प्रसंग राजनीतिक होइन । तर पनि द्वन्द्वात्मक भौतिकवादले अघि सारेको एउटा सिद्धान्त राख्न चाहन्छु । यसले इंगित गरे अनुसार हरेक परिणामको पछाडि कुनै न कुनै कारण जोडिएको हुन्छ भने हरेक कारणले कुनै न कुनै परिणाम लिएर आउँछ । यसअनुसार संसारमा कुनै पनि कुरा आफैं हुन सक्दैन । कुनै न कुनै दृश्य-अदृश्य, प्रत्यक्ष-परोक्ष, तात्कालीन/दीर्घकालीन आदि कारणहरूले नै त्यहीअनुसारका परिणाम दिने गर्दछन् । हुन त व्यक्तिगत रुपमा भन्नुपर्दा यस पंक्तिकार यो सिद्धान्तको न उति ठूलो हिमायती हो न त विरोधी नै । तर पनि तपाईँ–हाम्रो जीवनयापनका क्रममा यसले भन्न खोजेको मर्म धेरै अर्थमा सान्दर्भिक देखिन्छ ।
कार्लमाक्सको द्वन्द्वात्मक भौतिकवाद मात्र होइन कारण र परिणामका कुराहरु हरेक प्रकारका धार्मिक ग्रन्थहरुमा पनि उल्लेख छन् । कर्म अर्थात् काम गरेअनुरुप नै फल प्राप्त हुन्छ भन्ने कुरा हिन्दू धर्मशास्त्रहरूमा प्रशस्तै उल्लेख भएको पाइन्छ । हिजो गरिएका कामहरूको पूर्ण आज प्राप्त भइरहेको छ भने मानिसले आज गर्ने कामहरुको परिणाम भोलिका दिनमा प्राप्त गर्नेछ । सर्वप्रथम हाम्रा केही पर्यावरणीय उदाहरणहरू नै लिऊँ । हरेक ढुंगेधाराहरुमा पर्याप्त मात्रामा पानी आउने काठमाडौंमा रुखबिरुवाहरु मासिने जानेर घर-संरचनाहरूको अत्यधिक निर्माण भएका कारण अहिले पानी आउन लगभग बन्द भइसकेको छ । विकासका नाममा डाँडाकाँडामा डोजर चल्न थालेदेखि त्यस्ता ठाउँहरुमा पहिरोको जोखिम पनि बढ्दै गएको छ । खोलाकिनारका गिटीबालुवाको उत्खनन बढ्न थालेदेखि नदीहरुले बहाव परिवर्तन गर्ने जसका कारण कटान हुने, खेतीयोग्य जमिन बगरमा परिणत हुने, घरबस्ती डुबान हुने, धनजनको क्षति हुने जस्ता समस्याहरु बढ्दै गएका छन् ।
अर्कातिर स्वास्थ्यसम्बन्धी प्रसंगलाई हेर्ने हो भने पनि अवस्था यो भन्दा फरक देखिन्न । मानिसहरूमा अहिले स्वास्थ्य सम्बन्धी सचेतना पहिलेभन्दा बढी छ । तर त्यो सचेतना आफ्नो स्वास्थ्यको बचाउका लागि भन्दा पनि समस्या आएपछि उपचारका लागि बढी छ । कति मानिसहरू आफ्नो समस्या लिएर डाक्टरकोमा जाने बेलामा धेरै ढिला भइसकेको पनि देखिन्छ । त्यसैगरी डाक्टरले भनेपछि मर्निङ वाकमा जाने, शारीरिक व्यायाम गर्ने र बल्ल स्वास्थ्यप्रति सचेत हुन खोज्नेको जमात बढ्दै गइरहेको छ । जे जसरी भए पनि स्वास्थ्यलाई सुधारात्मक अवस्थामा लैजान खोज्नु आफैंमा राम्रो कुरा हो । सामान्य मानिसले आज गरेको कामको फल आज नै लिन खोज्ने र भोलिको परिणामको चिन्ता नगर्ने देखिन्छ । तर बुद्धिमान मानिसले भोलि आउन सकने परिणामको विचार गरेर मात्र आजको दिनमा काम गर्नुपर्ने हुन्छ ।
भनिन्छ, जीवन सरल रेखामा चल्न सक्दैन, जसरी इलेक्ट्रोकार्डियोग्राफमा हेर्दा मुटुको धड्कन देखाउने रेखा तल र माथि गरिरहे मात्र मानिस जीवित रहेको र सीधा रेखामा चलेको अवस्थामा जीवन नरहेको पुष्टि हुन्छ । उतारचढावहरू आउनु जीवनको मात्र होइन संसारकै नियम हो । अंग्रेजीमा एउटा भनाइ छ, ‘त्यो व्यक्ति मात्र राम्रो डुंगा चालक बन्न सक्छ जसले छालहरूमा डुंगा चलाउन सिकेको हुन्छ ।’
संसारमा मानव जाति मात्र एउटा त्यस्तो प्रजाति हो जसले सदियौंदेखिका बानी–व्यवहार तथा विवेकलाई समयक्रमसँगै व्यवस्थित गर्दै ल्याउन सकेको छ । वास्तवमा अहिलेको समय आधुनिक कालको सबैभन्दा ज्ञानमय समय हो । अहिले जीवनका जुनसुकै पाटाहरूलाई भनेजसरी अगाडि बढाउन चाहिने ज्ञान जोसुकैले जहिलेसुकै पनि प्राप्त गर्नसक्ने अवस्था छ । धेरै मानिसले आफूलाई चाहिने पर्याप्त ज्ञानको प्रयोग गरेर कयौं क्षेत्रमा सफल भइसकेका वा भइरहेका पनि छन् ।
फेरि अहिलेको अवस्था कस्तो पनि छ भने धेरै मानिसले आफ्नो जीवनको सबै क्षेत्रको अलिअलि लिने तर पनि कुनै पनि क्षेत्रमा पर्याप्त ज्ञानको चाहिँ कमी नै भइरहने देखिन्छ । कुनै पनि कुरामा समय लगाएर ज्ञान लिने, सोहीअनुरुप कर्म गर्ने, राम्रो परिणामको लागि धैर्य गर्ने तथा ज्ञानको दायरालाई अझै फराकिलो गर्ने कुरामा मानिसहरू चुकिरहेका देखिन्छन् । धेरै मानिसहरूलाई हेर्दा यस्ता लाग्छन् उनीहरूमा जीवनयापन तथा व्यवहारका सबैखाले ज्ञान छ तर चाहिने जति ज्ञान कुनै पनि छैन ।
नेपालीमा एउटा भनाइ छ ‘जीउ रहे घिउ खाइन्छ ।’ मानिसले देश–दुनियाँका बाहिरी कुराहरूको जति नै सुकै ज्ञान राखेपनि समय छँदादेखि नै आफ्नो जीवन तथा अमूल्य स्वास्थ्यको बारे पुरापुर ज्ञान राख्ने कुरामा धेरै हदसम्म जुन खालको कमजोरी देखिन्छ, त्यसलाई सक्दो छिटो हटाउनुपर्ने देखिन्छ । अनि यसरी प्राप्त गरेको व्यवहारिक ज्ञानका अनुसार नै आफ्नो दैनिक व्यवहार चलाउन सकेमा नै मानिस बाहिरबाट मात्र नभई भित्रैबाट जीवनमा सफल ठहरिन्छ । जसरी बाहिरी दुनियाँको ज्ञानको कुनै सीमा छैन, त्यसैगरी मानिसको आन्तरिक जीवन ज्ञानको पनि कुनै सीमा छैन ।
हाम्रो समाजमा लामो समयदेखिको मानव अभ्यास तथा अनुभवले धेरै कुरामा मानिसहरू जानकार भइसकेका छन् । यहाँ केही त्यस्तै जानकारी राख्न खोजेको छु, जसले तपाईँ-हाम्रो जीवनको आन्तरिक पक्ष तथा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्दछन् ।
– स्वस्थ रहनु निःशुल्क वा एकदमै कम खर्चिलो छ, जति खर्चिलो रोग लागेपछि गरिने उपचार हुन्छ ।
– शारीरिक व्यायाम, व्यवस्थित खानपान तथा पर्याप्त आरामका लागि समय नहुनेहरूका लागि अस्पतालमा भर्ना भएर बस्नका लागि प्रशस्त समय हुन्छ ।
– जिउ तन्काउन (शारीरिक परिश्रम हुने काम गर्न) अल्छी भएका कारण रोगी हुने धेरैजसो मानिसहरू पछि गएर फिजियोथेरापी सेन्टरमा भेटिनेछन् ।
– सानो छँदा अनिच्छापूर्वक छात्रावासमा राखिएका छोराछोरीहरूले पछि गएर आफ्ना बाबा–आमालाई पठाउने ठाउँ वृद्धाश्रम हो ।
– गाडीको सर्भिसिङ गर्न खर्च लाग्छ भनेर लोभ गर्नेहरूले नै गर्नु पर्दछ गाडी बिग्रिएर बनाउनु पर्दा ठूलो रकमको बिल भुक्तानी ।
– आफ्नो स्वास्थ्यलाई वास्तविकरुपमा माया नगर्नेहरूले नै डाक्टरलाई आफ्नो भगवान मान्न बाध्य हुन्छन् ।
– आफ्नो शरीर र स्वास्थ्य आफैंले सम्हाल्न सक्नेहरूले नै पछि गएर आफ्नो शरीरलाई अस्पतालमा गएर सुम्पनुपर्ने हुन्छ ।
– आफ्नो शरीर र स्वास्थ्यलाई बेलैदेखि विचार नगर्नु भनेको आफ्नो जीवनको तालाचाबी अरुको हातमा सुम्पने तयारी गर्नु हो ।
– आफूले आफूलाई शासन गर्न वा अनुशासनमा बस्न सकिएन भने अरु कसैले हामीमाथि शासन जमाउँछन् । जस्तै, समाज, राज्य, कानुन, रोग, अभाव, समस्या आदि ।
– तिनीहरूलाई पछि गएर गुलियो खान बन्देज लाग्छ, जो पहिले चाहिनेभन्दा बढी गुलियो खाने गर्दछन् ।
– बलियो र स्वस्थ हुनका लागि जति सक्दो खानुपर्छ भन्नेहरूका लागि नै पछि गएर खान मिल्ने खानेकुराको सूची छोटो हुने गर्दछ ।
– अधिक मात्रामा स्वतन्त्रताको उपभोग गर्नेलाई छिट्टै नै कुनै न कुनै खालको बन्धन प्राप्त हुन्छ ।
– स्वास्थ्य, पढाइ, सफलता, पेशा–व्यवसाय, रोजगारी आदि कुरामा अहिले किन धेरै टाउको दुखाउनु, पछि विचार गरौंला नि भन्नेहरूले नै पछि ती कुराहरूको महत्व र आवश्यकता भएको बेलामा धेरै टाउको दुखाउनु पर्छ ।
– जो जो मानिसहरू प्रकृतिको विपरीत देखिने गरी लागेका हुन्छन् तिनीहरूलाई नै कुनै समयमा प्रकृतिले दण्ड दिने गर्दछ ।