अहिलेको परिस्थिति एकदमै कठिन रहेको छ । कोरोना महामारीका कारण सबै प्रकारका स्कूल, क्याम्पसको पढाई अनलाइनमार्फत् भइरहेको छ । अनलाइनमार्फत् भइरहेको पठनपाठन पूर्ण नयाँ तरिकाजस्तो भएको छ । पहिला खाना खाने, स्कूल जाने, पढ्ने, साथीसँग खेल्ने, घरमा आएर गृहकार्य गर्ने, बेलुकाको समयमा अभिभावकसँग कुरा गर्ने, खाना खाने अनि सुत्ने गर्दा बालबालिकाको दैनिकी नै फरक हुन्थ्यो । बालबालिका पूरा समय व्यस्त हुन्थे । तर, अहिले धेरै समय बालबालिका मोबाइल र कम्प्युटरमा बस्नु परेको छ । अतिरिक्त क्रियाकलाप पनि हुँदैन ।
अभिभावकहरु सबै आ–आफनो काममा व्यस्त हुन्छन् । बालबालिका एक्लै बसेर पढ्नु परेको छ । आफ्ना साथीहरुसँग भेटघाट गर्न पाएका हुँदैनन् । भेट भएपनि मोबाइलमार्फत् एकैछिन हुन्छ । उनीहरुको मिल्ने साथी नै मोबाइलजस्तो भइसक्यो । उनीहरुमा प्रविधिको ओभरयूज भइरहेको छ । जसले गर्दा उनीहरुमा आउने प्रायः शारीरिक तथा मानसिक सबैखाले असर देखिन्छ ।
आफ्नो साथमा मोबाइल भएपछि पढाइमा भन्दा पनि मोबाइलमा अन्य कुरा हेर्ने बानि पर्छ । जसका कारण बालबालिकाको पढाइमा ध्यान केन्द्रित गराउन गाह्रो हुन्छ । अभिभावक आफ्नो काममा गएपछि बालबालिकाको साथमा मोबाइल भएपछि उनीहरुको ध्यान पढाइतिर जाला त ?
अर्काे कुरा बालबालिकाको सामाजिकीकरणमा पनि समस्या भएको छ । उनीहरु सामाजिकीकरणको क्रममा आवश्यक पर्ने समस्या समाधान गर्ने पक्षबाट पनि वञ्चित भएको पाइन्छ । विद्यालय नगई भर्चुअल विधिमार्फत् अध्ययन गर्दा उनीहरुको समग्र विकासलाई नै असर परेको छ ।
अभिभावकमा बालबालिकाहरु मोबाइल, टिभी, कम्प्युटरमा भुलिरहेका छन्, हामीहरुले ढुक्कले आफ्नो काम गर्न पाउँछौं भन्ने सोच हुन्छ । अर्कोतिर बालबालिकाहरु अब हामी के गर्ने भन्ने नै थाहा हुन्न । उनीहरु सोच्छन्, हाम्रो काम नै मोबाइलमा रमाउने हो । उनीहरु अरु कुनै विकल्प खोज्दैनन् । आफूलाई के गर्दा खुसी मिल्छ भन्दै मोबालमा टिकटक, फेसबुक चलाउन र गेम खेल्नतिर रुचाउँछन् । यसरी उनीहरुको पढाइ खस्किन थाल्छ ।
बालबालिकाले साथीहरु भेट्न पनि पाइँदैन, अनलाइन कक्षा पढ्न कस्तो बोर लाग्छ भन्ने गरेको हामी सुन्छौं । आफ्नो मिल्ने साथीलाई अनलाइन कक्षामा हेर्न त पाइने तर, उनीहरुबीच अन्तरक्रिया हुन नपाउँदा उनीहरु अनलाइन कक्षा पढ्न अल्छी मान्ने गर्छन् ।
अहिले अनलाइन कक्षा भनेपछि सबै बालबालिकाको हातहातमा मोबाइल रहेको छ । लागूपदार्थको जसरी लत लाग्छ, त्यस्तै अहिलेको अवस्थामा बालबालिकामा पनि मोबाइलको लत लागेको छ । अनलाइन कक्षा र आफ्नो समय बिताउन भएपनि मोबाइलमा व्यस्त हुन्छन् ।
बालबालिकाले भौतिक कक्षा पढ्न पाउँदा आफूमा भएको क्षमता केही न केही माध्यमबाट प्रस्तुत गरिरहेका हुन्थ्ये । कथा पढेर, कविता लेखेर, कक्षामा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलापमा रमाइलो गरिन्थ्यो । गीत गाउने, गजल भन्ने साथीसँग घुलमिल गर्ने, खेल्ने गरेर आफ्नो तनाव समाधान गर्थे । तर, अहिले उनीहरुले अवसर पाएका छैनन् । नयाँ वातावरणमा नयाँ तरिकाले शिक्षा आर्जन गर्नुपरेको छ । घरभित्रै बस्नु परेको छ । साथीभाइ भेट्न पाएका छैनन् । पहिला गर्ने सबै क्रियाकलाप बन्द भएको छ ।
घरमा बसिरहँदा बालबालिकाको शरीर त्यती हलचल हुन पाउँदैन । घाँटीको मांसपेशी दुख्ने, अनलाइनमार्फत् पढ्दा धेरै मोबाइल, कम्प्युटर हेर्नुपर्दा आँखा दुख्ने समस्या देखिन्छ । हुन त अनलाइन प्रविधि अहिलेको समयमा वरदान सावित भएको छ । यति नगरेको भए अझै समस्या आउनसक्थ्यो । अनलाइन कक्षा असामान्य परिस्थिमा बाध्यात्मक छ । अहिले बालबालिकाहरु घरभित्रै बसेर अनलाइन कक्षा लिइरहेका छन् । यस अवधिमा उनीहरुमा आएको परिवर्तनबाट यसको असर थाहा पाउन सकिन्छ ।
अहिले सानासाना बालबालिकाले मोबाइल चाहियो, ल्यापटप चाहियो भन्ने, रिसाउने, मन दुःखी बनाइराख्ने गरेको पाइन्छ । अनलाइन कक्षा सुरु भएपछि बालबालिकालाई मोबाइल दिएको हुन्छ, पढ्न भनेर । उनीहरु पढ्नभन्दा मोबाइलमा अरु नै चलाउँछन् । अभिभावकलाई छोराछोरी के गरिरहेका छन् भन्ने कुराको जानकारी हुँदैन । शहरी क्षेत्रमा यस्तो हुन्छ । ग्रामीण क्षेत्रमा कति विद्यार्थी पढ्छु–पढ्छु भन्दा पनि पाइराखेका हुँदैनन् । कसैको अभिभावकको नेट नचल्ने सानो मोबाइल हुन्छ । अलि विकट ठाउँमा नेट चल्दैन । सबै विद्यार्थीको समस्या एउटै हुँदैन । सबै सुविधासम्पन्न भएका बालबालिकाहरु मोबाइल पाएपछि अनलाइन पढाइमा मन लगाउँदैनन् ।
अनलाइन कक्षासँग मात्र सम्बन्धित कुरा हैन, यो अहिलेको अवस्था नै त्यस्तै छ । यो बाध्यता हो अनलाइन कक्षाबीच हुने ब्रेक तथा कक्षा सकिएपछिको समयमा उनीहरुले मन पराउने अन्य कार्यक्रम बनाइदिन सकिन्छ । जसले गर्दा अरु कुरातिर उनीहरुको ध्यान जाँदैन । अभिभावकहरुले पनि आफ्नो बच्चाको पढाई कस्तो छ ? पढाइमा ध्यान लाउँछ कि लाउँदैन ? नभए छोराछोरीको पढाइ हुँदा छेउमा बसेर हेर्ने, उनीहरुले नजानेको कुरा सिकाउने, उनीहरुको साथीजस्तो बनेर मिल्ने गर्नुपर्छ । अनि बालबालिकाको ध्यान पढाइमा जान्छ ।
अभिभावकसँगै शिक्षकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । हुन त अहिलेको अवस्थामा शिक्षक आफैं तनावमा हुनुहुन्छ । नयाँ प्रविधिसँग आफूलाई मिलाउन शिक्षकलाई पनि समस्या हुन्छ । यसमा उमेर समूह अनुकूल पनि फरक पर्छ । नयाँ पुस्ताका शिक्षक हुनुहुन्छ भने स्थितिअनुसार प्रविधिको प्रयोगकै विषयले तनाव हुन्छ ।
शिक्षकहरु अभिभावक भएको नाताले परिस्थिति समाधान गर्नुपर्छ । बालबालिकालाई अनलाइन कक्षासँगै उनीहरुको समूह विभाजन गरेर मिल्ने साथीहरुसँग कुराकानी गर्न दिने, त्यसबीच भएको कुराकानी कक्षामा भन्न लगाउने गर्नुपर्छ । यसो गर्दा विद्यार्थीमा रमाइलो खुसीको अनुभव हुन्छ । र पढ्न रुचाउँछन् ।
प्रविधिको प्रयोगले थप नयाँ कुरा पनि सिकाएको छ । लेक्चरबाहेक अडियो वा भिडियो सुनाएर पढाउन सकिन्छ । भिडियो हेर्दा, अडियो हेर्दा खुसीको अनुभव गर्न पाउँछन् । पढाइ पढाइ भन्ने गरेका कारण पनि बालबालिकाहरु अनलाइन कक्षा पढ्न नमान्ने गर्दछन् । यस्ता कुरालाई ध्यान दिए परिस्थितिलाई समाधान गर्न सकिन्छ । उनीहरुको तनावलाई पनि व्यवस्थापन गर्न सकिन्छ ।