हेटौंडाः बागमती प्रदेशको दिगो विकास लक्ष्यको प्रगति अवस्थाको बारेमा प्रदेशस्तरीय समीक्षा कार्यक्रम सम्पन्न भएको छ । दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपाल बागमती प्रदेशको आयोजनामा भर्चुअल माध्यमबाट समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

बाल कल्याण समाजका अध्यक्ष एवम् दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपाल बागमती प्रदेशका संयोजक प्रकाश खतिवडाको अध्यक्षता एवम् सहजीकरणमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका राष्ट्रिय संयोजक दयासागर श्रेष्ठले कार्यपत्र प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यपत्रमा दिगो विकासका अवधारणा, यसका १७ वटा लक्ष्य, परिमाणात्मक लक्ष्य तथा सूचकहरु, दिगो विकास लक्ष्यको महत्वलगायत प्रगतिको बारेमा चर्चा गरिएको थियो ।

श्रेष्ठले कार्यपत्रमार्फत् दिगो विकास एजेण्डाको कार्यान्वयनमा कोभिड १९ ले पारेको प्रभावको बारेमा समेत स्पष्ट पार्नुभएको थियो । संयोजक श्रेष्ठले दिगो विकासका १७ वटा लक्ष्य, ४ सय ७९ वटा सूचक र एक सय ६९ वटा परिमाणात्मक लक्ष्य पूरा गर्न सरकारसँगै बसेर सहकार्य गर्न नागरिक समाज नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारको आवधिक र वार्षिक योजनामा दिगो विकास लक्ष्य पूरा गर्ने आयोजनाहरु के के छन् र तिनले कसरी दिगो विकासका लक्ष्य पूरा गर्दैछन् भन्ने बारेमा परिणाममुखी तथ्यांकका आधारमा सरकारसँगै रहेर अनुगमन गर्न उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)का बागमती प्रदेश संयोजक कृष्ण गौतम, गरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश इन्चार्ज बुद्धशरण लामा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष दामोदर अर्याल, महिला अधिकारकर्मी एवम् राजनीतिमा महिलाको सुनिश्चितता गर्ने अभियानका अभियन्ता सरस्वती बर्तौला, मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष एवम् सरकारी आन्दोलनका अभियन्ता कल्पना श्रेष्ठलगायतले दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकार र नागरिक समाजको सहकार्य आवश्यकता रहेको बताउनुभयो । उहाँहरुले स्थानीय तहका वडावडामा दिगो विकास लक्ष्य प्राप्तिका लागि कार्यक्रम हुनुपर्ने, दिगो विकास लक्ष्यको उपलब्धी मूल्यांकन र विश्लेषण हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रममा सुस्त श्रवणशक्ति भएकाहरुलाई सरस्वती कटुवालले दोभाषेको रुपमा सहजीकरण गर्नुभएको थियो । बाल कल्याण समाजका सचिव एवम् मेन इन्गेज एलायन्स मकवानपुरका सचिव कमल फुयाँलले कार्यक्रमको रिपोर्टिङ गर्नुभएको थियो ।

कार्यक्रममा नागरिक समाज मञ्चका अध्यक्ष एवम् गैरसरकारी संस्था महासंघ मकवानपुुरका उपाध्यक्ष रमिला सापकोटा, बाल कल्याण समाजका उपाध्यक्ष मालती विश्वकर्मा, कानुनी अधिकारकमी अधिवक्ता अप्सरा बस्नेत, मामाघर नेपालका संरक्षक अर्पण पराजुली, एनएसीजी नेपालका कार्यालय प्रमुख नुरजंग शाह, डेक नेपालका मानबहादुर वाइवा, हिमराइट्सका कुमारी वाइवा, शान्ति फाउन्डेशनका सीता गुरुङ, ग्रामीण महिला सेवा केन्द्रका दीप न्यौपाने, सिविनका झविन्द्र ज्ञवाली, गोविन्दप्रसाद सापकोटा, त्रिलोकचन्द्र विश्वास, नवराज पहाडी, खेटराज अधिकारीलगायतले दिगो विकासका सवालमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

सहभागीहरुबीच प्रदेश सरकार र स्थानीय सरकारका कार्यक्रमको प्रभावकारिता, सरकारका सबल र सुधार गर्नुपर्ने पक्षहरु, दिगो विकास लक्ष्य पूरा गर्न प्रदेश र स्थानीय सरकारबीचको समन्वय र सहकार्यको अवस्था, प्रदेश र स्थानीय तहमा नागरिक संस्थाहरुको सहभागिता र पारदर्शिता, भौतिक विकास र सामाजिक विकासको अवस्था विश्लेषण, कोभिड १९ लाई परास्त गर्न प्रदेश सरकार र स्थानीय सरकारले गरेको राम्रो प्रयास र सुधार गर्नुपर्ने कुराहरुका बारेमा छलफल भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष खतिवडाले दिगो विकास लक्ष्यले कसैलाई पछाडि नपारौं भन्ने बाचा गरिएको बताउँदै आवाजबिहीनहरुको आवाज समेटिएको र सरकारले समेत अपनत्व लिएको महत्वपूर्ण दस्ताबेज भएको जानकारी दिनुभयो । उहाँले दिगो विकास लक्ष्यअनुरुप स्थानीय पालिकाबाट सोचेजस्तो प्रभावकारी कार्यान्वय हुन नसकिरहेको अवस्थामा नागरिक समाजले खबरदारी गर्न आह्वान गर्नुभयो ।