आचार्य ॐ कारेश्वरानन्द अवधूत

माटोका गुणहरुः सुक्ष्म परमतत्वको सवैभन्दा स्थूल अवस्था पृथ्वी तत्व हो । परमात्माको मन क्रमशः आकाश–वायु–अग्नि–पानीमा रुपान्तरित हुँदै अन्ततः पृथ्वी वा माटोमा परिवर्तित भएको छ । अतः यसमा पाँचवटै महाभूतहरु समान मात्रामा विद्यमान हुन्छन् । प्रत्येक तत्वको सानोमा सानो अंश शव्द, स्पर्श, रुप, रस र गन्धको समायोजन माटोमा २०–२० प्रतिशत हुन्छ । अतः माटोमा रोगनिवारक शक्ति सवै पञ्चमहाभूतहरु मिलेर बनेको हुन्छ । यसको उपयोग प्राकृतिक चिकित्सामा विभिन्न तरिकाबाट गरिन्छ ।

चिकित्सामा प्रयोग गरिने माटोः उपचारका लागि उपयोेगमा ल्याइने माटो स्वच्छ, बिना ढुंगाको, मुलायम हुनुपर्दछ । फोहोर हुनुहुँदैन । सामान्यतः कालो माटो उत्तम मानिन्छ । खेतबाट पनि हुन सक्छ । प्रथम यस माटोलाई राम्ररी सफा गरेर चाल्नु पर्छ । बाह्र घण्टासम्म माटोको भाँडोमा भिजाएर राख्नुपर्छ । माटोलाई गिलो गर्दा एकै ठाउँमा पानी नमिसाएर विस्तारै पानी छर्नुपर्छ । नत्र त्यसमा गाँठाहरु पर्न सक्छ र पानीको साथमा एकनास हुँदैन । माटोमा यतिमात्र गिलोपन हुनुपर्छ कि प्रयोग गरिने माटो कपडाको पट्टीमा राम्ररी लगाउन सकिन्छ । रोटी बनाउनका लागि तयार गरिने पिठो जस्तै गिलो हुँदा राम्रो हुन्छ । शरीरमा सिधै माटो लगाउनाले अंग पटक–पटक पखाल्नुपर्छ वा चिसो लाग्न सक्छ । त्यसैले पट्टी बनाइन्छ ।

माटो–पट्टी बनाउने विधिः पट्टी तयार पार्नका लागि मसिनो र मुलायम कपडाको उपयोग गर्नुपर्छ । कपडामा ससाना छिद्र भयो भने शरीरलाई माटोको स्पर्श भएर आवश्यक लाभ प्राप्त हुन्छ । अधिक पुरानो कपडा पनि प्रयोग गर्न सकिन्छ । यस कपडालाई काठको चिल्लो सतहको माथि ओछ्याएर बीचमा माटोको पेष्ट राख्ने । कपडाका चारैतिरका किनारा मोडेर तयार गर्नुपर्छ । सामान्यतः पट्टीको मोटाई आधा इन्छ हुनु राम्रो हुन्छ । पट्टीको लम्बाई र चौडाई शरीरको कुन भागमा प्रयोग गरिने हो त्यसमा निर्भर गर्छ । कमजोर अवस्थाका बिरामीको कमजोर अंगहरुमा राखिने पट्टीको मोटाई चतुर्थ वा तृतीयांश इञ्चको बनाउन सकिन्छ ।

माटो–पट्टी प्रयोग गर्ने तरिकाः सामान्यतः चिसो माटो पट्टी आधादेखि एक घण्टासम्म राख्नुपर्छ । शरीरको गर्मीको कारणले माटो तातो भएपछि हटाउनुपर्छ । एक घण्टाको अन्तरमा बदलिनुपर्छ । सुरुमा त्यस भागमा अलिकति चिसो महसुस हुन्छ । केही समयपछि पनि जाडो महसुस भइरह्यो भने र बिरामीले नचाहेको खण्डमा पट्टी राख्नु पर्दैन । संयोगवसतः माटोपट्टी चालु रहेपछि शरीरका छाला र रक्तसञ्चार बन्द भएर त्यस अंगको शून्य/संवेदनाहीन हुने सम्भावना रहन्छ ।

माटो पट्टीको प्रभावः चिसो पानीको गिलो पट्टीबाट छाला खुम्चिन्छ । यस कारण माथिको रगत अवयवको गहिराईमा पुगेर कोषहरुलाई शुद्ध गरेर पोषण पनि दिन्छ । भित्री भागमा जम्मा भएको रगत हटेर सुजन र पीडा निको हुन्छ । यसैप्रकार घाउ भर्नका लागि माटोको प्रयोग उचित मानिन्छ । माटोले शरीरमा भएको विकार तानेर लिन्छ ।

सावधानीः माटोले शरीरभित्रका फोहर, विषद्रव्य र विकारहरु (टक्सिन) सोसेर लिन्छ । यसैकारण एक पटक प्रयोग गरिसकेको माटो दोस्रो पटक प्रयोग गर्नुहुन्न । यसले हानी हुन सक्छ । यसैले प्रत्येक पटक नयाँ र चिसो माटोपट्टीको नै प्रयोग गर्नुपर्छ । पट्टीको कपडालाई पनि हर समय धोएर सूर्यप्रकाशमा सुकाउनुपर्छ ।