संक्रमण घटेको हो वा परीक्षण गर्ने दर मात्रै घटाइएको हो ? संख्या भन्दा पनि प्रतिशतमा मुल्यांकन गर्दा कोरोना संक्रमण कुनै पनि अवस्थामा कम भएको देखिँदैन । देशभर कोरोना पोजेटिभ हुनेको संख्या पछिल्ला दिनमा क्रमशः घट्दै आएको छ । यस अवस्थाई नियन्त्रण प्रभावकारी भएको भन्ने आत्मसन्तुष्टि लिने काम सरकारी पक्षले गरेको पाईन्छ । यसरी हेर्दा कतै आफ्नो सफलता देखाउनका लागि परीक्षण कम गराएको त हैन भन्ने आशंका बढेको छ । दैनिक ३० हजारसम्म परीक्षण गर्ने क्षमता भएका प्रयोगशालाहरुले पूर्ण काम गर्न पाएको अवस्था छैन । लक्षण देखिएर आएकाहरुको मात्र परीक्षण गर्दा संक्रमण अझै भयावह भइरहेको पनि हुन सक्छ । त्यसैले संक्रमितसँगको सम्पर्कका अधारमा पनि परीक्षण बढाउनु पर्दछ ।

मकवानपुरमा पनि कोरोना पुष्टि हुने भन्दा निको हुने कम हुँदै आएको छ । यो तथ्यांकका आधारमा मात्र कोरोना संक्रमणको अवस्था विश्लेषण हुन सक्दैन । किन परीक्षण कम भएको छ भन्ने पक्षमा खोजी हुन आवश्यक छ । गत बर्ष संक्रमितसँगको सम्पर्कमा रहेकाहरुको समेत परीक्षण हुने गरेको थियो । तर यो बर्ष कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम नै भएको छैन । परिवारको कुनै सदस्यलाई संक्रमण भए अन्य सदस्यहरु पनि संक्रमित हुन सक्ने खतरा हुन्छ । तर लक्षण छैन भन्दै वेपर्वाह हिँड्डुल गर्ने र अन्य मानिससँंग सम्पर्कमा पुग्ने गरेको देखिन्छ । यो अवस्था अन्त्य गर्न जिल्ला तहमा रहेका कोभिड नियन्त्रण सम्बन्धी निकाय र संस्थाहरुबाट ठोस योजना बनाईनु आवश्यक छ ।

निषेधाज्ञाका कारण मानिसहरु घरमै बसेको र संक्रमण कम हुँदै गएको आँकलन गरिँदै छ । संक्रमितहरुलाई सकेसम्म होम आईसोलेसनमा बस्नका लागि प्रोत्साहन पनि भएकै हो । तर होम हाईसोलेसनमा संक्रमितहरु नियमानुसार बसेको छ वा आफू संक्रमित भएको कुरा लुकाएर समुदायमा घुलमिल गरीरहेको छ भन्ने अनुगमन कहीँ कतैबाट भएको छैन । अझै पनि धेरै मानिसले कोभिडलाई सामान्य रुपमा लिँदै गर्दा अरुलाई सार्ने खतरा छ । संक्रमण भएकाहरुको निगरानी सरकारी पक्षबाट गर्नु अनिवार्य छ । परीक्षणमा आउनेको नतिजा दिनुले मात्र सरकारी जिम्मेवारी पुरा हुने छैन । महामारी नियन्त्रणका लागि नागरिक सहभागिता बढाउन राज्यकै निकायहरुको भूमिका प्रमुख हुनु पर्दछ ।

होम आईसोलेसनमा बसेकाको स्वास्थ्य अवस्था के छ भनेर कहीँ कतैबाट सोधी खोजी हुने गरेको छैन । केही ठालुहरुलाई कतैबाट सोधिएको भए मात्र नत्र सामान्य नागरिकको स्वास्थ्य स्थिति वडादेखि जिल्ला स्वास्थ्यसँग सम्बन्धित निकायबाट अनुगमन भएको छैन । सहज वा अप्ठेरो जे भएपनि व्यक्ति स्वयम्ले व्यवस्थापन गर्नु परिरहेको वास्तविकता हो । सामान्य असर भएकाहरु संक्रमण लुकाउनकै लागि ओल्लोघर पल्लोघर गर्दा अन्य मानिसलाई संक्रमित बनाइरहेको हुन्छ । सम्बन्धित निकायबाट अनुगमन भएमा अरुले पनि को संक्रमित हो भन्ने जानकारी पाउने र उ सँगको सम्पर्क कम गर्दा मात्र महामारी नियन्त्रण हुन सक्छ । यही तथ्यका आधारमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले अनुगमन गर्ने भएको छ । संक्रमित भएर पनि स्वास्थ्य मापदण्डा भित्र नबसेकाहरुलाई संस्थागत आइसोलेसनमा पठाउनेसम्मका निर्णयले महामारी नियन्त्रणमा ढिलै भए पनि सकारात्मक निर्णय मान्नु पर्दछ ।