देशभर यतिबेला कोभिड संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । यस तथ्यले कोभिडबाट समाज विस्तारै पूर्ववत अवस्थामा फर्कंदै गरेको प्रष्ट्याउँछ । तर जनस्वास्थ्य विज्ञहरु भने तथ्यसँग सहमत छैनन् । सरकारले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा बढाउँदै लगे पनि कोरोना परीक्षण भने घट्दै गएको छ । जसले गर्दा संक्रमितको संख्यामा उल्लेख्य कमी देखिएको हो । संक्रमण बढे वा घटेको तथ्यांकलाई संख्याबाट भन्दा प्रतिशतबाट मूल्यांकन गर्न आवश्यक हुन्छ । नेपालमा कोरोना परीक्षण गराएकामध्ये २२ प्रतिशत बढीमा संक्रमण देखिएको छ । यो प्रतिशत अत्यन्त जोखिम मानिने स्वास्थ्य विज्ञहरुको भनाइलाई विश्वास गर्दा अझै नेपालीहरु कोरोनाको भयावह अवस्थाबाट बाहिर आउन सकेको देखिँदैन । तर सरकारले निषेधाज्ञामा निकै खुकुलो बनाउँदै लगेको छ ।

सुविधासम्पन्न ठाउँमा कोरोना संक्रमण घटेकै हो । परीक्षणको सहज सुविधा भएका शहरमा मानिसहरु आफैं गएर परीक्षण गराएका छन् । तर दुर्गम गाउँहरुमा लक्षण देखिए पनि परीक्षण गराउँदैनन् । यसका लागि सामाजिक अवस्था र सोच मुख्य जिम्मेवार बन्ने गरेको छ । सामान्य ज्वरो, रुघा, खोकी त सधैं लागेकै हो नि, तर कोरोना देखिए सामाजिक मूल्य मान्यतादेखि स्थानीयहरुले गर्ने फरक व्यवहार सहनुपर्ने हुन्छ । यही डरले पनि लक्षण भएर पनि परीक्षण गराउँदैनन् । जब परीक्षण हुँदैन, तब संक्रमणको तथ्यांक कम हुँदै जानेछ । तर संक्रमण भुसको आगो झैं गाउँबस्तीमा बढ्ने खतरा विज्ञहरुले औँल्याएका छन् । मौसमी विरामीको बहानामा कोरोना परीक्षण नगर्नेहरुलाई परीक्षणका लागि उत्प्रेरित गर्नु आवश्यक छ ।

रोगप्रतिरोधी क्षमता बढी भएका मानिसहरुले कोरोनालाई सहजै पराजित गर्लान्, तर कमजोर क्षमता भएका र उमेरगतरुपमा वृद्धहरुको ज्यान जोखिममा पर्ने अवस्था छ । यसलाई नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुन्छ । जनप्रतिनिधिहरुले लक्षण भएकाहरुलाई परीक्षणमा जान प्रेरित गर्न आवश्यक छ । राज्यले पनि प्रत्येक टोलमा परीक्षणको सुविधा दिन सक्नुपर्नेछ । कोरोना ठिक भइसकेको तथ्यांक पेश गर्दै आफ्ना गतिविधिलाई सुचारु गर्नेदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालमा कोरोना कम भएको दावी पेश गर्ने रणनीतिभन्दा नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्नु पर्दछ । शहरीया तथ्यांकलाई आधार मान्दै कोरोना नियन्त्रणमा सरकार सफल भएको दावी पेश गर्दै गर्दा यसले गाउँबस्ती नै सखाप हुनेतर्फ सचेत हुनु आवश्यक छ ।

मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या दैनिकरुपमा कम हुँदै गएको छ । परीक्षण पनि कम छ । बिरामीले परीक्षण नगरेका हुन् वा मानिस बिरामी नै नपरेका हुन् भन्ने अध्ययन हुन आवश्यक छ । संक्रमण कम भएको अंकका आधारमा निषेधाज्ञा पनि निकै खुकुलो बनाइएको छ । मानिसहरुको जमघट कम गराएर व्यवसाय गर्न दिइने भनिएको छ । तर पसल खोलेपछि कति मानिस आउँछन् भन्ने व्यवसायीले हिसाब राख्ने कुरा हैन । व्यापार व्यवसाय सुरु गरेपछि भिडभाड हुनु स्वभाविक हो । तर नागरिक स्वयम्ले आफ्नो व्यवहारमा सुधार नगर्ने र होशियारी केवल राज्यका लागि मात्र ठान्ने प्रवृत्ति थप घातक हुनसक्छ । महामारी नियन्त्रण गर्ने, परीक्षणको दायरा बढाउने र संक्रमण देखिएकालाई अरुबाट अलग राख्नु नै नियन्त्रणको मुख्य आधार हो ।