हेटौंडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि तयार पारेको बजेट योजनामा खेलकुदलाई पन्छाएको छ । प्रदेश सरकारले ५७ अर्ब ७२ करोड रुपैयाँ बराबरको बजेट बिनियोजन गर्दा खेलकुद क्षेत्रलाई भने ०.५ प्रतिशत बजेट मात्र छुट्याएको छ ।

मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रदेश सरकारको आगामी आ.व.को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदा खेलकुदका विषयले राम्रो स्थान पाउनै सकेन । खेलकुदका लागि जम्मा २९ करोड रुपैयाँ मात्र बजेट बिनियोजन भएको उल्लेख छ । बजेट कार्यक्रमको बुँदा नं. ७१ मा युवा तथा खेलकुद कार्यक्रम अन्तर्गत प्रदेशभित्र निर्माणाधीन खेलकुद पूर्वाधारको निर्माण कार्य दुई वर्ष भित्र सम्पन्न गर्नका लागि २९ करोड रुपैयाँ छुट्याइएको उल्लेख छ । जुन कुल बजेटको ०.५ प्रतिशत मात्र हुन आउँछ ।

सो रकम बाहेक खेलकुदको क्षेत्रमा कुनै रकम तोकेर छुट्याइएको छैन । अझ निर्माण सम्पन्न भइसकेका रंगशाला र कभर्ड हलहरुको संरक्षण, सञ्चालन र व्यवस्थापन प्रदेश खेलकुद विकास परिषद् र स्थानीय तहलाई जिम्मा दिएको छ । प्रदेश खेलकुद विकास परिषद् र स्थानीय तहको सहकार्य र साझेदारीमा रंगशाला र कभर्ड हलहरुको संरक्षण, सञ्चालन र व्यवस्थापनको व्यवस्था मिलाइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै बुँदा नं. ७० खेलकुदको विकास र विस्तारका लागि खेलकुद पूर्वाधारहरुको निर्माण, संरक्षण र सञ्चालनका साथै खेलाडी, रेफ्रि र प्रशिक्षकको क्षमता विकास गर्ने कार्यक्रम सञ्चालनमा जोड दिइने उल्लेख गरिएको छ । तर यसका लागि कति बजेट छुट्याइएको भनेर कुनै उल्लेख गरिएको छैन । तसर्थ पनि आगामी दिनमा खेलकुदको क्षेत्रमा यी बाहेक अन्य निश्चित योजना नै छैन भन्दापनि फरक नपर्ला ।

अघिल्लो आ.व.मा भन्दा केही कम रकम र खेलकुदका योजनाहरु पर्याप्त रुपमा नखुलाइए पनि आगामी आ.व.मा खेलकुदमा छुट्याइएको बजेट प्रदेशको खेलकुद क्षेत्रको विकासमा पर्याप्त हुने बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । खेलकुदका निर्माणाधीन संरचनालाई पूर्ण गर्न रकम तोकिएको र आगामी योजनाका लागि बजेट नतोकिएको भएपनि खेलकुद क्षेत्रमा आवश्यक योजना अनुसार विनियोजन हुनसक्ने उहाँले बताउनुभयो ।

तोकिएको २९ करोड रुपैयाँसहित खेलकुदको विकासका लागि प्रदेश सरकारले कम्तिमा पनि ८० करोड रुपैयाँ बजेट प्रदान गर्नेमा आफू ढुक्क रहेको उहाँको भनाई रहेको छ । बुँदा नं. ७० का आधारमा प्रदेशले आवश्यक खेलकुदका विकासका लागि प्राप्त हुन आएका योजनाका आधारमा बजेट विनियोजन गरिने पनि उहाँले प्रष्ट पार्नुभयो ।

प्रदेशले खेलकुदको विकासका लागि आवश्यक पर्ने बजेट विनियोजन नगरेको भन्दै मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानुकुमार लामाले असन्तुष्टि व्यक्त गर्नुभयो । अहिलेको अवस्थामा खेलकुदको विकास अत्यावश्यक रहेको भन्दै प्रदेशले निकै कम बजेट राखेर खेलकुदको योजना ल्याउँदा खेलकुद क्षेत्रका पदाधिकारीहरुदेखि खेलाडीहरुसम्म सन्तुष्ट हुन नसक्ने उहाँले बताउनुभयो । कोरोनाको कारण युवाहरुमा कुलतदेखि मानसिक समस्या समेत देखिने भएकाले उनीहरुलाई स्वस्थ बनाउन तथा खेलकुद क्षेत्रमा सक्रिय खेलाडीहरुलाई समेत खेल क्षेत्रबाट बिस्थापित हुन नदिन खेलकुदको क्षेत्रमा थप नयाँ योजनाहरु ल्याउन पर्ने उहाँको भनाई रहेको थियो । जसका लागि हाल विनियोजन भएको बजेट निक्कै कम हुने उहाँले बताउनुभयो ।

हुन त हाल विश्वभर फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले उल्लेख्य बजेट छुट्याएको छ । स्वास्थ्यको क्षेत्रमा गत वर्षहरुमा भन्दा बढी बजेट छुट्याउनु परेको कारण पनि खेलकुद क्षेत्रको बजेटमा केही कमी आएको बताइएको छ । सदस्यसचिव भण्डारीको भनाई अनुसार खेलकुदका अन्य योजनाहरु विस्तारमा प्रष्ट पारेर कम्तिमा ८० करोड रुपैयाँ बजेट बिनियोजन भएपनि गत वर्षजस्तो खेलकुदमा सोचे अनुरुप पर्याप्त भने हुनेछैन ।