ । गत वैशाख २० गतेबाट सुरु भएको निषेधाज्ञा आगामी साउन २४ गतेसम्म थपिएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकको निर्णयबमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार सूचना जारी गर्दै निषेधाज्ञा १० दिन थप भएको जानकारी दिएको छ । बैठकले कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै जारी निषेधाज्ञालाई साउन २४ गतेसम्म थप गर्ने निर्णय गरेका कारण निषेधाज्ञाको आदेश जारी गरिएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जारी गर्नुभएको निषेधाज्ञा आदेशमा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यान्न व्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म गैरखाद्यान्न व्यवसायहरु सञ्चालन गर्न अनुमति दिएको छ । यसअघिको निषेधाज्ञाको आदेशलाई नै निरन्तरता दिइएको हो ।