कोही भुँडी घटाउन, कोही मोटोपनलाई डाँडो कटाउन, कोही बोसो पगाल्न, कोही बेलुकाको ह्याङ्ओभरलाई फाल्न, कोही फ्रेनसिपसँग भुल्न, कोही खुल्ला वातावरणमा रहल्लिएर डुल्न एकाबिहानै मर्निङवाकको नाउँमा शहरका विभिन्न ठाउँमा हिँड्ने र कोठामा आएपछि दुध,चना अन्डा जस्तो पौष्टिक आहाराको साहारा लिने तपाई हाम्रो बानीलाई सबैले जानी राखेकै हो ।
म सानो हुँदा पिता लेकबाट भोको पेटमा दाउराको डोको बोकेर उज्यालो हुँदा बेशीमा आइपुग्नु हुन्थ्यो । अनुहारभरी पसिना तरतरी छुट्थ्यो । दाउराको भारी खनाउँदा आएको आवाजले बल्ल अरु उठ्थे । एकचोटीमा एकमाना घिउ खाए पनि जिउमा केही असर गर्दैन थियो । असी पुग्न लागिसक्दा पनि सिङ्गै खसी लतारी दिनुहुन्थ्यो ।अहिले आफूले भन्ने टन्न पानी खाँदा पनि एकछिनपछि हाच्छियूँ आएर जिउ दुख्न थाल्छ ।“ उहिलेका कुरा खुइलिए अहिलेको कुरा फैलिए“ भनेझैं उति बेलाका कुरा सुन्दा अहिले दन्ते कथाझैं लाग्दछ । अहिलेका मान्छे दश थरीका रोगी, मर्निङवाकका भोगी भएको र आफूलाई समेत मर्निङवाकको रोगले सताएको हुँदा सदाझैं बाटो तताएँ शहरको खुल्ला सार्वजनिक चौरतर्फ ।
सिमसिम पानी परिरहेको थियो । सो चौर वरिपरी केही नेतागण र भद्रभलादमीहरु जम्मा भएका रहेछन् । मैले सोचे आज कुनै दिवस रहेछ क्यार । तर कुरो अर्कै रहेछ एकछिनपछि एकजना मित्र माइक लिएर उद्घोष गर्न लागे । सबै दलका शिष्ट, विशिष्ट, वरिष्ट, कनिष्ट, घनिष्ट, भातृसंगठन, मातृसंगठन, चुच्चोसंघ, बुच्चोसंघ, कालोसंघ, गोरोसंघ, नारीसंघ, दारीसंघ, टुपीसंघ, चुपीसंघ, आउरे, बाउरे सबै संघ संगठनका नेताहरुलाई पुकारियो र मन्चमा थुपारियो।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागतानन्द शर्माले भन्नु भयो–“पेटमा कसरी पिण्डपानी पार्ने भन्दा पनि परेकोलाई कसरी तल झार्ने भन्ने समस्याले सताएको सन्दर्भमा आज शिलान्यास हुने शौच भवनले समाधानको सहज निकास दिने हुँदा सरकारलाई घुर्क्याउने र जतापायो त्यतै तुर्क्याउने कार्यको अब अन्त्य हुने छ ।“
बल्ल मलाई थाहा भयो शौचालय भवनको शिल्यानास कार्यक्रम भैरहेको रहेछ । खादा कुमारी र माला देवीले मन्चमा आसिन अथितिहरुलाई खादा र माला लगाउदै उहाँहरुको सम्मान जगाउन व्यस्त थिएँ । “आज धेरैतिर कार्यक्रम जुधेछ“भनेर सबै कार्यक्रमा आफ्नो उपस्थिति जनाउने मन्चका मनकारी महोदयहरु आउदै र अथितिको बिल्ला लाउँदै थिए ।
उद्घोषक मित्रले शौचालय भवनको शिल्यानास स्थलतर्फ सबैको मन आकृष्ट गराउँदै–“सबै भन्दा पहिला माननीय फोहोर व्यवस्थापन मन्त्रीज्यूले शौचालय भवनको शिलान्यासको लागि दियो बाल्नु हुनेछ र कलश पुजेर भवनको जग हान्नु हुनेछ, त्यसपछि मन्चमा बस्नु हुने अन्य अतिथिहरुले पालैपालो शिलान्यासको लागि कम्मर कस्नु हुनेछ ।“ भन्नु भयो ।
शिलान्यासको कार्यकम प्रारम्भ भयो । कोही शिलान्यास गर्दा ताली बजाउने,कोही आगन्तुकसँग चिप्लो घसेर अवसरको फाइदा भजाउने,कोही मन्त्रीज्यू र अथितिगणहरुको ब्याज बांगो भएछ भनी सोझ्याई दिने,कोही हजुरको मोजा तल सरेर पिडौला नांगो भएछ भनी संझाई दिने,कोही कोटको टाक झर्न लागेछ भनेर देखाई दिने, कोही हजुरको नाकमा कमिलो पर्न लागेछ भनी झारी दिने जस्ता अति रोमान्चित दृश्यले कार्यक्रमको शोभा बढाई रहेको थियो ।
शिलान्यास सम्पन्न भएपश्चात मन्तव्य शुरु भयो । माननीय मन्त्रीज्यूले–“आस्था, विचार र मन्तव्य फरक रहेपनि उदरपूर्तिको गन्तव्य हाम्रो एउटै हो, खाने शिकार र परिकार फरक हुन सक्छन तर निस्कने बिकार उस्तै हो, जब शरीरको बिकार यथासमयमा निखार गरेर बिसर्जन गराउने अनुकुलस्थान र मौका पाउँदैनौं तब हामीलाई भित्रैदेखि डाहा, छटपटाहा भएर आउछ । काहाँ जाउँ के गरौं हुन्छ । त्यसै भएर तपाई हामी कहिले सडक किनारमा, कहिले नदीका आसपासमा र कहिले झाडीमा लुकेर द्रुतगतिमा मलमूत्र बिसर्जन गर्न बाध्य भएका हौं । आज साँझा रुपमा शिलान्यास भएको यस भवनले हाम्रो धेरै पहिलादेखि स्थापित शौचभवन निर्माणको सोचलाई सार्थक बनाउन बल मिलेको छ । ठूलो समस्या हल भएको छ ।“ भन्दै आफ्नो ओजपूर्ण अभिव्यक्ति अन्त्य गर्नुभयो ।
त्यसैगरी मन्चमा बिराजमान विभिन्न पार्टीका विशिष्ट व्यक्तित्वहरुले आफ्नो धारणा प्रष्ट पार्दै भन्नु भयो–“ शौचको उचित प्रबन्ध नहुँदा सुन्दर शहर पुरै गनाएको अवस्थालाई मध्यनजर राख्दै हामी आबद्ध पार्टीहरुले चुनावी घोषणपत्रमा शौचको समस्यालाई साँझा मुद्दा बनाएको हो । आज तपाईहरु माझ पनि हामी सबै उपस्थित भएर साँझारुपमा शिलान्यास गरेका छौ । ब्रम्हाले मानब शरीर निर्माण गर्दा कतिपय कुराहरुमा ध्यान नदिएको कारण हामीले भनि नसक्ना र गनि नसक्ना दुख खेपिरहेका छौ । मल मूत्र बिर्सजन गर्दा गाडीमा जस्तै केही बेर रोक्न मिल्ने ब्रेक राखिदिएको भए गन्तव्यमा नपुगेसम्म रोक्न वा च्यापेर शरीरभित्र बोक्न मिल्थ्यो । ब्रम्हाको भूलले गर्दा तपाई हामीले कहिले काही रुल नाघेर जथाभावी तुर्क्याउन बा गोब्य्राउन बाध्य हुनु परेको पीडालाई भनि साध्य छैन ।“
उहाँहरु पालैपालो भन्दै हुनुहुन्थ्यो– “बिग्रदो वातावरणको बिकराल समस्यालाई ध्यानमा राखेर नै खुला दिशा पिशाव मुक्त शहर हाम्रो रहर भन्ने नारालाई हाम्रो पार्टीले अघि सारेको हो । यो नारालाई साराले सार्थक बनाउन गरेको प्रयास स्वरुप गाउँदेखि शहरसम्म आज यो लहर चलेको हो । पेट खाली रहनु अर्कै कुरा हो, तर खाली पेटमा केही हाली सकेपछि त्यसलाई तारजालीले भित्रै अड्काएर राख्न मिल्दैन । विस्तारै रड्काएर बाहिर निकाल्नै पर्यो । सबैलाई देखाएर खाना उदरमा हाल्न मिल्ने तर सबैले देख्ने गरी गुदद्वारबाट फाल्न नमिल्ने अति गम्भीर समस्याको रुपमा रहेको छ । समस्यासँग डराएर भाग्ने होइन, सामाधानको लागि सबै लाग्ने हो ।“ भन्दै वक्ताहरुको भनाई सकिएपछि सभापतिबाट कार्यक्रमको अन्त गर्दै जन्त जाँदाको जस्तो गाडीकोलर्को कार्यक्रमस्थलबाट नजिकै रहको पार्टि प्यालेसतर्फ प्रस्थान गर्यो ।
यसरी उक्त कार्यक्रम हेरेर घरमा आएपछि मैले गहिरिएर सोचें–“राष्ट्रिय गौरबका कत्रकत्रा योजनाहरु त समयमा सम्पन्न नभई अलपत्र परेका छन् भने सो शौचालय सम्पन्न होला नहोला त्यो आफ्नै ठाउँमा छ । तर त्यसरी शिलान्यासको जिम्मेवारी भव्यसंग पुरा गर्ने हाम्रा मन्त्री र नेतागणले कुनै कामै गर्दैनन् भन्ने हुलसंग भने मेरो भित्रैदेखि आक्रोशको मूल फुटेर आयो ।“